गएको महिनादेखि सुरु भएको देशकै पहिलो रियालिटी सो, द पाेएट आइडल अहिले सत्रौं एपिसोडमा पुगेको छ । हरेक हप्ताको बिहीबार देशका चर्चित तथा सबै नेपाली साहित्यप्रेमीहरुको मन मस्तिष्कमा बस्न सफल कविहरूको सम्झनामा कवि विशेष कार्यक्रम हुँदै आएको छ । यसरी नै हिजो कवि तथा नाट्य सम्राट ‘बालकृष्ण सम’ लाई सम्झिइएको थियो ।
नायिका तथा निर्देशक लूनिभा तुलाधरले समको कविता कविताको ‘व्याप्ती’ वाचन गरेपछि कार्यक्रम अघि बढेको थियो । कविता वाचन सकिएपछि कवि समलाई यहाँले कसरी सम्झनुहुन्छ भनेर सोधेका थिए ।
“मैले उहाँलाई चिनेको भनेको सन् २००३ बाट हो । बालकृष्ण सम काव्य विधाका पावर हाउस नै हुन् । आफैँ नाटक लेखेर आफैँ मेकअप गरेर आफैँले प्रस्तुति दिनु भनेको चानचुने कुरा होइन,” जवाफमा लूनिभा तुलाधरले भनेकी थिइन् ।
पछि दिव्य देवले यही प्रश्न चार जजहरूलाई पनि सोधेका थिए ।
“हाम्रो घरमा बुवा समय समयमा उहाँको बारेमा कुरा गर्नुहुन्थ्यो । उहाँले नाट्य विधालाई स्थान दिन थालेपछि चाहिँ अब नाट्य विधाको साँघुरो गल्ली केही फरक हुने भो भनी हामी आशावादी भयौँ। उहाँले कविता र नाटक मात्रै नलेखेर निबन्ध पनि लेख्नुभएको छ । साथै उहाँले एकदमै राम्रो पेन्टिङहरू पनि बनाउनुहुन्थ्यो,” अनुप बरालले समबारे धारणा राख्दै बताए ।
“मैले उहाँलाई देख्न मौका पनि पाएँ, उहाँको नाटक चाहिँ हेर्न पाइनँ । एकदिन कमल पोखरीमा उहाँ मेकअप गरेर ठाँटिएर आउनुभएको थियो । उहाँले प्रायः दौरा सुरुवाल मात्रै लगाउनुहुन्थ्यो । उहाँले कोट लगाएको मैले देखेको छैन । उहाँ त्यहाँ रिक्सामा आउने र रिक्सामा नै जाने गर्नुहुन्थ्यो । उहाँको किताब “नियमित आकस्मिकता” चाहिँ मेरो स्मृतिमा आइरहने पुस्तक हो,” विप्लव प्रतीकले स्मृति सुनाउँदै भने ।
यसैगरी अर्का निर्णायक उपेन्द्र सुब्बाले भने, “मैले पहिलो पटक पढेको उहाँको पुस्तक नै “आकस्मिकता” हो । मलाई त्यो पुस्तक पढ्न गाह्रो भएको थियो । त्यस पुस्तकको छन्द पढ्न मलाई गाह्रो भएको थियो । मैले सबैभन्दा कम पढेको साहित्यकार उहाँ नै हो । कम पढेपनि उहाँलाई उच्च आदर सम्मान छ ।”
“कुनै पनि व्यक्ति उसको परिवारमा जन्मन्छ र परिवारकै निर्देशनमा जीवन कटाउँछ । तर उहाँ भने अलि फरक धारको व्यक्ति हुनुहुन्थ्यो । मान्छेले आफ्नो थर हटाउन हत्तपत्त सक्दैनन् । तर उहाँले सम्शेर हटाएर सबैलाई समेटेर सम राख्नुभयो । यो नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो,” सुरक्षा पन्तले समबारे धारणा सुनाइन् ।
समलाई सम्झने क्रम सकिएसँगै रिजल्टको पालो आएको थियो । रिजल्टमा पिंकी बोहोरा र मिल्सन राई बटम २ मा परेका थिए । उनीहरू बटम २ मा परेपछि कविता लेख्नका लागि “घडी” विषयवस्तु दिइएको थियो । विषय दिनुअघि उनीहरू दुवैलाई कुर्सीमा बसाएर दुवैको आँखामा पट्टी बाँधिएको थियो र “एउटा आवाज आउँछ । त्यस आवाजलाई ध्यान दिएर सुन्नुहोला भनिएको थियो ।” त्यो आवाज घडीको टिक टिक थियो ।
विषयवस्तु दिइसकेपछि “यसमा तपाईंहरूलाई जे लेख्न मन लाग्छ त्यही लेख्नुहोला” भनी अनुप बरालले भनेका थिए ।
कविता लेख्न आधा घण्टाको समय दिइएको थियो । कविता लेखनको समय सकिएपछि पिंकी बोहोराले “मृत्युशैयाबाट जुर्मुराएका सपना” शीर्षकको कविता सुनाएकी थिइन् । त्यसपछि मिल्सन राईले आइडलको मञ्चमा पहिलो पटक छन्द कविता सुनाएका थिए ।
कविता सुनाइसकेपछि पिंकी बोहोराले १४९.५ अंक प्राप्त गरेकी थिइन् भने मिल्सन राईले १६१.५ अंक प्राप्त गरेका थिए । यस अंकसँगै मिल्सन राईको द पोएट आइडलको आगामी यात्रा जारी रहनेछ भने पिंकी बोहोरा भने आइडलको मञ्चबाट बाहिरिएकी छिन् ।
पिंकी कवित्व चेत भएको मान्छे हो । यहाँबाट बाहिरिए पनि उनी कविताबाट बाहिरिने छैनन् । पिंकीले आफूलाई अझ मजबूत बनाइँदै लग्नेछिन् । मञ्चबाट छुटेपछि मनबाट भने हामी छुट्ने छैनौँ । बेला बेलामा हाम्रो भेट भै नै रहन्छ भनी निर्णायकहरूले शुभकामनासहित बिदाई गरेका थिए ।
“यहाँबाट छुट्टिए पनि मेरो कवितप्रतिको यात्रा कहिल्यै छुट्टिँदैन । मेरो यात्रालाई अघि बढाउने प्रयास गरिरहन्छु,” मञ्चबाट बाहिरिँदै गर्दा उनले भनेकी थिइन् ।
द पाेएट आइडलबाट बाहिरिएसँगै आइडलको अनलाइन पार्टनर “साहित्यपोस्ट” र यात्रा पब्लिशिङ हाउसको तर्फबाट उपहारस्वरूप केही पुस्तकहरू पाएकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

