हङकङ साहित्यिक साँझाको ११७ औं श्रृङ्खलामा ‘थाङ्ग्रा’, ‘अनायोजित’, र ‘प्रिय मौनता’ तीन वटा पुस्तकहरु सार्वजनिक गरिएको छ । श्रृङ्खलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालकी प्रखर कवि तथा उपन्यासकार प्रगति राईको पछिल्लो कृति ‘थाङ्ग्रा’ उपन्यास, नेत्र एटमको ‘प्रिय मौनता’ कवितासङ्ग्रह र साहित्यपोस्टकी स्तम्भकार अनिता पन्थीको उपन्यास ‘अनायोजित’ सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सार्वजनिक गरिएका तीन पुस्तकमाथि श्रृङ्खलाका संरक्षक तथा साहित्यकार दाजु गुरुङले छोटो टिप्पणी राखेका थिए ।

सोही क्रममा श्रृङ्खलाका सल्लाहकार समेत रहेका चर्चित चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले हाल नेपालका चर्चित दुई स्वतन्त्र मेयरहरू, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ राईको स्केच सार्वजनिक गर्दै चित्र र साहित्यबीचको सम्बन्ध बारे बोलेका थिए ।

जोर्डनस्थित चुम्लुङ हिममा आयोजित कार्यक्रम श्रृङ्खलाकी सह–संयोजक अरुणा शर्माले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा कवि तथा साहित्यकारहरु नारायण भण्डारी, रोशन यक्सो, डी.बी. पालुङ्वा, अरुणा शर्मा, रमण गुरुङ, दाजु गुरुङ, शिव कुमार बान्तावा राई, बिनु लामा, बिना राई इङनामलगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए ।

हङकङ साहित्यिक साँझाले नेपाली वाङ्मयको संरक्षण तथा संवर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।