विराटनगर / आरोहण–गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दीक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबार हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहका बीच प्रमाणपत्र प्रदान गरिएको हो ।
नेपाली रंगमञ्चलाई व्यवसायिक बनाउने र गुरुकुल परम्पराअनुसार नाट्य अध्यापन गराउने गरेको आरोहणले २०७६ देखि कक्षा सञ्चालन गरेको थियो । अभिनय, संगीत, दृश्य कलासँगै रङ्गमञ्चका आधारभुत तत्वहरु, निर्देशन, रङ्गमञ्च र राजनीति, कचहरी नाटक लगायतबारे प्रशिक्षण लिई विद्यार्थीहरुले विभिन्न १० वटा नाटकमा काम गरेका थिए ।
७ नाट्य कार्यशाला, २ राष्ट्रिय तथा एक अन्तर्राष्ट्रिय र २ वटा विद्यालय नाटक महोत्सवमा विभिन्न जिम्मेवारी लिएर काम गरेका उनिहरुले अनेकौं सडक नाटकमा पनि अभिनय गरेका थिए । सोमबार दीक्षित हुनेहरूमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, अशोक गौतम, रविन चिमरिया, सागर विश्वास, समीक्षा दाहाल, प्रदिप दाहाल, अजय सुवेदी र राजेश ठाकुर रहेका छन् ।
चार दशक बढी समयदेखि दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौँ नाटक मञ्चन गरेको आरोहणले काठमाडौं र विराटनगर शाखामार्फत आवासीय कक्षा सञ्चालन गरेर ६० भन्दा धेरै रंगकर्मी उत्पादन गरिसकेको छ ।
सोमबारदेखि गुरुकुलले ‘साँढे’ नाटक मञ्चन सुरु गर्दैछ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा १९ गतेसम्म दैनिक साँझ ५:३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।
साहित्यकार भीमनिधि तिवारीद्वारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन । नाटकमा राजाको प्रिय साँढे मर्दा प्रजामा फैलिएको त्रास र शक्तिको कथा छ । दुई सय वर्षअघिको हाम्रो समाजको मनोविज्ञान बोल्दै गर्दा उक्त नाटकले विद्रोहको झल्को पनि दिन्छ ।
कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयमा समावेश भएको उक्त नाटकमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, प्रज्ज्वल दुलाल, सागर विश्वास, समीक्षा दाहाल, रवीन चिमरिया, प्रदीप दाहाल, अजय सुवेदीले अभिनय गरेका छन् । यस्तै दीक्षा चौधरी, अमन धमला, सुगल अधिकारी, कञ्चन दास, निरज कार्कीले पनि अभिनय गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।