२०७५ चैत २६ गते मंगलबार, पूर्णिमाको रात | चारै दिशा उज्यालो छरिएको थियो | जुनले वा भनौं बाहिरी संसार सर्वत्र उज्यालो थियो अनि अन्धकार मन । नयाँ वर्षको लहर छाउँदै थियो वा फेरि नयाँ घाउ कोरिदै थियो, यो निर्णय समयको | पुराना स्मृति ताजा गर्दै थिइन् श्वेता ।
चारजनाको परिवार, बुवा-आमा अनि श्वेता र सफल । पुलिसमा जागिरे थिए श्वेताका बुवा नकुल अनि साहेबकी मिसेस थिइन् अप्सरा । पुलिसको जागिर नगरे तापनि पुलिस अफिसर भएकी थिइन् अप्सरा । भर्खरै एस.पी.बाट एस.एस.पीमा बढुवा भएका थिए नकुल । अझैँ चर्को सलाम ठोकिदै थियो उनको आदर र सम्मानमा ।
प्रहरी निरीक्षक भएको १८ वर्षमा महोत्तरीको पोस्टिङ्बाट फर्किदा उनले आफूसगैँ पाँच वर्षको बालक सफललाई लिएर घर आएका थिए । दुब्लो शरीर,थोत्रा लुगा अनि भोकको पीडाले तड्पिएको अनुहारलाई हातमा समाएर घरको ढोका ढक्ढकाए उनले ।त्यस क्षणदेखि त्यो घर नै सफलको भयो, अनि सफल नै त्यो घरको ।
सफलले प्रवेश गरेको एक वर्षमै पुन: एक तह बढुवा भयो नकुलको । साँच्चिनै सफल बन्यो सफलको प्रवेश । त्यो वर्षबाट अप्सराका दुई सन्तान थिए, श्वेताको मन रुदैनथ्यो तिहारमा, नकुलको जिम्मेवारी बढ्दै थियो अनि एक्लो थिएन सफल । हँसिलो, फूर्तिलो अनि बढ्दै गरेको सफललाई देखेर अतीत सम्झिए नकुलले । उसको विगत र वर्तमान तुलनायोग्य नै थिएन । जमिन-आकाशको फरक पाए उनले।
“बधाई छ, बाबा”भन्दै श्वेता र सफलले कागजमा बेरेर केही चिज उनलाई थमाइदिए,बाबुको बढुवाको खुशीमा । तुरुन्तै खोले नकुलले र्याप गरेको गिफ्ट । नयाँ टाई रहेछ । “भोलि लगाउँछु ल”, खुशी बनाइदिए उनले छोराछोरीको मन । भोलिपल्ट बिहानै टाई लगाएको देखाउन उनी सफल र श्वेताको कोठामा छिरे । यही पलको प्रतिक्षा रहेको भाव दर्शाइरहेको थियो त्यो उत्सुक अनुहार। “राम्रो देखियो नि है !” छोराछोरीको मन बुझेझैँ गरी सोधे नकुलले ।
श्वेताले भर्खरै एस.एल.सी. परिक्षा उतिर्ण गरेकी थिइन् । उता सफलको भने स्कूले अनुभव सकिन अझैँ चार खुड्किला बाँकी थिए ।
पहिलो दिन थियो आज कलेज छान्ने, श्वेताको । विज्ञान विषयमा उच्च शिक्षा आर्जन गर्ने मनाशयले चलेको कलेजमा सिधै गइन् उनी । कलेज बुझ्नेभन्दा पनि रोजिसकेको कलेज छिर्ने काम गरिन् उनले । महँगो शुल्क, दुई-तीन जोर ड्रेस, एक जोर जुत्ता, पढ्ने किताब अनि लेख्ने कापी सबै-सबैको व्यवस्था भयो उनलाई । दिदिलाई कलेजको ड्रेसमा देख्दा औंला गन्यो फेरि सफलले । अझैँ चार वर्ष बाँकी ।
तीन महिना हुनै लागेको थियो, श्वेता कलेज पढन् थालेको । ४:३० भएको रहेछ समय । श्वेतालाई आज घर चाडैं पुग्नु थियो । भाइ सफललाई मध्यरातमा दिने सरप्राइजको तयारी गर्न । उनी बाटोको गिफ्ट पसलमा छिरिन् । केही भेटिनन् उनले भाइलाई मनपर्ने र आफूलाई दिन मन लागेको कुरा । अन्तिममा आफ्नो खल्तीले भ्याउने चकलेट किनिदिइन् बर्थडे ब्याइलाई । उसको ‘अल टाइम फेबरेट’।
