
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङ सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । महाधिवेशनको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरे ।
महाधिवेशन शुभारम्भ गर्दै मुख्यमन्त्री जमरकट्टेलले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको बताए । त्यसका लागि एकजुट भएर अघि बढ्न समेत उनले आग्रह गरे । आफू पनि लोक तथा दोहोरीगीतको श्रोता रहेको भन्दै उनले सांस्कृतिक पक्षको सम्वर्द्धनका लागि लोकसंगीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । महाधिवेशन उद्घाटनअघि बृहत र्याली निकालिएको थियो ।
महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । संस्थापन पक्षले रीता थापा मगरलाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ भने अर्का गायक पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी छन् ।
एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको प्रतिष्ठानको महाधिवेशन फागुन १४ गते समापन हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

