लघुकथा समाज नेपालले कथा र लघुकथा विधाका महत्त्वपूर्ण सम्मान तथा पुरस्कार एक भव्य समारोहका बिच वितरण गरेको छ। समाजका सचिव नवराज रिजालले स्वागत गरेपछि यस वर्षको सावित्री केशर कथा सम्मान वरिष्ठ कथाकार बाबा न्यौपानेलाई प्रदान गरिएको छ । न्यौपानेलाई दोसल्ला र सम्मानका साथमा नगद रू. २१ हजार प्रमुख अतिथि प्राडा. लक्ष्मणप्रसाद गौतमबाट प्रदान गरियो।
त्यस्तै, यस वर्षको बाटुली खिलराज लघुकथा सम्मान पोखरामा रहेर लघुकथा उन्नयनमा समर्पित लघुकथाकार कल्याण पन्तलाई प्रदान गरिएको छ । दोसल्ला ,सम्मानपत्रका साथमा पन्तलाई नगद रू. २१ हजार प्रदान गरिएको छ।
सम्मान प्राप्त गरेपछि कथाकार न्यौपानेले भने, “अहिलेको प्रविधिको युगभन्दा धेरै पहिले अटोग्राफको चलन थियो । मुक्तक र टुक्रा लेख्दा लेख्दै लेख्ने बानी पर्यो । गुरुप्रसाद मैनालीको नासो र विश्वेश्वरप्रसाद कोईरालाको दोषी चस्मा पढेपछि कथामा रुचि जगायो । कथा लामो हुन्छ । मलाई त्यही नै सजिलो लाग्छ । म त्यति सक्रिय नभएको अवस्थामा पनि सम्झेर सम्मान पुरस्कार प्रदान गर्ने दाता र निर्णायकप्रति आभार व्यक्त गर्दछु ।”
त्यस्तै अर्का सम्मानित स्रष्टा प्रतिभा पन्तले भने, “नेपाली साहित्य सिण्डिकेटबाट अछुतो छैन, राजधानी र मोफसलको दूरी भएकै बेला पनि समाजले मलाई सम्झिएकोमा खुसी छु । पोखरामा रहेर लघुकथामा सक्रिय छु । हरेक महिनाको दोस्रो शनिबार लघुकथा लेख्ने र लेखाउने अनि वाचन गरिन्छ । लघुकथा व्यंग्यात्मक र प्रतिकात्मक हुनु पर्दछ ।”
पुरस्कार संस्थापक लघुकथाकार हरि थापाले सम्मानित व्यक्तित्वहरू राम्रा स्रष्टाहरू भएकोमा खुसी व्यक्त गरेका थिए । प्रमुख अतिथि प्राडा. लक्ष्मणप्रसाद गौतमले भने, “लघुकथाको मानक सिद्धान्त तयार गरे बापत समाजले मलाई २०७३ सालमा यो सम्मान पुरस्कार प्रदान गरेको थियो । यो सम्मान पुरस्कार कल्याण पन्त जस्तो सक्रिय व्यक्तिले पाउँदा अत्यन्तै खुशी लागेको छ। २०७३ सालमा कथाकार परशु प्रधानले पाउनु भएको पहिलो सम्मान पुरस्कार बाबा न्यौपानेले पाउनु भएको छ । उहाँ बामनप्रसाद न्यौपाने हुनुहुन्छ । हामीले कथाकार बाबा न्यौपानेलाई सम्मान गरेका हौं। बाबा न्यौपाने थोरै लेखेर पनि गहिरो प्रभाव छाड्ने पोषण पाण्डे र खिलध्वज बिष्ट जस्तो हुनुहुन्छ । यस्ता साधकलाई सम्मान गर्न पाउँदा समाज आफैं सम्मानित भएको छ ।”
समाजका अध्यक्ष गोपाल अश्कको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन श्रीबाबु कार्कीले गरेका थिए । कार्यक्रममा जय छाङ्छा, ध्रुव मधिकर्मी, श्रीओम श्रेष्ठ रोदन , डा. विदुर चालिसे, अशेष मल्ल, नारायण तिवारी ,कृष्ण प्रसाईं ,विश्वविमोहन श्रेष्ठ ,राजेश खनाल, भाउच पोखरेल,सानोभाइ पण्डित ,रामकुमार पण्डित ,दीपक लोहनी ,मन्दिरा मधुश्री,तुलसीहरि कोईराला ,तारा के सी,सुमन सौरभ,सुषमा मानन्धर ,दीनानाथ पण्डित ,भैरवी थापा ,टेकराज भुषाल,राजाराम थापा ,छविरमण सिलवाललगायतको उपस्थिति रहेको थियो ।
स्रोतः शब्दपथ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।