फागुन ८ देखि १२ गतेसम्म भएको हृदयचन्द्र नाटक मेलाको स्मरण लामो समयसम्म रहनेछ । नेपालकै कोही साहित्यकारका कृतिमै आधारित भएर यस्तो नाट्य उत्सव भएको सुनिएको थिएन । बरु आरोहण गुरुकुलले सन् २००६ अर्थात् झन्डै दुई दशकअघि डेनिस नाटककार हेनरी इब्सनका नाटकहरूको अन्तर्राष्ट्रिय मेला आयोजना गरेको थियो । त्यसयता समय समयमा फरकफरक नाटक मेलाहरू त भए । तथापि, हृदयचन्द्र नाटक मेलाजस्तै एकै लेखकका कृतिमा आधारित नाटक मेला भएको थिएन । त्यसकारणले पनि हृदयचन्द्र नाटक मेला विशेष रह्यो ।
नाटक मेला धेरै कलाकारका लागि नाटक घरमा नाटक मञ्चनको पहिलो अनुभव बन्यो । खुला डबलीमा नाटक मञ्चन गर्नु र प्रकाश, ध्वनि, पश्र्व कला आदिको भरपुर प्रयोग गरिने नाटक घरभित्रको नाटक मञ्चन स्वाभाविकरूपमा फरक हुन्छ । ब्ल्याक बक्सभित्रको मञ्चनमा कलाकारलाई खास नाटक मञ्चनको अनुभूति हुन्छ । नाटकका पात्रको मनोभावलाई अभिव्यक्त गर्न नाटक घरभित्र विभिन्न प्रविधिले पनि भूमिका खेलिरहेको हुन्छ । त्यसकारण, हृदयचन्द्र नाटक मेलामा पहिलोपटक नाटक मञ्चन गरेका धेरै नवोदित कलाकारहरूको लागि यो अवसर लामो समय स्मरणमा रहनेछ ।
नाटक सिर्जनात्मक विधाहरूमध्ये पनि धेरै भंगाला एकै ठाउँमा मिसिएर बन्ने सिर्जनशील अभिव्यक्तिको विधा हो । नाटककारले अक्षरमा लेखेका नाटक नै पूर्ण नाटक हुने गर्दैन । नाटकका निर्देशकले प्रयोग गर्ने सिर्जनशील अभिव्यक्तिका अरू धेरै माध्यम र प्रविधिले पनि नाटकलाई पूर्णता दिएको हुन्छ । कलाकारको अभिनयको प्रवाहमा निर्देशकले नाटकका पात्रलाई प्रस्तुत गर्न प्रयोग गर्ने धेरै अवयवले नाटकलाई सुन्दर र शक्तिशाली बनाउँछ । अर्थात्, नाटककारले लेखेका नाटकभित्रै अरू पनि धेरै सिर्जनशील भंगाला मिसिएको हुन्छ र त्यसले नै नाटकलाई पूर्णता दिने गर्छ । सिर्जनाको धेरै तत्व मिलेर बन्ने नाटकबिच अङ्कको जोडघटाउबाट प्रतिस्पर्धा गर्नु उचित होइन । नाटक मेलामा सबैले आफ्नो सिर्जनशीलता प्रस्तुत गरे । कुनै प्रतिस्पर्धा गरेनन् । सिर्जनात्मक अभिव्यक्तिको तुलना र प्रतिस्पर्धा हुँदैन । यो त शनै शनै पूर्णतातिर जाने आराधना हो ।

हृदयचन्द्रले आजभन्दा कम्तीमा ६ दशकअघि लेखेका नाटकलाई आजको नवीन पुस्ताले भावभित्र पसेर अभिनयमा उतार्नु सहज पक्कै थिएन । पात्रका मनोवृत्ति, राजनीतिक व्यवस्थाका दोष र मानवीय भावना तथा कमी कमजोरीको कोणबाट नाटकमा आज पनि सान्दर्भिक थुप्रै प्रसङ्ग छन् । तथापि, नेपाली समाजले ६ दशकमा भोगेका परिवर्तनले ती नाटकमा पुरानिएका कुरा पनि बग्रेल्ती छन् । नाटकका यी सबै कुरालाई डबलीमा आजका दर्शकको मन र मस्तिष्क छुने गरी मञ्चन गर्नु चुनौती नै हो । तर, पाँचदिने नाटक मेलाका सबै नाटक हेरेपछि मञ्चित सबै नाटकले यो चुनौतीलाई पार लगाएको देखिन्छ ।
