किरात संस्कृतिका फिल्मकर्मी चन्द्र वाम्बुले राईलाई ‘किरात राई यायोक्खा जागिरमान–सुवासी राई सांस्कृतिक भिडियो पुरस्कार’ प्रदान गरिएको छ ।
किरात राई यायोक्खाको ३६औं स्थापना दिवसमा अवसरमा सोमबार आयोजित समारोहमा संस्कृति मन्त्री सुदन किराती र यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले उक्त सम्मान प्रदान गरेका हुन् ।
ओखलढुंगाको मानेभन्ज्याङ–२ वाक्सा ह्वाल्माफुमा जन्मिएका राई विगत दुई दशकदेखि किरात समुदायको संस्कार, संस्कृतिको खोज अनुसन्धान, चलचित्र र वृत्तचित्र निर्माण तथा निर्देशनमा संलग्न छन् । उनले वाम्बुले राई संस्कृतिमा आधारित ठूलो पर्दाको चलचित्र ‘सुम्निमा’ निर्देशन गरेका छन् । यसैगरी, ‘किरात आदिम भूमि तुवाचुङ जायजुम’, ‘सुन्दर पोकली झरना ओखलढुंगा’, ‘वाम्बुले राई जातिको परिचय’, ‘किरात सुनुवार जाति’, ‘बायुङ राई जातिको ह्वाङ सिली’ वृत्तचित्र निर्माण गरेका छन् ।
यसैगरी किरात राई जातिका विभिन्न भाषामा सांगीतिक भिडियो निर्माण गरेका छन् । उनी किरात राई चलचित्रकर्मी संघका पूर्वअध्यक्ष हुन् ।
त्यस अवसरमा इतिहासकार दिनेशराज पन्त, पत्रकारद्वय दिपिन राई र श्रीशिशा राई, कृतितर्फ लोकबहादुर बायुङ राई, सुकराज राई र खुक्सङ खम्बु राई, भद्रगोल किराती, खेलकुदतर्फ प्रिया राई, गायकद्वय राजेशपालय राई र रुपकुमार राईलाई विभिन्न नामका पुरस्कारबाट पुरस्कृत गरिएका थिए ।
यस्तै, विभिन्न विश्वविद्यालयबाट हालैमात्र विद्यावारिधि हासिल शान्तिदेवी राई, हरिध्वज राई, भरत राई र रामकुमार राईलाई सम्मान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।