विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गर्न लागेको विश्वव्यापी खुला गजल प्रतियोगिताका लागि समय थप गरिएको छ । एक साता लामो समय थपिएपछि गजल पठाउने आज अन्तिम दिन बन्न पुगेको छ । आयोजक समूहले गजलकारहरूलाई सहभागिताका लागि अनुरोधसमेत गरेको छ ।
प्रतियोगितामा प्रेषित गजल नेपाली भाषा र देवनागरी लिपिमा लेखिएको हुनुपर्ने, गजल कम्तीमा पाँच र बढीमा सात सेरमा रचिएको हुनुपर्ने, प्रतियोगितामा प्रेषित गजलमा तखल्लुस (गजलकारको छोटो नाम/उपनाम) प्रयोग गर्न नपाइने, कुनै औपचारिक कार्यक्रममा वाचन नगरिएको, समाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रकाशित नभएको हुनुपर्ने, साथै प्रतियोगीतामा प्रेषित गरिएको गजल नतिजा सार्वजनिक नभएसम्म कहीँ कतै औपचारिक कार्यक्रममा वाचन गर्न र सामाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रकाशित गर्न नपाइने तथा यस्तो गरेको पाइएमा त्यो गजल अमान्य हुने बताइएको छ ।
गजलको सिद्धान्तलाई अवलम्बन गरेर रचिएको गजल मात्र मूल्याङ्कनमा पर्ने बताइएको छ ।
गजल पठाउने अन्तिम मिति फेब्रुअरी १५ तारिक २०२३ रहेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने गजलका स्रष्टालाई प्रमाणपत्रसहित रु, २५०००/ (पच्चीस हजार)/प्रमाणपत्र, २०,०००/ (बीस हजार)/प्रमाणपत्र, १५०००/ (पन्द्र हजार)/प्रमाणपत्र तथा सान्त्वना पुरस्कारस्वरूप रु. १०/१० हजार, प्रमाणपत्र २ जनालाई प्रदान गरिने बताइएको छ ।
गजलका स्रष्टाले आफ्नो स्पष्ट ठेगाना र ल्यान्डलाइन फोन वा मोबाइल नम्बर उल्लेख गर्नुपर्ने र प्रतियोगिताका लागि प्राप्त गजलहरूको मूल्याङ्कन हेतु विज्ञहरूको मूल्याङ्कन समित गठन गरिने जनाइएको छ ।
प्रतियोगिताका लागि प्राप्त गजलहरू मूल्याङ्कनका लागि पठाउँदा गजलकारको नाम, ठेगाना हटाई कोड नं. कायम गरिनेछ र गजल प्रतियोगितामा प्रेषित उत्कृष्ट गजलहरू प्रकाशित गरिने बताइएको छ ।
गजललाई gfnlcentral@gmail.com तथा sahityan48@gmail.com मा पठाउन सकिने आयोजक संस्थाले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।