ललितपुरको हात्तीवनस्थित माङखिममा कोइँच स्याँदर लोकनाटक प्रदर्शन (२०१६इ.) अनुसन्धान/ तस्बिर : प्रवीण पुमा

थालनी : 

कोइँच नेपालका आदिवासी हुन् । कोइँचलाई सुनुवार, सुनवार, सुन्वार, मुखिया पनि भनिन्छ । नेपाल सरकारले पनि कोइँचलाई सुनुवार नै भनेको छ (नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ को अनुसूची १) । तर कोइँचहरूले आफूलाई कोइँच नै भन्छन् । कोइँचहरूको जनसङ्ख्या ५५, ७१२ रहेको छ (तथ्याङ्क विभाग-२०६८) । कोइँच किरातको एक शाखा हो । उनीहरूका मुख्य बसोबास क्षेत्र वल्लो किरात हो । वल्लो किरात भनेको काठमाडौँ पूर्व र दुधकोशीसम्म भूभाग हो ।

यस भूभागमा रोल्वालिङ हिमश्रृङ्खलबाट दक्षिण-पूर्व भएर बग्ने लिखु, तामाकोसी, सुनकोसी, खिम्ती, मोलोङ नदी वरिपरिको भूभाग सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा आदि पर्दछ (सुनुवार, कार्यपत्र-२०७४) । तर बसाइसराइपछि कोइँचहरू नेपाल बाहेक विश्वभरि छरिएर रहेका छन् ।  कोइँचहरूको आफ्नै धर्म, भाषा, संस्कार, संस्कृति, दर्शन, कला, साहित्य, परम्परागत, जीवनपद्धति आदि छ । कोइँचहरूको प्रकृति पुर्खा पूजक हुन् । यिनीहरूको सामीप्य पनि प्रकृतिसँग नै छ । कोइँचहरूको परम्परागत धर्म किरात हो । सोही धर्म अनुसार धार्मिक अनुष्ठानहरू गर्छन् । ती अनुष्ठानहरूमा नाटक पाइन्छ ।

यस अनुसन्धानमा कोइँच लोक नाटकहरूको बारेमा चर्चा गरिने छ ।

००००

कोइँच नाटक :

कोइँच जीवन परिवेशका नाटकहरू नै कोइँच नाटक हो । यसले कोइँच जीवनको प्रतिनिधित्व गरेको हुन्छ । कोइँच नाटकहरू श्रव्य वा दृश्य, वा श्रव्य-दृश्य दुवै प्रकारका हुन्छन् । यस्ता नाटकहरू मौखिक वा लिखित वा दुवै प्रकारका प्रदर्शनात्मक रूपमा हुन्छन् । यसमा कुनै पनि भाषा हुन्छन् । तर यसमा कोइँचवाद हुनुपर्छ । यो कोइँच नाट्यकलाको सौन्दर्य पनि हो । मुन्दुमअनुसार कोइँच नाटकको उत्पत्ति सृष्टिकलामा नै भएको हो (हेनू, मुक्दुम प्रदर्शनहरू) ।

त्यस्ता नाटकहरू सृष्टि कालदेखि वर्तमानसम्म प्रदर्शन गरिँदै आइएको छ । तर यसलाई विधि-विधानअनुसार समाजले परिमार्जन पनि गरेका हुन्छन् । कोइँच नाटकहरू धेरै छन् । त्यस मध्येका सापुरोलो, खामे उम्चा, ग्याँबे ताँगे, जाइलामे, बुल्नु थाःचा, फोल्श्याँदर, कास, चिकुम, दोविनी, सरोदोविनी, रम्वा दोःतेक, सुरो चोअतेक, जसी व्लुकम, हाहा हासल हासल, दुमो हेःतेक, सिदार, पिदार, किल्लो, चुरमु, दुमा, बुल्फे, सलकु, लाँःकादुले, आमदु आदि प्रमुख हुन् । यसमा माङहरूका अभिनय गरिएका हुन्छन् । ती नाटकहरूको प्रारम्भ, मध्यान्न र अन्त्य धार्मिक विधि-विधानअनुसार नै प्रदर्शन गरिन्छ । तर यस कार्यपत्रमा कोइँच मुन्दुमलाई मुख्य आधार लिइएको छ ।

१. सापुरोलो :