बिहान ढिला आँखा खुलेछ श्वेताको । आठ बजिसकेछ । सफललाई सरप्राइज दिने चक्करमा उनलाई भोलि पनि कलेज जानुपर्ने कुराको ज्ञात नै भएनछ । अनेकौं बहानाबाजी गरेर बल्ल-बल्ल जोगिइन् उनी ढिलो आएकोमा प्राध्यापकको क्रोध मिश्रित उपदेश सुन्नबाट ।
समयको चक्रव्युह निरन्तर चल्दै थियो अनि नकुल, अप्सरा, सफल र श्वेताको दैनिकी पनि । भर्खरै मात्र श्वेताले ११ कक्षाको बोर्ड परिक्षा दिएकी थिइन् ।१०-१५ दिन बिदा थियो उनलाई । उनी बाबासगँ कतै जाने प्लान बनाउदै थिइन्, सफललाई लोभ्याउन । तर अचानक नकुल अफिसको काममा जानुपरेकोले जिस्काउने मौका सफलले पायो ।
एक हप्ता बितिसकेको थियो नकुल अफिसको जिम्मेवारी लिएर कर्मक्षेत्रमा लागेको । उनको घरमा कुनै खबर आएन । पहिले त खासै अत्तालिएन उनीहरूको मन । किनभने नकुल काममा जाँदा फोन प्राय: अफ नै गर्थें । तर आज ४-५ दिनको अवधि ६-७ दिनमा परिणत भएको थियो । बिस्तारै सचेत भए नकुलको परिवारका आँखा । अप्सराले तुरुन्तै हवलदार रामलाई फोन लगाइन् । रामसमेत २-३ दिनबाट आफ्नो हाकिमको सम्पर्कमा नरहेको जानकारी दियो । अलिअलि चिन्तित मन चिन्ताको लोकमै डुब्यो । श्वेता र सफलले आफ्नी आमालाई आड भरोसा दिए । उनीहरूले भोलि बिहान बाबाको अफिसमा गएर बुझ्नु नै उत्तम ठाने।
निकैबेरको पर्खाइ पछि बल्ल घाम झुल्केको भान भयो आज उनीहरूलाई | एकाबिहानै नकुलको कार्यकक्षमा पुगे उनीहरू । कतैबाट केही खबर मिलेन । श्वेताले बाबुको कार्यलयसँगै काम गर्ने प्रहरी निरीक्षक रमेशलाई यथार्थ बताइन् । निकै साहनुभूति देखाएर रमेशले २-३ वटा नम्बर हाने अनि मिसिङ रिपोर्ट लेखे ।
इमान्दार अफिसरको रूपमा परिचित नकुल ड्रग एन्ड स्मगलिङको केसमा थप जानकारी हासिलका लागि कोहोलपुर गएका थिए । आफ्नो चालक हवलदार रामलाई लिएर । तर बाटोमा राम बिरामी परेकाले उसलाई स्वास्थ उपचारको सल्लाह दिएर आराम गर्न लगाई नकुल एक्लै जाँचबुझका लागि गएका रहेछन् । इन्स्पेक्टर रमेशले पनि उनीहरूलाई अवगत भैसकेको भन्दा बढी जानकारी दिन सकेनन् । आशाले भरिएका ती नयन पुन: निराशामा बदलिए।
आफ्नो पिताको खोजतलासमा ती अबोध बालबालिका कता-कता पुगेनन्; कतिलाई मात्र गुहारेनन् ती कट्कटिएका ओठले; ती आँखाले कति अश्रुधारा बगाए-बगाए नापो नै थिएन;कति फिजारिए ती हातहरू गन्ती नै भएन । बिस्तारै-बिस्तारै चिन्ताभन्दा पनि धेरै आक्रोश व्यक्त हुँदै थियो उनीहरूको भावमा ।
“कसरी प्रहरी निकायले आफ्नै कर्मचारीलाई पनि खोज्न असफल रह्यो ?”
“किन आफ्नो सन्तानप्रति पनि न्याय दिन सकेन त्यो प्रशासनले?”
“कहाँ हात चुके लाठी उठाउन ?”
