अक्सफोर्ड विश्वविद्यालयबाट आएका सिर्जनशील लेखनका विज्ञहरूसँग त्रिभुवन विश्वविद्यालयले सोमबार अन्तरक्रियात्मक सिर्जनशील लेखन कार्यशाला सम्पन्न गर्यो ।

अक्सफोर्डबाट आएका अमाल चटर्जी तथा अक्सफोर्डका विद्यार्थी नवीन के. क्षेत्रीले सो कार्यशाला सञ्चालन गर्नुभएको थियो । कार्यशालामा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा बाहिरबाट आएका जिज्ञासुहरूले सहभागिता जनाउनु भएको थियो ।

तीन घण्टा लामो कार्यशालामा त्रिविका अंग्रेजी विभाग प्रमुख डा. जीवलाल सापकोटा प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रा. डा. ध्रुव कार्कीले कार्यक्रम संयोजन गर्नुभएको थियो ।

उहाँहरूले कार्यशालाले नयाँ सम्भावना भएका लेखकहरूलाई सिर्जनशील लेखनमा करियर बनाउन सहयोगी भूमिका खेल्ने विश्वास गर्नुभएको थियो ।

प्रशिक्षकका रूपमा बेलायतबाट आउनु भएका अमाल चटर्जीले एउटै कथालाई तत्त्वहरू बदल्नेबित्तिकै विविध शैली, शिल्प र संस्करणमा बदल्न सकिने उदाहरणहरू पेश गर्नुभएको थियो । आख्यान लेखनमा ससाना मिहिनताले पार्ने फरकका बारेमा पनि उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा अर्का प्रशिक्षक नवीन के. क्षेत्रीले काव्यले कसरी पीडा र त्यसबाट मुक्त हुन भूमिका खेल्न सक्छ भनी बताउनु भएको थियो । पाठकलाई झक्झक्याउन कविता ज्यादै प्रभावकारी विधा भएको बताउँदै उहाँले निजी कथा र अनुभूतिलाई कसरी कलात्मक रूपमा प्रस्तुत गर्न सकिन्छ भनी आफ्ना केही कविताहरू वाचन गर्नु भएको थियो ।

कार्यशालामा भेला भएका सहभागीहरूले सक्रिय रूपमा प्रश्नोत्तरमा भाग लिनु भएको थियो । सन्तोषकुमार पोखरेल तथा रूप सिंह भण्डारीजस्ता कविहरूले आफ्ना सिर्जनासमेत सो अवसरमा वाचन गर्नुभएको थियो ।

कार्यशालाका सभापति रहनु भएका प्रा.डा. जीवलाल सापकोटाले यस्ता कार्यक्रममार्फत आफ्ना विद्यार्थीहरूलाई सिर्जनशील लेखनीतर्फ आकर्षित गरिरहने बताउनुभयो । विद्यार्थीको हितका लागि अन्य यस्ता कार्यशाला आयोजनतर्फ आफ्नो ध्यान आकृष्टसमेत भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा डा. अन्जु गुप्ता, डा. मणिभद्र गौतम, डा. कोमल फुयाल, केशव सिग्देल, दिनेश भण्डारी, दिवाकर उपाध्याय अर्याल र महेश पौड्यालको समेत उपस्थिति थियो ।