सापुरोलो कोइँचको पहिलो जीवन संस्कार हो । यसको उत्पत्ति सापु र रोलो शब्द मिलेर भएको हो । सापुको अर्थ नाइटो हुन्छ  भने र रोलो अर्थ खस्नु हो (सुनुवार, कार्यपत्र-२०७४) ।  यसको वास्तविक अर्थ नाइटो खस्नु हो । सापुरोलो कोइँचको जन्म संस्कार हो । यस संस्कार बच्चा जन्मेको तेस्रो दिन गरिन्छ । यस संस्कारमा बच्चाको सातो बोलाइन्छ । बच्चाको लागि दीर्घायुको कामना गरिन्छ । जीवात्माको आशीर्वाद मागिन्छ । नकारात्मक आत्मालाई हटाइन्छ । खेदिन्छ । मारिन्छ । बच्चामा नाङ्लो ठटाइन्छ । यस कार्यपछि बच्चाको नाम राखिन्छ । यस संस्कारमा अभिनय गरिन्छ । त्यो अभिनय घरको मुली माहिलाले गरेको हुन्छ । यसमा नाट्य घटनाहरू हुन्छन् । नाट्य घटनाहरूमै यस संस्कारको सम्पन्न गरिन्छ । अतः, यस नाटकको उत्पत्ति कोइँचको संस्कार उत्पत्तिसँगै भएको मानिन्छ ।

२. खामेउम्चा :

खामेउम्चा कोइँचको दोस्रो जीवन संस्कार हो । यो खाना खुवाइ संस्कार हो । बच्चा ५-६ महिना पुगेपछि यो संस्कार गरिन्छ । यस संस्कारमा नगरुञ्जेल बच्चालाई पिठ्यूँमा बोकिँदैन । बोकेमा अशुभ हुन्छ । यो संस्कारपछि कोइँचहरूको पुर्ख्यौली थलो घुमाइन्छ । यो कार्य अभिनयमार्फत गरिन्छ । त्यस अभिनय बजुबाजेले गरिन्छ । यसमा बाटोमा वाधा अड्चनको सामना गर्न, बिसाउने, खोला तर्ने आदि अभिनय गरिन्छ । यसमा नाट्य घटनाहरू हुन्छन् । नाट्य घटनाहरूमै यस संस्कारको सम्पन्न गरिन्छ । यस कार्यमा कोइँचको सांस्कारिक नाट्य घटनाहरू प्रदर्शन गरिन्छ । यस नाटकको उत्पत्ति कोइँचको संस्कार उत्पत्तिसँगै भएको मानिन्छ ।

३. ग्याँबे ताँगे :

ग्याँबे ताँगे भनेको बाैवाहिक नाटक हो । यसमा बौवाहिक नाट्य घटनाहरू हुन्छन् । यसको प्रदर्शन  विवाह बेलुका बेहुलाको घरमा गरिन्छ । यसमा केटी हेर्न जाने, केटी माग्ने, रीतभात बुझाउने, विवाह गर्ने, सम्झी ढोग गर्ने अभिनय गरिन्छ । यसको लागि छुट्टै कलाकारहरूलाई निम्तो दिइन्छ । निम्तो पाएपछि कलाकारहरूले विवाह घरमा आएर बेलुका विधि पुराएर ग्याँबे ताँगेको प्रदर्शन गर्छन् । यसमा विवाह संस्कारको अभिनय गरिन्छ । यस नाटकको उत्पत्ति कोइँचको संस्कार उत्पत्तिसँगै भएको मानिन्छ ।

४. जाइलामे :

जाइलामे भनेको ग्याँबे ताँगे जस्तै बौवाहिक नाटक हो । यसमा सासुबुहारीको झगडाको नाट्य घटनाहरू नै हुन्छन् । तर यसको प्रदर्शन  विवाहको  बिहान बेहुलीको घरमा गरिन्छ । यसमा सासुबुहारीका अभिनय गरिन्छ । यसमा संवादको धेरै प्रयोग गरिन्छ । यसमा जाइलामे बुहारी हो । उनीले सासूसँग झगडा गर्छिन् । यसलाई अभिनयमा प्रस्तुत गरिन्छ ।

५. बुल्नु थाःचा : 

