बैतडी / सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी चैत १० देखि १३ गतेसम्म विश्व नेपाली नारी साहित्य महोत्सव हुने भएको छ ।
महोत्सवमा सहित्यकार झमक घिमिरेलाई एक लाख एघार हजार रुपियाँ राशीको ‘बद्री–कृष्णा वाङ्मय पुरस्कार’ प्रदान गरेर अभिनन्दन गरिने भएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली नारी साहित्य महोत्सवमा झमक घिमिरेलाई निमन्त्रणा दिइएको छ । झमकलाई निमन्त्रणा दिन सुदूरपश्चिमाञ्चल साहित्य समाजका रामलाल जोशी लगायतका साहित्यकार धनकुटा पुग्नु भएको छ ।
झमकले निमन्त्रणालाई सहर्ष स्वीकार गरेको साहित्यकार रामलाल जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
झमकको यो दोस्रो सुदूरपश्चिम यात्रा हुनेछ । यसअघि पनि एक पटक उहाँले सुदूरपश्चिमको यात्रा गर्नुभएको थियो ।
झमकले निमन्त्रणा स्वीकार गरेको विषयमा साहित्यकार रामलाल जोशीले फेसबुकमा लेख्नु भएको छ–“मैले संसार देखेको छैन तर देश देखेको छु । मैले संसार चिनेको छैन तर देश चिनेको छु । यहाँ माटोको लागि आफ्नो जीवनको वलिदानी दिएर रगतले देश जोड्ने वीर–विराङ्गाना छन् । र त, संसारका अगाडि स्वतन्त्र देश छ । यहाँ अक्षरले देश जोड्ने भानुभक्तहरू छन् । र त, संसारका नेपालीहरूले एउटै मालामा जोडिने सौभाग्य पाएका छन् । यहाँ अक्षरको आराधना गर्ने विलक्षण प्रतिभा र तपस्वी छन् । र त, नेपाली साहित्य समृद्ध छ । अनेकौं प्रतिभा र तपस्वीहरूले समृद्ध बनेको नेपाली साहित्यमा एक विलक्षण र दुर्लभ प्रतिभा हुन् – झमक घिमिरे । जोसङ्ग आफ्नो बोली छैन , आज संसारले उसैको हृदयको आवाज सुनिरहेको छ । जसको लेख्ने हात चल्दैन , आज संसार उसैले खुट्टाका दुइटा औंलाले लेखेको साहित्य पढिरहेको छ । आज तिनै दुर्लभ प्रतिभा झमक घिमिरेको धनकुटा कचिडे स्थिति घरमा पुगेर भेट गरियो । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आगामी चैत्र १०–१३ सम्म धनगढीमा आयोजना गरिने विश्व नेपाली नारी साहित्य महोत्सवमा समाजका तर्फबाट उहाँलाई प्रदान गरिने रू. १ लाख एघार हजार सहितको बद्री–कृष्णा वाङ्मय पुरस्कार र सम्मान अभिनन्दनका लागि हाम्रो आमन्त्रणलाई सहर्ष स्वीकार गर्नुभएको छ । झमकजीलाई धनगढीमा स्वागतका लागि प्रतीक्षा गरौं !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।