नकुलको उपस्थिति त परैको कुरा उनीहरूको सदस्य ठिक छ वा छैन भन्नेबारे समेत सूचना पाएका थिएनन् । कतिले खोजेझैँ नाटक गरे कतिले खोजीमा इमानदारीता देखाए; कतिले मौनता रुचाए, कतिले सहानुभूति जनाए । तर यी सबै प्रयास प्रयासमै सिमित रहे । न सत्य ल्याउन सके उनीहरूले न त नकुललाई नै।
राष्ट्रको सम्मानित पेशाका सम्मानित पोस्टको कर्मचारीका बारेमा अलिकति कोमलता अनि धेरै कठोरता मिसिएको खोज थियो त्यो । अत्तो र पत्तो नदिई अचानक बिलाए उनी ।
दिनहुँ केही सत्य मिसिएका, केही तथ्य छुट्टीएका, केही मनगठन्ते, केही गाली मिसिएका हल्ला पर्थे उनीहरूको कानमा । नसुनौ भने पनि जबरजस्ती कानको जाली फुटाउने गरेर छिर्थे ती कथाहरू । तर सत्य कहिले परेनन् ती कानमा । सुन्छु भन्दा पनि सुनाइएनन् सत्य । कहीँ इमन्दारिको फल ज्यान गुमाउनुपरेको; कहीँ स्मग्लरहरूले बेपत्ता पारेको; कहीँ नकुललाइ मार्ने जाल सफल भएको त कहीँ पुर्वजन्मको फल । तर धेरै कथा र शंका नकुलको पेशाप्रतिको इमानदारीतालाई लिएर गरिने गरिन्थ्यो ।यही कारण बनेको थियो अप्सरा, श्वेता र सफलको चित्त बुजाउने बाटो, मन थाम्नै कठिन।
बुबाको प्रतीक्षामा श्वेताले १२ कक्षा पास गरिसकेकी थिइन् । सफलले डि.एल.इ. उतिर्ण गरेका थिए । अप्सराले फोटो हेरेर दिन बिताउन थालेको पनि एक वर्ष बितिसकेछ । अनि अन्यायमा मिसिएको नाम “नकुल” अझैँ बेखबर थियो । न स्मगलर पक्डिए, न नकुल भेटिए, न तथ्य र सत्य खोलियो । कहिल्यै सल्भ नहुने फाइलमै सिमित रह्यो यो घटना ।
“कसरी कसैको लापत्तामा यत्तिका समय बित्दा पनि न आश भेटिन्छ न लास भेटिन्छ ?”, बारम्बार यी जवाफहिन नकारिएका प्रश्न गुन्जिन्थे अप्सरा, सफल र श्वेताको आहटमा ।
यस्तो अपत्यारिलो र आश्चर्यजनक घटनाले भोग्ने मात्र होइन सुन्नेहरूको पनि घात परेको थियो मनमा । सबभन्दा घात त श्वेताको मनमा पुगेको थियो । अप्सराले नकुलले न्याय पाउने आश छोडेकी थिइनन् । सफल प्रहरी बनेर बाबुको खोज गर्न चाहन्थे; कमी पूरा गर्न चाहन्थे । श्वेता मानसिक,शारीरिक रूपमा कमजोर थिइन्, सँगसँगै उनको मनमा घृणा भरिदै थियो । कसो-कसो अप्सरा र सफलले आफूलाइ अलिकति भए पनि सम्हाल्न जानेका थिए । तर श्वेताले त्योदिन कहिल्यै भुल्न सकिनन्; बर्दीमा सलाम ठोक्दै गरेका बाबुलाई सधैभरी आफ्नै आँखा अगाडि राखिन् । उनी आफैंलाई अवगत थिएन कि यो घटनाले उनलाई कतातिर मोड्दै छ, जब परिवारले थाहा पाए धेरै ढिला भैसकेको रहेछ ।
श्वेताका आँखा “इमानदारीता”प्रति सदैव आक्रोशित रहन्थे । हुँदा- हुँदा उनलाई प्रहरीप्रति नै रिस उठ्न थालेको थियो । बाटोमा बर्दिमा कोही प्रहरी देखे पनि बावु सम्झन्थिन उनले, प्रहरी इस्टेसन देख्दा गुहार र मागिएका भिख सम्झन्थिन् उनले । “प्रहरी “शब्दबाटै टाढा भाग्थिन् उनी । दया जाग्थ्यो उनको मनमा जब साना कलिला हत्केलाले प्रहरी पेशामा सम्लग्न बाबुलाई समाउथे । डर पलाउथ्यो उनको मनमा फेरि कुनै पत्नीको सिन्दुरमाथि अन्याय हुन्छ कि भनेर | छोराछोरीले बाबुको आभास बिर्सिन्छन् कि भनेर ।
“के यति धेरै समय बर्दीप्रति गरेको बफादारी ,इमान्दारी र समर्पण लायक थिएन बर्दीको मलिक खोज्न निम्ति ?”
“के इमान्दारिताको किमत ज्यान हो ? के पाप हो देशलाई माया गर्नु ?”
“के ‘न्याय’मात्र शब्द हो ?”
जतिपटक आफ्नो बाबुको बर्दी हेर्थिन् उतिपटक यी प्रश्न जाग्थ्यो श्वेताको हृदयमा ।
कसरी भुलुन् उनी आजको दिन । प्रत्येक पल, प्रत्येक क्षण मस्तिष्कमा छाइरहन्थे “नकुल”। जिवनमा यतिका अनुहार देख्दा पनि त्यो अनुहार कहिल्यै भुल्न सकिनन् उनले; अन्तिम स्वाससम्म बाबुको न्यायका लागि तड्पिने छन् ती साथ छुटेका हत्केला अनि बगिरहने छ न्यायका लागि खोली !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।