बुल्नु थाःचा भनेको मृतातमक नाटक हो । यसमा मृतात्माको नाट्य घटनाहरू हुन्छन् । यसको प्रदर्शन विधि पुराएर गरिन्छ । यसमा मृतात्मालाई ४५ दिनको लागि दुङ्दुङ् पुअ्खिमा घुम्न पठाइन्छ । यसको लागि ४५ दिनसम्म पुग्ने खाना दिइन्छ  । यसमा खेल्ने, खाने, मह काढ्ने, सिकार खेल्ने, बाली लगाउने, खेती गर्ने आदि सबै व्यवस्था गरिन्छ । यस कार्यमा पुरै अभिनयमा गरिन्छ । यस अभिनय ढ्याङ्ग्रो झेम्टाको तालमा गरिन्छ । यसमा मृतात्माको अभिनय गरिन्छ । यस नाटकको उत्पत्ति कोइँचको संस्कार उत्पत्तिसँगै भएको मानिन्छ ।

६. शाँदार लोकनाटक : 

शाँदार भनेको पुर्खाको सम्झनामा गरिने नाटक हो । शाँदार धार्मिक नाटक हो । यसमा पुर्खाको नाट्य घटनाहरू हुन्छन् । यसको प्रदर्शन धार्मिक विधिमा गरिन्छ । यसमा सबै लिङ्ग र उमेरका मानिसहरूको सहभागिता रहन्छ । यसको दर्शक र प्रदर्शक एउटै हुन्छ । इच्छाको आधारमा मानिसहरू घरी प्रदर्शक हुन्छन्, घरी दर्शक हुन्छन् । यसलाई उभौली र उधौलीमा प्रदर्शन गरिन्छ । यस नाटकको उत्पत्ति सृष्टिकलामा भएको मानिन्छ ।

यसमा प्रकृतिको पूजा गरिन्छ । पुर्खाको सम्मान गरिन्छ । यसमा अभिनय, नृत्य, सङ्गीत, गीतको सम्मिश्रण हुन्छ । यसमा लयात्मक ताल हुन्छ । सोही तालमा यसको प्रदर्शन गरिन्छ । यसको प्रदर्शनमा ३६५ भन्दा धेरै प्रकारले अभिनय गरिन्छ । यसलाई सिल पनि भनिन्छ । यस नाटकमा हाँ हाँ हासाल हाँसाल, सलाक, जासी ब्लुकुम ब्लुकुम, काइशी सिल, किल्लो सिल, बुर सिल, पिदार सिल, दोतेक सिल, लाँकादुले आमदुले ग्लुम्तेक सिल, सुरो चोअ़तेक सिल, चुर्मु सिल, चिँकुम सिल, रोकानासि सिल, सुर्बु सिल, कुँकुँबुलु सिल प्रदर्शन गरिन्छ ।

७. कालिपिपि लोकनाटक  :

कालिपिपि भनेको अदृश्य माङ हो । यसलाई महिला पुर्खा पनि भनिन्छ । कालिपिपि शक्तिशाली हुनुहुन्छ । उहाँमा सर्व शक्ति भएको मानिन्छ । उहाँलाई सबै जीव प्राणीको संरक्षक मानिन्छ । उहाँको पूजा गरिन्छ । उहाँबाट शक्ति मागिन्छ । आर्सीवाद मागिन्छ । उहाँलाई खुसी पारिन्छ । खुसी बनाउनको लागि कालिपिपि प्रदर्शन गरिन्छ । यसमा ढ्याङ्ग्रो र झ्याम्टा बजाइन्छ । यसले सङ्गीतको सिर्जना गरेको हुन्छ । यसलाई पोइँब ग्याँमीले प्रदर्शन गर्छ । यसमा बच्चालाई फकाउने सुताउने, कपाल कोर्ने, सिँगारपटार गर्ने, कपडा लगाउने आदिको लोकनाटक सहित अभिनय गरिन्छ । यस नाटकको उत्पत्ति सृष्टिकलामा भएको मानिन्छ ।

८. बास्तिहोपो लोकनाटक  :

