‘डा. सुदीप अर्याल सामाजिक रूपान्तरण पुरस्कार–२०७९’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालाई प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच एक लाख ११ हजार १ सय ११ नगद राशिसहितको उक्त पुरस्कार समर्पण गरिएको हो ।
डा. सुदीप अर्यालका मातापिता सरस्वती अर्याल र पूर्णप्रसाद अर्यालले डाक्टर छोराको स्मृतिमा पुरस्कार कोषको स्थापना गर्दै पहिलोपटक सो पुरस्कार डा. कोइरालालाई प्रदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार भुवनहरि सिग्देलले दोसल्ला ओडाएर डा. कोइरालालाई प्रमाणपत्र तथा नगद राशि प्रदान गरेका थिए ।
सोही समारोहमा डा. सुदीप अर्यालद्वारा लिखित उपन्यास ‘क्रान्ति’को पनि लोकार्पण गरियो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार भुवनहरि सिग्देलले डा. सुदीप यो धरामा सशरीर नभए पनि उनी उपन्यास ‘क्रान्ति’मा जीवित रहेको, उनको नामको पुरस्कारमा जीवित रहेको बताए । उनले भने, ‘डा. सुदीपले यस उपन्यासमा नयाँ प्रयोग गरेका छन् । यस उपन्यासबाट धेरै कुरा सिक्न मिल्छ ।’
पुरस्कृत व्यक्तित्व डा. भगवान् कोइरालाले एकआपसमा मिलेर गएमा समाज रूपान्तरणका लागि धेरै गर्न सकिने बताए । सामाजिक काम गर्दै जाँदा त्यसले सार्थक स्वरूप लिने उल्लेख गर्दै उनले डा. सुदीपको स्मृतिमा असल काम थालिएको बताए ।
साहित्यकार प्रतीक ढकालले आफू जानुपूर्व डा. सुदीपले ‘क्रान्ति’मा युवाहरूको कथा अमर कृतिका रूपमा छोडेर गएको बताए । मन्तव्यका क्रममा उनले पुरस्कृत व्यक्ति डा. कोइराला र उपन्यास ‘क्रान्ति’का बारेमा पनि बोले ।
कार्यक्रममा समालोचक महेश पौडेलले डा. सुदीप अक्षरहरूमा सधैँ जीवित रहिरहने उल्लेख गर्दै डा. सुदीपको उपन्यासमा आजको समाजको मनोविज्ञान बोलेको बताए ।त्स्यतै, डा. सुदीपका गुरु प्रा.डा. विद्यादेव शर्मा, उपन्यासको प्रमुख पात्रका रूपमा रहेकी रिङ्कु वाग्ले, उपन्यासका प्रकाशन संस्था पेज टर्नरका भरत पौडेल र भवानी खतिवडाले बोलेका थिए ।
पेज टर्नर र पर्वतीय साहित्य समाजद्वारा आयोजित कार्यक्रममा डा. सुदीपकी माता सरस्वती अर्यालले उपन्यासमा लेखेको मन्तव्य वाचन गरेर सुनाइएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।