देशकै पहिलो रियालिटि सो, ‘द पोएट आइडल’ यतिखेर सामाजिक सन्जालमा छाउनुका साथै सबैको चासोको विषय बनेको छ ।
समूह ‘बी’का प्रतियोगी कविहरूलाई हिजोको प्रस्तुतिका लागि गएको हप्ता ‘प्रेममा धोका’ नामक विषय दिइएको थियो । त्यही विषयमा समूह ‘बी’का कविहरूले हिजो आ-आफ्नै शैलीमा दमदार प्रस्तुति दिएका थिए । यस शृंखलामा २०७८ सालको मदन पुरस्कार विजेता नवराज लम्साल मुख्य अतिथि रहेका थिए ।
मन्च प्रवेश गरेपछि पोएट आइडल यहाँलाई कस्तो लागिरहेको छ भनेर उद्घोषक दिव्य देवले सोधेका थिए । जवाफमा उनले ‘यहाँ उपस्थित हुन पाउँदा आफू खुसी भएको र आफ्ना साथीहरूलाई भेट्न पाउँदा झन खुसी भएको भनी’ बताएका थिए ।
कार्यक्रम सुरु हुन्छ कवि नाथन रायनबाट । उनको प्रस्तुति हेरिसकेपछि शुभकामनासँगै केही सुझाव पनि दिएका थिए ।
‘कवितामा विम्वको प्रयोग ठीक ठाउँमा भएन भने कविता बिग्रन्छ । लामो छोटो कविताले केही फरक पार्दैन । जस्तो कि तपाइँले घाम, छाया, जून, आदिलाई प्रयोग नगरेर कवितालाई आफ्नै शैलीमा छोट्याएको भए राम्रो हुन्थ्यो । यी घाम, छाया, जून आदि उहिल्यै धेरै प्रयोगमा आइसकेका विम्वहरू हुन्,’ डा. लम्सालको सुझाव थियो ।
दार्जिलिङका कवि पल्लवीको प्रस्तुति हेरेपछि कवि लम्सालले दार्जिलिङका प्रख्यात कवि मणिकमल क्षेत्री र टेकी बराइलीलाई भेट्दाको रमाइलो पल स्मरण गरेका थिए ।
जज अनुप बरालले कविताको आफ्नो गुण नभत्काई कविता कसरी अगाडि बढाउने ? यसमा चाहिँ कविले विचार गर्नुपर्ने बताएका थिए ।
पल्लवीको प्रस्तुति सकिएपछि कवि तथा अतिथि लम्सालले ‘देशले के दियो’ नामक कविता सुनाएका थिए । उनको कवितामा आइडलको मञ्च निकै शान्त भएको थियो । त्यहाँ उपस्थित दर्शक तथा आइडलका जजहरू करिब करिब भावुक हुन खोजेका थिए । त्यहाँ उपस्थित सबैको हृदयलाई अतिथि कविको कविताले भित्रैसम्म छोएको थियो ।
अतिथि कविले कविता सुनाइसकेपछि लेकाली कान्छा र मुनु अधिकारीले पालैपालै प्रस्तुति दिएका थिए । कवि लेकाली कान्छाको प्रस्तुति हेरेपछि अतिथि कवि लम्सालले भने, ‘लेकाली कान्छा लेकबाट बगेर आएको पानीजस्तै रहेछन् । आफ्नो स्थानीय भाषालाई कवितामा प्रयोग गर्नु अति नै सुन्दर काम हो ।’
त्यसपछि प्रस्तुति दिएकी मुनु अधिकारी पर्फमर अफ द डे घोषित भइन् ।
प्रस्तुतिको समाप्तिसँगै अतिथि कवि नवराज लम्सालले पाँचै जना प्रतियोगी कविहरूलाई आफ्ना केही पुस्तकहरू उपहारस्वरुप दिएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।