बास्तिहोपो पुर्खा हो । बास्तिहोपोलाई बासुहोपो पनि भनिन्छ । आदिकालमा बासुहोपो कोइचवानको राजा थिए । उनी मनकारी थियो । बास्तिहोपोले जन्तालाई सुखसुविधामा राखेका थिए । मृत्युपछि बास्तिहोपोको माङ भयो । बास्तिहोपोको पूजा गरियो । पूजामा बासुहोपोको लोकनाटक दै अभिनय गरियो । अहिले पनि गरिन्छ । बास्तिहोपोलाई अत्यन्तै मनकारी माङ मानिन्छ । बास्तिहोपो चाँडै खुसी हुने माङ हो । यसमा बास्तिहोपोलाई खुसी बनाइन्छ । बास्तिहोपोबाट आशीर्वाद मागिन्छ । बास्तिहोपोले सबैको रक्षा गर्ने विश्वास गरिन्छ । त्यसैको लागि बास्तिहोपोको प्रदर्शन गरिन्छ । यसलाई पोइँबोग्याँमिले प्रदर्शन गर्छ ।

९. मेसेल्मी लोकनाटक :

मेसेल्मी भनेको माङमा नाटक हो । यसलाई बजु पनि भनिन्छ । यसलाई याँमीहरूले प्रदर्शन गर्छन् । यसमा बीउ छर्ने, सोली बोक्ने, धागो कातेको, तान बुनेको अभिनय गरिन्छ । यसलाई खालो गाउँदै प्रदर्शन गरिन्छ । यस नाटकको उत्पत्ति कोइँचको संस्कार उत्पत्तिसँगै भएको मानिन्छ ।

१०. नादोरि लोकनाटक  :

नादोरि भनेको रातको नाटक हो । यसमा मानव जीवनको नाट्यघटनाहरू हुन्छन् । यसलाई विवाहको रात बेहुलाको घरमा प्रदर्शन गरिन्छ । यसमा रमाइलो गरिन्छ । ख्यालठट्ट गरिन्छ । यसको प्रदर्शन गोलोकारमा गरिन्छ । यसको प्रदर्शनमा घुमीघुमी थालो गरिन्छ । यसमा गीत, सङ्गीत, नृत्य र अभिनय हुन्छ । यसमा गीत गाइन्छ । यसको प्रत्येक गीतलाई बीस पलट दोहोराइन्छ । यसले मानवीय जीवनचक्रको सूचना दिन्छ ।

११. क्लिक्लिति लोकनाटक :

क्लिक्लिति लोकनाटक टुङ्ना लोकनाटक  हो । यसमा टुङ्ना बजाउँदै नाचिन्छ, गाइन्छ । जुवारी खेलिन्छ । टुङ्ना बजाइन्छ । लाटाको अभिनय गरिन्छ । लाटाकै मनोकुण्ठ पोखिन्छ । यसलाई गोलोमा भएर प्रदर्शन गरिन्छ । त्यो गोलोमा आवश्यकताको अनुसार घुमिघुमी अभिनय गरिन्छ । यो लोकनाटक वल्लो किरातमा प्रदर्शन गरिन्छ ।

१२. राम्दले लोकनाटक :

राम्दाले भनेको मादलु लोकनाटक हो । यसलाई नाक्दाले पनि भनिन्छ । यस नाटकको प्रदर्शन मादलको तालमा गरिन्छ । यसमा गोलो आकार हुन्छ । त्यो गलकारमा घुमिघुमी प्रदर्शन गरिन्छ । यसको प्रदर्शन चाड पर्वहरूमा गरिन्छ । यसमा सबै जाति, लिङ्ग, समूह र समुदायको सहभागिता रहेको हुन्छ । यसमा महिलाले मादल बजाउँछ । परुषले नाच्छ । यिनीहरू समूहमा हुन्छन् । दुवैले सुरीले भाकामा गीत गाउँछन् । सहभागी सबैले रमाइलो गर्छन् । यो राम्दले लोकनाटक वाम्वुले र मगर समुदायमा पनि पाइन्छ । यसको प्रस्तुतिमा समानता पाइन्छ ।

कास सिल लोकनाटक प्रदर्शन गर्दै कोइँचहरू

१३. शुदुक लोकनाटक : 