यसो हुन सक्नुको एउटा कारण हृदयचन्द्र सिंह प्रधानका पात्रहरूको सरलता र स्वाभाविकता पनि हो । उनका कृतिका सबै पात्र हामीले हाम्रै समाजमा भेटिरहे जस्ता सरल छन् । उनका पात्र अनौठा र अग्राह्य खाले छैनन् । त्यसकारण, कलाकारलाई ती पात्रमा डुब्न सहज हुन्छ । सामाजिक नाटकमा त छँदैछ, ऐतिहासिक नाटकमै पनि पात्रहरूले बोल्ने मनोभाव आजको समाजलाई अभिव्यक्त गर्ने खालका छन् । नेपाली साहित्यमा एकाङ्की विधाको जग बलियो बनाउन हृदयचन्द्र सिं प्रधानको विशेष योगदान छ । उनी एकाङ्की लेख्ने प्रथम साहित्यकार त होइनन् । तर, एकाङ्कीलाई नेपाली साहित्यको सन्दर्भमा सैद्धान्तिक व्याख्या र प्रयोग गर्ने लेखक हुन् हृदयचन्द्र सिं प्रधान । उनले एकाङ्की लेखेनन् मात्र, बरु एकाङ्कीबारे लामो समालोचनात्मक लेख लेखेर एकाङ्की विधाको सैद्धान्तिक जग बसाए । अझ नेपाली साहित्यमा मूलप्रवाह भनिएका बालकृष्ण समका नाटकको समेत विशद् समालोचना गरेर उनले नेपाली नाटक लेखन र समालोचनामा विशिष्ट योगदान पु¥याए ।
हृदयचन्द्र नाटक मेलामा नाटक मञ्चन गर्ने अधिकांश कलाकार माध्यमिक तहका विद्यार्थी थिए । मेलामा विशेषतः विद्यालयहरूलाई नै सहभागी गराइएको थियो । नाटक मेलाको तयारी हुँदै गर्दा हृदयचन्द्र सिं प्रधानको नाम पनि पहिला नसुनेका नवोदित विद्यार्थीले के उनका पात्रलाई न्याय गर्न सक्लान् भन्ने आशङ्का थियो । पात्रहरू सरल हुँदाहुँदै पनि आजको फरक समाजमा हुर्केका विद्यार्थीलाई त्यो समाजको मनोभावना र द्वन्द्व बुझाउनु निर्देशक र शिक्षकहरूको लागि कम चुनौती थिएन ।
मञ्चित नाटकलाई विशुद्ध एक जना दर्शकको आँखाले हेर्न सकुँ भनी कुनै पनि नाटक (आफैँ कलाकार भएको नाटक बाहेक) को रिहर्सलमा बसिएन । नाटक रिहर्सल हेरेको भए कलाकार र निर्देशकको सिर्जनशीलतालाई बुझ्ने कुनै न कुनै आग्रह हुनसक्थ्यो । तर, हरेक दिन नयाँ नाटक हेरेर नाटक घरबाट बाहिर आउँदा भने मन फुरुङ भयो । नाटक मञ्चनमा कलाकारहरूको प्रस्तुतिले सुरुका आशङ्का पातलिएको मात्र होइन, भविष्यमा नाटक क्षेत्रमा गर्न सकिने प्रगतिको सम्भावना पनि उघारिँदै गयो । कलाकारहरूको प्रस्तुति यसअघि कहिल्यै पनि नाटक घर नदेखेका र नाटक घरमा नाटक हेर्न नगएका विद्यार्थीले मञ्चन गरिरहे जस्तो कदापि अनुभव भएन । बरु, नाटक घरभित्रका प्रकाश, ध्वनि, पश्र्व कलाको प्रयोगले उनीहरूको अभिनयलाई जीवन्तता दिइरहेको थियो । नाटकको विषयवस्तु दर्शकलाई ट्वाक्कै बुझिने गरी पस्किन सबै नाटक सफल थिए ।
