पाल्पा / हाम्रो परम्परा हाम्रो पहिचान भन्ने नाराका साथ लोकवार्ता परिषद् नेपालको आयोजना तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको संयोजनमा ११ औं लोकवार्ता सम्मेलन शनिबारदेखि पाल्पामा शुरू भएको छ ।
समुदायमा प्रचलनमा रहेका भाषा ,कला ,साहित्य , संस्कृति तथा सम्पदाको संरक्षण र सम्बर्द्वन गर्नु नै प्रमुख उद्देश्यले सम्मेलन शुरू गरिएको बताइएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंक खनालको प्रमुख आतिथ्यता तथा त्रिभुवन बहुमुखी क्याम्पसका क्साम्पस प्रमुख टंकप्रसाद भट्टराईको सभापतित्वका साथै प्रा. डा. भविश्वर पंगेनी, प्रा. डा. प्रेमकुमार खत्री,प्रा. डा. ध्रुवप्रसाद भट्टराई, प्रा डा, सावित्री मल्ल कक्षपति उपस्थितिमा उक्त कार्यक्रमको संचालन गरिएको थियो ।
शहीदप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय गान आरम्भ गरेर प्रमुख अतिथिले पानसमा दीयो बाली औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा प्रा. डा. माधवप्रसाद पोखरेलले उपस्थित सबैलाई न्यानो स्वागत गर्नुभयो । उहाँले संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पार्नुभयो ।
देशका सबैजसो जिल्लाबाट साथै भारतको दार्जलिङबाटसमेत कार्यपत्र प्रस्तुतिका लागि सहभागिता जनाइएको छ ।
कार्यपत्रका प्रस्तोता विद्वत् व्यक्तित्वहरूलाई खादा तथा पाल्पाली ढाकाटोपी लगाएर सम्मानित गरिएको थियो ।
कार्यपत्र प्रस्तुत गर्ने ६७ जना प्रस्तोताहरूमध्ये पाल्पाको त्रिभुवन बहुमुखी क्यामपसस्थित कार्यक्रममा १० कार्यपत्र प्रस्तुत हुने र बाँकी भ्रमणका सिलसिलामा पाल्पाका रानीमहल अर्गली, रिडी, गुल्मी सदरमुकाम तम्घास हुँदै अर्घाखाँचीको सन्धिखर्कमा प्रस्तुत हुने परिषद्का महासचिव प्रा. डा. ध्रुवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा कृष्णप्रसाद कोइरालाद्वारा ’’रुरु क्षेत्र एक प्रमुख धार्मिक पर्यटकीय क्षेत्र‘’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलका रुपमा रिडी र कालीगण्डकी नदीको दोभानका धार्मिक रुपले चिनिनुका साथै राजा मणि मुकुन्द सेनको शासनकालमा नदी स्नानका क्रममा प्रत्यक्ष रुपमा प्रकट भएका भगवान् ऋषिकेशको मन्दिर स्थापना गरिएको ठाउँलाई रिडीको नामले समेत चिन्ने गरिन्छ ।
सोही स्थानमा गुल्मी पाल्पा र स्याङ्जा जिल्लालाई एकसाथ जोड्ने पुलको निर्माणले पर्यटकीय तथा जनजीवन सहजता प्राप्त हुने देखिएको छ । यसैक्रममा प्रा.डा. सावित्री मल्ल कक्षपतिद्वारा ‘’नेवार समुदायले मनाउने गथामु:ग चर्हे‘’ विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा गौरवपूर्ण भूमिका निर्वाह गर्ने नेपालको सांस्कृतिक सम्पदालाई गहनता प्रदान गर्ने नेवार समुदायको सांस्कृतिक जीवनलाइ नेवारी समुदायले आफ्नो परिवार र समाजलाई कुनै पनि बिघ्नबाधा नआओस् भनेर गरिने विभिन्न अनुष्ठानमध्येको एउटा अनुष्ठान गथा:मुग वा घण्टाकर्ण संगीतमय सक्रिय र सजीव रुपमा मनाउँदै आइरहेको वर्षभरि मनाउने पहिलो पर्वका रुपमा चिनिन्छ ।
