मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको ३० औँ वार्षिकोत्सव तथा २८७ औँ साहित्य शृङ्खलाका अवसरमा दुई दिने ‘बकैया कला-साहित्य महोत्सव’ सुरु भएको छ ।
पहिलो दिनअन्तर्गतको कार्यक्रम बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । आफ्नो मन्तव्यका क्रममा बोल्दै खत्रीले बकैयामा कला, साहित्य र संस्कृतिको क्षेत्रमा पालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बकैयालाई कला-साहित्यको क्षेत्रमा अझै अगाडि बढाउन झरनाको भूमिकाको प्रशंसा गरे ।
उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष गायत्री रूपाखेतीको सभाध्यक्षता तथा सचिव मसान उपासकले कार्यक्रमको सहजीकरण गरेका थिए ।
दोस्रो सत्रमा भएको चित्रकला प्रतियोगिताको अभिभावकत्व जनक माविका प्रधानाध्यापक माधव बानियाँले गरेका थिए भने सहजीकरण झरनाका कोषाध्यक्ष कृष्ण घतानीले गरे । चित्रकला प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका ६२ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । चित्रकला प्रतियोगिताको निर्णायकमा सूर्य सन्यासी रहेका थिए ।
आजकै अर्को सत्रमा विद्यालय स्तरीय कविता प्रतियाेगिता सम्पन्न भएको छ । यस सत्रको सहजीकरण संस्थाकी सदस्य अमृता लामिछानेले गरिन् भने अभिभावकत्व बकैया ७ का अध्यक्ष मानबहादुर सितानले गरे । कविता प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कविता प्रतियोगितामा निर्णायकको रूपमा जनक माविका शिक्षक धर्मप्रसाद दाहाल र प्रभात माविका शिक्षक कुमार स्याङ्बो रहेका थिए ।
आज सम्पन्न भएका विभिन्न सत्रहरूमा बकैया-३ का वडाअध्यक्ष भुमलसिंह घलान, झरनाकाा संरक्षक उद्धवप्रसाद सापकोटा, भरतप्रसाद सापकोटा, जनक माविमा बिव्यस अध्यक्ष सुन्दर थिङ लामा, बुद्ध मावि हात्तीसुँडेका शिक्षक हरिप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम भोलि पनि निरन्तर चल्ने र दोस्रो दिनका विभिन्न सत्रहरूमा स्रष्टा सम्मान, जिल्लाभित्र र जिल्लाबाहिर युवापुस्ता तथा अग्रज साहित्यकारहरुको कविता, मुक्तक र गजल प्रस्तुति, बहस, स्थानीय सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, विमोचन कार्यक्रम आदि रहने रहने संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