‘श्रीमैयाँको इर्लिङ’ नाटकले चेखभको ‘द चेरी अचार्ड’ नाटकको स्मरण गरायो । खिइँदो राजनीतिक व्यवस्थासँगै कुनै बेलाका शासकको पाखण्डी यसमा उम्दा चित्रण गरिएको छ । यसका कलाकारहरूको स्वाभाविक र आत्मविश्वासपूर्ण संवादले नाटकघरको प्राविधिक कमी कमजोरीलाई समेत माथ पारेको थियो । पञ्चकन्या माविका विद्यार्थीहरूको जीवन्त अभिनयले विषयवस्तुलाई अझ निखारेको थियो । ‘शरणागतको स्वागत’ मा भादगाउँमाथि गोर्खाली हमलाताका भादगाउँले राजा रणजीत मल्लको मनोविज्ञानलाई चित्रण गरिएको ऐतिहासिक नाटक हो । नाटक मेला आयोजक आस्था सांस्कृतिक परिवार र नाट्यकर्मी समाजबाट प्रस्तुत नाटकका कलाकारहरूको अभिनय र मञ्च शृङ्गारले इतिहासको एउटा कालखण्ड आफ्नै आँखाले देखेजस्तो अनुभूत गरायो । यो नाटकको दोस्रो मञ्चनका अधिकांश दर्शक भक्तपुर नगरका जनप्रतिनिधि थिए । नाटकमा कुनै पनि विषयमा जनतासँग परामर्श र छलफल गर्ने भादगाउँले परम्पराको प्रसङ्गले आजका हाम्रा जनप्रतिनिधिलाई आफूले जनतासँग नजिक भएर गरिरहेका कामप्रति गौरव अनुभव गराएको हुनुपर्छ । ‘खैराती मास्टर’ दुई वटा विद्यालय–पारागन एकेडेमी र बाल विकास ई. स्कूलले मञ्चन गरेको थियो । शैक्षिक विकृति र ट्युसन संस्कृतिको दोषमा आधारित नाटकलाई दुई विद्यालयका प्रस्तुति दुई फरक फरक नाटकजस्ता थिए । पारागन एकेडेमीको प्रस्तुतिमा नाटकका निर्देशकले आफ्नो निर्देशकीय कलाको भरपुर प्रयोग गरेका छन् । त्यसकारण, यसलाई ‘खैराती मास्टर’ मा आधारित नाटक भन्न सुहाउने थियो । बाल विकासको प्रस्तुतिमा नाटककारको लेखन पक्ष बलियो देखिन्थ्यो ।
ख्वप माविले प्रस्तुत गरेका दुवै नाटक –‘मरुभूमिका लेखक’ र ‘उनी देवता हुन्’ उस्तै सुन्दर मञ्चन थिए । नाट्य आराधनामा लागेका राजेन्द्र श्रेष्ठको निर्देशन कलाले नाटकका प्रतिभाशाली कलाकारलाई अझ निपुण बनाएको देखिन्थ्यो । फरकफरक भावभूमिका यी दुई नाटकमध्ये पहिलो नाटकले दर्शकको आँखामा अश्रुपात गरेको थियो भने दोस्रो नाटक प्रजातन्त्रको नाममा मानवीय मूल्यमा हुन थालेको क्षयीकरणलाई चित्रण गरिएको थियो । विशेषतः २००७ सालको जनसङ्घर्षपश्चात् नेपाली राजनीतिमा हाबी अस्थिरता यो नाटकको पृष्ठभूमि थियो ।
