गाईघाट, फागुन १४ / प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाको आयोजनामा फागुन १४ गते आइतबार उदयपुरको गाईघाटमा ‘भाषा साहित्य कलासंरक्षण संवर्ध्दनमा हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा उदयपुर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी १ नं प्रदेशसभा उपसभामुख सिर्जना दनुवार प्रदेशसभा सदस्य गीता रेग्मी र सम्झना पाख्रिनको उपस्थिति रहेको थियो ।

प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा र प्रलेस नेपालका केन्द्रीय सदस्य बोधकुमार घिमिरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले भाषा साहित्य कला संस्कृति हामी सबैको साझा कुरा भएकाले यसको संरक्षण संवर्ध्दनमा आफ्नो तर्फबाट कानूनी प्रक्रिया हेरेर सहयोग गर्ने बताउनु भयो ।

१नं प्रदेशसभाका माननीय उपसभामुख सिर्जना दनुवारले हामी बसेको समाजभित्रका विकृति विसंगति पूर्ण संस्कारलाई पन्छाएर सुधार सहितको प्रगतिशील संस्कृति भित्र्याउन आवश्यक रहेको बताउनुभयो ।

समाजमा विद्यमान विकृतिले समस्या उत्पन्न हुँदा समाधानमा उतिकै चुनौती रहेको समेत उहाँको भनाइ थियो ।

यसैगरी प्रदेशसभा सदस्य गीता रेग्मीले प्रगतिशील लेखक सङ्घ उदयपुरले भाषा साहित्य कला संस्कृतिका क्षेत्रमा र समाजमा विद्यमान पुरातनवादी संस्कार हटाउन निरन्तर लागि परेकाले यसबाट समाज परिवर्तनमा सहयोग पुग्ने हुँदा यस्तो कार्यमा आफू सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि बोधकुमार घिमिरेले राजनीतिक संस्कारले हाम्रो परिवेश नै बिग्रिएको हुँदा यसको असर भाषा साहित्य कला संस्कृतिमा परेको टिप्पणी गर्नुभयो ।

यस्तै बुद्विजिवी केवलप्रसाद पोखरेलले पनि संस्कृति देखासिकीबाट बिग्रिने सम्भावना बढी हुने भएकाले विचार गरेर समाजले आफ्नै तरिकाले निर्माण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेले प्रलेस नेपालको बारेमा संक्षिप्त जानकारी दिनुका साथै कार्यक्रम संचालन प्रलेस उदयपुरका सचिव श्याम ढुङ्गानाले गर्नुभएको थियो ।

सो कार्यक्रममा प्रलेस उदयपुरका पूर्व अध्यक्ष दुर्गा कुमार थापा र मधुकर थापालाई प्रलेस उदयपुरको संगठन विस्तार तथा प्रगतिशील साहित्य लेखनमा योगदान पुर्याएबापत सम्मान गरिएको थियो ।