प्रेस काउन्सिल नेपालले लेखक शिव प्रकाशलाई काउन्सिल सचिवालयमा उपस्थिति हुन पत्र काटेको छ । लेखक शिव प्रकाशले लगाएको आरोप सत्य हो होइन, हो भने प्रमाण पेस गर्नेगरी ७ दिनभित्र सचिवालयमा उपस्थित हुने बेहोराको पत्र काटेको हो । साहित्यपोस्टमा छापिएको एउटा केस स्टडीका विषयमा प्रेस काउन्सिलको पत्र दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अनावश्यक लाञ्छना लगाएपछि प्रेस काउन्सिलमा लेखक शिव प्रकाशलाई झिकाई सत्यतथ्य खुलाइदिन साहित्यपोस्टले अनुरोध गरेको थियो ।
साहित्यपोस्ट डटकममा गत माघ १८ गते प्रकाशित ‘लेखकको पिआर, मिडियाको प्यार’ शीर्षकको केस स्टडीका विषयमा लेखक शिव प्रकाशले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका थिए । प्रेस काउन्सिललाई लेखेको पत्रलाई दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत् अनेकखालका भ्रम सिर्जना गर्ने कार्य लेखक शिव प्रकाश र उनको टिमबाट भएपछि न्यायका लागि साहित्यपोस्टले प्रेस काउन्सिलको ढोका ढक्ढक्याएको थियो । साहित्यपोस्टको पत्र पाएपछि लेखक शिव प्रकाशलाई काउन्सिलले यथार्थ कुरा अवगत गराउन उपस्थितिका लागि पत्र काटेको हो ।
पत्रमा भनिएको छ, “उक्त उजुरी तथा कारबाहीका सम्बन्धमा साहित्यपोस्ट डटकमबाट समेत निवेदन दर्ता हुन आएकाले सो विषयमा छलफल गर्नुपर्ने भएकाले आगामी हप्ता काउन्सिल सचिवालयमा उपस्थित भइदिनु हुन निर्णयानुसार जानकारी गराइन्छ ।”
साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले लेखक शिव प्रकाशले साहित्यपोस्ट र आफूमाथि नैतिकरुपमै हिलो छ्याप्ने काम गरेकोले आफूमाथि लागेको आरोप सम्बन्धित निकायबाटै सही हो होइन थाहा पाउन चाहेको बताएका छन् ।
प्रधानसम्पादकले प्रेस काउन्सिललाई लेखेको पत्रमा शिव प्रकाशलाई आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
‘पत्रकारिताको मर्मविपरित मैले कुनै काम गरेको भए प्रमाणित गरेर देखाउन् भन्ने चाहन्छु । यसो भयो भने मैले २५ वर्षसम्म सिकेको पत्रकारिता, पत्रकारिताको आचारसंहिताको अर्थ रहेनछ भन्दै यो पेसाबाटै बिदा लिनेछु ।’ प्रेस काउन्सिलले लेखक शिव प्रकाशलाई काटेको पत्रबारे प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘उहाँले प्रमाण पेस गर्न सक्नुभएन भने मेरो मानहानीको क्षतिपूर्तिका लागि नेपाल सरकारका अन्य निकायममा पुग्नेछु ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।