जेन्युइन ई. स्कूलले मञ्चन गरेको ‘कीर्तिपुरको युद्धमा’ हृदयचन्द्रका प्रतिनिधि एकाङ्कीमध्ये पर्दछ । यसको मञ्चन प्राविधिकरूपमै पनि कठिन खालको छ । जेन्युइनले यसको मञ्चनलाई पूर्णता दिन धेरै कोणबाट मिहिनेत गरेको देखिन्छ । पश्र्व सङ्गीतको सबभन्दा प्रभावकारी प्रयोग यो नाटकमा भएको थियो । प्रभात ई. स्कूलको ‘राजनीतिक रङ्गमञ्च’ पनि २००७ सालको जनक्रान्तिपछि नेपाली समाजले भोगेको राजनीतिक अस्थिरताको झल्को दिन सफल नाटक हो । यसका केही कलाकारहरूको अभिनय र संवाद प्रवाह चकित बनाउने खालको थियो ।
रह्यो कुरा ‘गङ्गालालको चिता’ नाटकको । २०६१ सालमा सम्पन्न पहिलो आस्था सांस्कृतिक साँझमा मञ्चित यो नाटक हृदयचन्द्रलाई चिनाउने एकाङ्कीमध्ये पर्दछ । नाटक मेलाको तयारी हुँदै गर्दा मेलामा यो सिग्नेचर नाटक नै मञ्चन नहुने अवस्था आयो । ‘गङ्गालालको चिता’ मञ्चन नहुँदा नाटक मेलाले पूर्णता नपाउने हो कि भन्ने पिर थियो । हप्ता दिन पनि समय बाँकी थिएन । तर, ‘गङ्गालालको चिता’ लाई समावेश गर्नैपर्ने निष्कर्षले पहिला पनि केही नाटक मञ्चनको अनुभव भएका कलाकारहरू अघि सरे र नाटक मेलाको अन्तिम दिनको दोस्रो मञ्चनमा यो ऐतिहासिक र क्रान्तिकारी नाटकको मञ्चन भयो । यसरी नाटक मेलामा हृदयचन्द्रका सबैजसो प्रतिनिधि एकाङ्कीको सफल मञ्चन भयो ।
नाचगानको राजधानी र सांस्कृतिक नगरको छवि बनाएको भक्तपुर परम्परागत संस्कृति र नाचगानमा त समृद्ध छ नै । अब यो समृद्धिलाई आजको नयाँ संस्कृतिमा पनि विस्तार गर्ने अभियानमा नाटक मेलाले मद्दत गरेको छ । मेलामा सहभागी कवि अभय श्रेष्ठले नाटक हेर्न राजधानी जानुपर्ने अवस्थालाई भक्तपुरका यस्ता गतिविधिले बदल्ने बताएका थिए । निःसन्देह यस्ता सिर्जनात्मक गतिविधिले भक्तपुरलाई अझ नवीन संस्कृति निर्माणमा पनि अगुवा बनाउने आशा गर्न सकिन्छ । यस्ता गतिविधिले यहाँका नयाँ पुस्तालाई अझ रचनात्मक र गम्भीर बनाउनेछ ।
नाटक मेलामा झन्डै एक सय कलाकार र निर्देशकहरूले आफ्नो सिर्जनशीलता प्रस्तुत गरे । उनीहरूले यसक्रममा यसअघि नसुनेका साहित्यकार हृदयचन्द्र सिं प्रधानलाई चिनेनन् मात्र, बरु उनको रचनाको शक्ति पनि अनुभव गरे । हरेक पटकको मञ्चनमा औसतमा एक सय दर्शकले नाटक हेरे । उनीहरूले पनि हृदयचन्द्रको साहित्यिक व्यक्तित्वको नजिकबाट परख गरे । प्रगतिशील लेखनमा अब्बल मानिएका हृदयचन्द्रका साहित्यको प्रचार र नयाँ पुस्तासम्मको पहुँच विस्तारले प्रगतिशील विचारकै चर्चा बढ्नेछ । आफ्नो जीवनमा अभाव, उपेक्षा र रोग भागेको साहित्यकार हृदयचन्द्रले निधनको झन्डै छ दशक पछि आयोजित नाटक मेलाले उनी र उनका कृतिलाई आजको समय र पुस्तासँग जोड्ने अपेक्षा गर्न सकिन्छ । एकाङ्कीबाहेक पनि समालोचना, उपन्यास, कथा, निबन्ध विधामा हृदयचन्द्रको योगदानबारे आज चर्चा आवश्यक छ ।
नीरज लवजू