समयले बहुत गल्लीहरू हिँडायो । बहुत चिजहरू देखायो र भोगायो । यहाँ कति म जस्ता अरूहरू होलान्, जसलाई समयले मलाई जस्तै धेरै चिज देखाएको र भोगाएको होला । सायद गन्तीमा नअटाउनेहरू होलान् । रत्नपार्कका पेटीमा गाडी पर्खेर बस्ने म जस्तै अरूलाई हेरेर सोच्ने गर्छु, कति धेरै सपना, रहर र बाध्यताहरू गाडी पर्खेर बसेका छन् । यिनीहरू पुग्ने छन्, फरक फरक डेरामा । तर सुस्ताउने छन् उस्तै उस्तै छटपटी, उस्तै उस्तै कारणहरूले । भृकुटीमण्डपमा रित्तिने चियाका कपहरू हेरेर सोच्छु, कतिपल्ट आफ्नै जिन्दगीलाई धिक्कारेर थुकेका होलान् यी कपसम्म आइपुगेका ओठहरूले ।
थाहा छैन, जिन्दगीको बारेमा सपना कहिलेबाट कोर्न थालियो, कहिलेबाट सोच्न थालियो केही गर्नुपर्छ भनेर ! लाग्छ, स्कुलका सुरुवाती दिनहरूदेखि नै सपनाहरू देख्न थालियो जिन्दगीका बारे । जम्मा दश वर्षको स्कुले जीवन र त्यसपछिको दुई वर्षको पढाइ, सपना, रहर र रमाइलो, यी कुराहरू त्यतिकै उमेरको लागि पो थिए कि ? सायद यही समयसम्म मात्र भविष्यबारे सोचेर अनुहार उज्यालो हुन्थ्यो होला ! आँखाहरू चम्किला हुन्थे होलान्, हातहरू विभिन्न अभिनय गर्थे होला । नत्र त कहिले पो सोचियो होला र ? अँध्यारो मुख लगाएर रसिला आँखा बनाएर हातले दिक्दारीमा डेराकाभित्ताहरूमा हिर्काइन्छ भनेर । ठाडो पार्छु भनेर सोचेको टाउकाहरू कोठाको भित्ताहरूमा आफैँलाई धिक्कारी रहेका हुनेछन् भनेर ।
निकै कम होलान्, जसलाई सोधिएको छ उसको भविष्यको बारेमा, उसको सोचाइको बारेमा, उसको सपना र रहरको बारेमा । अझ् कम मान्छे होलान् जसले आफूलाई चिनेर आफूले चाहेजस्तो बनेका छन् । बाँकी त यहाँ अन्यौलमा छन्, जसलाई केही थाहा छैन म के गर्नेछु, कता हिँड्नेछु, म को हुँ भनेर । म को हुँ भनेर आफूलाई चिन्नेहरू पनि एउटा खाडलमा फसेका छन् जुन खाडलमा अन्यौल र अँध्यारोभन्दा अरू केही छैन ।
“ठूलो बन्नुपर्छ राम्रो बन्नुपर्छ”, भनेर सिकाउनेहरूले कहिल्यै आफू बन्नुपर्छ भनेर भनिदिँदैनन् । न आफूलाई आउछ आफू बन्नुपर्छ भन्ने सोचाइ न वरिपरिको कुनै वातावरणले भनिदिन्छ कि, तिमी पहिले तिमी बन्नुपर्छ । सोचभन्दा भोक ठूलो बनेर खडा भइदिन्छ हाम्रो अगाडि । अनि हामी भौँतारिन्छौँ दिक्दारीका गल्लीहरूमा । काठमाडौँको खुलामन्चमा बसेर वरिपरि गुडिरहेका गाडी हेरेर आफूलाई तिनै गाडीहरू र वरिपरिको सडकलाई आफ्नो भाग्य मानेर टोलाइरहने म जस्तै अरू कति होलान् ! म सोचिरहन्छ ।
काठमाडौँमा हुने नोकरीबाट आउने तलब बोकेर डेरामा पुगेपछि फेसबुकमा विदेशमा बस्ने साथीले हालेको फोटो देखेपछि एक महिना पूरा खेर गएकको जस्तो लाग्छ । समयमा फस्ट भएँ भनेर स्कुलदेखि घरसम्म खुसीले दौडदै गएको खुसी व्थर्थ लाग्छ । न केही बाटो देखिन्छ, के केही न केही उपाय भेटिन्छ । कलेज जानका लागि भाडा नपुगेर कलेज नजाने, चिया खाइसकेपछि चियाको पैसा तिर्नेबेला लाज हुन्छ भनेर चियापसलमा साथीहरूसँग चियाको लागि नबस्नु, जागिरको लागि काठमाडौँको एउटा कुनाबाट अर्को कुनामा हिँडिराख्दा सडकमा गुड्ने हरेक गाडीले गिज्याइरहे झैँ लाग्छ ।
न हातमा केही हुन्छ न केही सोचाइ । तर भरिदिनेहरूले दिमागभरि ठूलो मान्छे बन्नुपर्छ भनेर यति विघ्न तरिकाले भरिदिएका हुन्छन, पैसाको जरुरतभन्दा अरू केही देख्दैन आँखा र मनले । यो सब हुनुमा हाम्रो परिवार, हाम्रो समाज, हाम्रो मुलुक हाम्रो सरकार सबै जिम्मेवार छन, सबैभन्दा जिम्मेवार हाम्रो गरिबी छ । जसका कारणले हाम्रो पुस्ताको ठूलो जमात फ्रसटेटेड छ । “तँ गर, तेरो पछाडि उभिदिने म छु”, मात्र भनिदिने हो भने यो जमातलाई ठूलो मोटिभेसन हुने थियो । कसले भनिदेला र बन्न पाइएला हामी आफू । तर सानै उमेरदेखि ठूलो मान्छे बन्नुपर्छ भनेर हुर्काइएका हामी उमेर ठूलो भएपछि डिप्रेसनसम्मको यात्रामा हिँडिरहेका हुन्छौँ । बिकल्पहरू केही भेटिदैनन् ।
हरेक दिन आँखामा खेल्ने आमाको फिक्का अनुहार, दिनको उज्यालोले नपुगेर रातमा मधुरो टर्चको साहारामा गोठ , खेत, उकालो, ओरालो गर्ने बा उमेर पुगेका र आफैँजस्ता रहर पालेका भाइबहिनीको टिठलाग्दा अनुहार, यी सबै कुराको बिकल्प एउटै निस्कन्छ । घरमा सन्दुकमा राखिएको रिण लगिएको मिति, रकम र दिनेहरूको नामले भरिएको पुरानो डायरीको छेउमा रहेको लालपुर्जा बोकेर निस्कनु ।
पहिला कन्सल्टेन्सी छिरिन्छ, कन्सल्टेन्सीको रेटको आयतन लालपुर्जाको रेटको आयतन अगाडि भारी भइदिन्छ । त्यसपछि पत्रिकामा खाडीमा काम गर्ने सुनौलो अवसर लेखिएको विज्ञापन हेर्न थालिन्छ । रोजगार दिने कम्पनी नभए बिचौलियासम्म आइपुगिदो रहेछ। देश छाड्ने बेला केही थोपा आँशु सम्झनाहरूमा नरमाइलोहरूमा खस्छन् । केही थोपा आँशु स्कुल पढ्ने दिनमा देखिएका सपनालाई तिलान्जलीका रूपमा खस्छन् । बादलभित्र विमान पस्छ, अँध्यारोभित्र अन्यौलभित्र जीवन र जवानी पस्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।