इन्द्रमोहन स्मृति गुठी धनकुटाको आयोजनामा, नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा, पुरस्कार समर्पण तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरियो ।

प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले नेपाली गीत सङ्गीत, साहित्य, र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि योगदान दिएका तीन स्रष्टाहरू गायक तथा सङ्गीतकार, दीपक खरेल, पत्रकार मोहन भण्डारीलाई, श्रीओम इन्द्र मोहन गीतसङ्गीत तथा पत्रकारिता पुरस्कार, र कवि डा. राजेन्द्रप्रसाद अधिकारीलाई डा विमला श्रेष्ठ साहित्य पुरस्कार समर्पण गर्नुभयो ।

पुरस्कार ग्रहण गर्दै विराटनगरका वरिष्ठ पत्रकार मोहन भण्डारी

उक्त पुरस्कारको राशि जनही एक्काइस हजार रहेको छ ।

सो समारोहमा कवि विवश पोखरेलको कवितासङ्ग्रह “जीवनलाई देख्नु भो ?” को विमोचन समेत गरियो ।

उक्त कृतिमा उनन्चास वटा विविध विषयका कविताहरू समावेश छ्न् । सम्मानित स्रष्टाको परिचय समालोचक कवि प्रमोद प्रधानले र विमोचित कृतिको समीक्षा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो ।

कविहरू यादव भट्टराई , कल्पना काफ्ले, पार्वती भट्ट, लक्ष्मी पोखरेलले उक्त सङ्ग्रहबाट एक एक कविता वाचन गरेका थिए। गुठीका प्रमुख संरक्षक डा विमला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले आ-आफ्ना विचार व्यक्त गर्नुभयो । कार्यक्रममा करिब दुई सय भन्दा बढी साहित्यकार, एवम् साहित्य र कलाप्रेमीको उपस्थिति रहेको थियो ।

अतिथिहरूको स्वागत गुठीका अध्यक्ष विवश पोखरेल र सञ्चालन कवि गोकुल अधिकारीले गर्नुभएको थियो । शब्दपथ