कार्यपत्र प्रस्तुत गर्ने क्रममा झपेन्द्र जिसीद्वारा ‘जीवन्त पाल्पाली संस्कृति – कडुवा गीत नृत्य’ विषयमा प्रस्तुत गरिएको थियो । यसै क्रममा रोहित ज्ञवालीद्वारा पाल्पाका ब्राम्हणको कुलायन पूजा,परंपरा र यस्को सांस्कृतिक तथा सामाजिक महत्वका बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कुलायन पूजा विधिअनुसार बलि चढ्ने नचढ्ने कसैको घरको माथिल्लो तल्लामा पूजा गर्ने कसैको भुईं तल्लामा र कसैको बाहिर पूजा गर्ने प्रचलनका बारेमा प्रकाश पारिएको छ ।
यसै क्रममा वि.सं. १८०६ मा अमरनारायण मन्दिर निर्माण गरिनुका साथै १८७८ मा कर्णेल उजीर सिंहले खड्जात्राको प्रचलन चलाएका ऐतिहासिकतालाई मन गहिरेले तानसेनको ऐतिहासिक धरोहर अमरनारायण मन्दिर नामक कार्यपत्रमा तथ्यात्मक रुपमा प्रस्तुत गर्नुभएको थियो भने मदन देरालीले पाल्पामा भएका मन्दिरहरू र मनाइने जात्राका सम्बन्धमा नेवारहरूले भीमसेनलाई कुल र पुज्यदेवताका रुपमा कलात्मक रुपमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्ने क्रममा प्रा. डा. भवेश्वर पङ्गेनीले ‘’पाल्पा र यसको गौरव‘’ पाल्पाको ऐतिहासिक तथा सांस्कृतिक महत्व’’का विषयमा ऐतिहासिक कुराहरूलाई रोचक रुपमा प्रस्तुत गरिएको थियो । यसैक्रममा ईश्वरीप्रसाद पोखरेलद्वारा ‘’गुल्मी अर्घाखाँची जिल्लामा स्थानीय समाजमा प्रचलित शकुन -अपशकुन‘’ विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
विष्णु घर्ती ‘भनभनेली’ले गुल्मेली घर्ती/भुजेलः ऐतिहासिक परिचय, सभ्यता र वर्तमान अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।
यसै क्रममा रुवि सत्याल बिडारीले सर्वहितकारी चूर्णको परिचय शीर्षकका कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले आफ्नो कार्यपत्रमा विभिन्न ३० प्रकारका जडिबुटी तथा भान्छामा प्रयोग गरिने विभिन्न औषधीय गुणसहितको सामग्री प्रयोग गरेर निर्माण गरिएको चूर्णले ग्यास्ट्रिक लगायतका रोगमा प्रभावकारी परिणाम दिएको र परिवारबाट प्राप्त ज्ञानको पुस्तान्तरणका क्रममा आफ्नो जिजुआमाका पालादेखि क्रमशः सीप पुनर्प्रयोग हुँदै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै टंक खनालले हाम्रा कतिपय परम्परागत शैली, आचरण र ब्यवहार वैज्ञानिक रुपमा सम्बन्धित छन् कि छैनन् खोज हुनुपर्ने बताउँदै आधुनिक बन्ने क्रममा आफ्ना मौलिक पहिचान र सभ्यता बिर्सदै गइरहेकामा हाम्रा कतिपय लोक संस्कृति लोप हुने अवस्थामा रहेकाले लोकवार्ताका यस्ता सार्थक प्रयासले मानिसमा जागरुकता बढाउनुका साथै सांस्कृतिक पुस्तान्तरणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्कार र संस्कृति एवं हाम्रा मौलिक पहिचानलाई जीवन्त रुपमा जोगाउँदै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न, कला संस्कृतिको विकास गर्दै ज्ञान लिन र दिनका लागि ७८ वर्षको उमेरमा पनि जिल्ला जिल्लामा भ्रमण गर्दै प्राप्त हुने ज्ञान अनुभव र सुझाव र निष्कर्षलाई पुस्तकमा प्रकाशित गर्दै जानु ,समुदायमा रहेका विविधतालाई संकलन संरक्षण र अभिलेखका रुपमा सुरक्षित गर्नु नै लोकवार्ताको प्रमुख अभियान रहेको बताउँदै लोक वार्ता परिषद्का अध्यक्ष प्रा. डा. प्रेमकुमार खत्रीले समाजमा ब्याप्त अक्कल बिनाको विदेशी संस्कृतिको नक्कल घातक हुने बताउनुभयो ।
- पाल्पाबाट जयराम बिडारीको रिपोर्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