शुदुक लोकनाटक भनेको हलुका चालको लोकनाटक हो । यसमा हलुका तालमा पाइला सारेर प्रदर्शन गरिन्छ । यसमा आवश्यकताको आधारमा अगाडिपछाडि वा दायाँबायाँ पाइला सारिन्छ । यसको प्रदर्शन संस्कारिक कार्य तथा चाड पर्वहरूमा गरिन्छ । यसमा सामूहिक मुरली बजाइन्छ । त्यो मुरली मालिङ्गोबाट बनेको हुन्छ । यसमा जुवारी खेलिन्छ । नाचिन्छ । अभिनय गरिन्छ । यसलाई गोलो भएर प्रदर्शन गरिन्छ । यो प्रदर्शन सामूहिक हुन्छ । यसमा खुट्टा र हातलाई एकै प्रकारले अगाडि पछाडि चालिन्छ । यसले भरपुर मनोरञ्जन पनि दिन्छ । यसको प्रमुख प्रदर्शन क्षेत्र वल्लोकिरात हो ।

१४. क्योङमाचिङ लोकनाटक :

क्योङमाचिङ बिनायो लोकनाटक हो । यसलाई मायाको प्रतीक मानिन्छ । यसमा युवायुवतीहरूले बिनायो साटासाट गर्छन् । बिनायो साटासाटपछि जोडी बाँधेर क्योङमाचिङ प्रदर्शन गर्छन् । यसमा माया साटासाट गर्छन् । यसमा विभिन्न जोडी पंक्षीहरूको अभिनय गर्छन् । डाँफे जस्तै नाच्छन् । परेवा जस्तै हिँड्छन् । यसमा सामसहिकता हुन्छ । यसको प्रदर्शन विभिन्न चाडपर्वहरूमा गरिन्छ । यसको प्रदर्शन युवायुवतीहरूले गर्दछन् । यसले भरपुर मनोरञ्जन पनि दिन्छ । यसको उत्पत्ति स्थल कोइँचवानलाई मानिन्छ ।

१५. पोइँबो लोकनाटक :

पोइँबो भनेको पुर्खा पुजारी हो । यसलाई बोन पनि भनिन्छ । यसको परम्पराको आदिमकालमा नै भएको मानिन्छ । यसलाई पोइँबाले प्रदर्शन गरेको हुन्छ । यसमा ढ्याङ्ग्रो बजाइन्छ । यसमा माङको अभिनय गरिन्छ । सुसेलिन्छ । नाचिन्छ । गाइन्छ । अभिनय गरिन्छ । प्रदर्शन गरिन्छ । यसमा पोइँबोको उत्पत्ति, परम्परा, विकाश र महत्वको बोरमा वर्णन गरिएकाे हुन्छ ।

१६. सलाक लोकनाटक : 

सलाक भनेको सासी मुक्दुम हो । यसमा लय हुन्छ । ताल हुन्छ । त्यो लयमा यसको प्रदर्शन गरिन्छ । पोइँबोले प्रदर्शन गरेको हुन्छ । यसमा ढोलझ्याम्टा बजाइन्छ । त्यो ढोलझ्याम्टाको नाचिन्छ । अभिनय गरिन्छ । गाइन्छ । यसमा कोइँच उत्पत्तिको बारेमा कथा भनिन्छ । मृत्युको मुखबाट बच्ने उपाय गरिन्छ । सह भित्राउने उपाय गरिन्छ । रोगव्याधी हटाउने उपाय गरिन्छ । असल कामना गरिन्छ । यसको प्रदर्शन सुरु गरेपछि अन्त्य भएपछि मात्रै बिसाइन्छ । बिचमा बिसाउनु हुँदैन । सलाक सांस्कारिक लोकनाटक हो । यसको निश्चित विधि विधान हुन्छ । मुन्दुम अनुसार बिसाएमा अनिष्ठ हुन्छ । यसको उत्पत्ति कोइँचको उत्पतिसंगै भएको मानिन्छ ।

१७. खालो लोकनाटक :

खालो सोधनी लोकनाटक हो । यसमा सोधपुध गरिन्छ । सोधनीको लागि बोलाइन्छ  । आमन्त्रण गरिन्छ । यसमा माङहरूलाई बोलाइन्छ  । बोलाएर सोधनी गरिन्छ । यो मुन्दुमी लोकनाटक हो । मुन्दुमी कार्यमा यस नाटकको प्रदर्शन हुन्छ । यसलाई पोइँबोले प्रदर्शन गर्छ । प्रर्दशनमा घण्टीको बजाइन्छ । यो लयात्मक हुन्छ । यसले माङरू सूचना दिलाउँछ । घण्टी यसको विशेषता हो ।

१८. थादो लोकनाटक : 

थादो भनेको लयात्मकता हो । यसलाई थाँदो पनि भनिन्छ । यसमा कथा सलल बगेको हुन्छ । संवाद सुरिलो हुन्छ । यसमा संवाद हुन्छ । त्यो संवाद भाकामा गरिन्छ । यसमा नाचिन्छ, गाइन्छ, अभिनय गरिन्छ । यसको प्रदर्शन हाटबजारमा गरिन्छ । यसमा मनको बह पोखिन्छ । पशुपक्षी कथा भनिन्छ । घटनाको वर्णन गरिन्छ । वियोगको कथा भनिन्छ ।  यसलाई कोइँचवानमा प्रदर्शन गरिन्छ ।  यो विशेषगरी ताबाकोशी, सुनकोशी, लिखु कोशी वरिपरिको भूभागमा गाउने गरेको पाइएको छ ।

 ००००

टुङग्याउनी :

कोइँच लोकनाटकहरू धेरै छन् । यी लोकनाटकहरू मुन्दुमी परम्परामा आधारित छन् । यसलाई पोइँबो ग्याँमीहरूले प्रदर्शन गर्छन् । यसमा गुरुपरम्परा छ । यसलाई गुरुपरम्परा नै प्रदर्शन गरिन्छ । तर वर्तमान अवस्थामा कोइँच लोकनाटकहरू लोपोन्मुख अवस्थामा छन् । केही लोकनाटकहरू त लोप भइसकेका छन्, केही भइरहेका छन् ।  तर ती लोकनाटकहरूको पुस्तान्तरण हुन सकेको छैन । नयाँ पुस्ताहरूलाई पनि त्यसतिर चासो छैन । चासो हुनुलाई पनि सहयोग पनि छैन, उपेक्षा बाहेक ।

००००

सन्दर्भसूची :

काःतिच,  कोइँचबु । बाअशोदाइशो थामा लो । काठमाडाैँ ः चुप्लु समाज । २०६५ स. ।

मुखिया, अतीत । अदेखा मुक्दुमी सत्य : शाँदार पिदार । काठमाडाैँ  :चुप्लु समाज । २०६७ स. ।

मुखिया श्याम (सम्पा.) । सुनुवार जन्म, विवाह, मृत्यु संस्कार विधिसङ्ग्रह  । काठमाडाैँ  : सुनुवार सेवा समाज । २०६७ स. ।

पुमा, प्रवीण । किराँती नाटकहरूमाथि प्रारम्भिक सिंहावलोकन । काठमाडाैँ  : नेपाली लोकवार्ता तथा संस्कृति समाजद्वारा आयोजित दोस्रो राष्ट्रिय नेपाली इट्यान्जेवल कल्चरल कङ्ग्रेसमा प्रस्तुत (कार्यपत्र) २५-२६, जनवरी, २०१४ इ. ।

किराँती नाटकको प्रारम्भिक अध्ययन । काठमाडाैँ  : किरात राई प्रज्ञा-परिषद्द्धा आयोजित प्रथम किराँती नाटकहरूमाथि कङ्ग्रेसमा प्रस्तुत (कार्यपत्र) २२ मार्च, २०१४ इ. ।

किराँती लोकनाट्य परम्पराको अध्ययन । काठमाडाैँ  : नेपाली लोकवार्ता तथा संस्कृति समाजद्वारा आयोजित पाँचौँ अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन मा प्रस्तुत (कार्यपत्र), २४-२६, अप्रिल, २०१५ इ. ।

रापचा, लाल र अरू. । किराँती-कोइँच (सुनुवार) जातिको चिनारी । काठमाडाैँ  : कोइँच (सुनुवार) सेवा समाज, केन्द्रीयकार्य समिति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुर, नेपाल । २०६८ स. ।

सुनुवार, उत्तमकुमार । आदिवासी जनजाति कोइँच सुनुवारको प्रदर्शनीय कलाको स्थिति, चुनौती र सम्भावना । काठमाडाैँ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सङ्गीत, नाटक र नृत्य सम्बन्धी प्रादेशिक अनुसन्धान परियोजना अन्तर्गत प्रदेश नं. ३ द्वारा आयोजित कार्यशाला/गोष्ठीमा प्रस्तुत (कार्यपत्र) चैत्र १६, शनिवार । २०७३ स. ।