‘स्कुलमा कविता’अन्तर्गत साविक महेन्द्रनगर गाविसको चक्रघट्टी अडिसन महेन्द्र मा.वि.मा सम्पन्न भएको छ । सो अडिसनबाट वसन्त ऋतु मा.वि.का आर्यन निरौला र महेन्द्र मा.वि. चक्रघट्टीका युजिना श्रेष्ठले उत्कृष्ट १० को टिकट काट्न सफल भएका छन् भने कोशी मा.वि.का चिना कटुवाल तेस्रो बन्न सफल भएकी छन् ।
साविकको महेन्द्रनगर गाविसभरि रहेका माध्यमिक विद्यालयहरुबिच प्रतिस्पर्धा भएको थियो । बराहक्षेत्र – ७ का वडाअध्यक्ष कपिल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशेष कविका रुपमा बेलबारीका कवि रेखा सुवेदीले “आमा म पनि स्कुल जान्छु” र बराहक्षेत्रका स्थानीय विशेष कविको रुपमा सुबिन विश्वकर्माले “कठघराको बयान” शीर्षकको कविता वाचन गरेका थिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि कपिल आचार्यले अबका जनप्रतिनिधिहरु साहित्य र सिर्जनाप्रति उदार हुँदै अघि बढ्नुपर्ने बताए । “म साहित्य र सिर्जनामा पहिलेबाटै आफूले सक्दो साथ सहयोग गर्दै आएको छु। स्वर्णीम साहित्य समाजको हरेक योजनाहरु समय सान्दर्भिक हुने गर्दछ । यसर्थ पनि यो समाजलाई साथ सहयोग रहनेछ ।” मन्तव्यको क्रममा उनले थपे ।
समाजका अध्यक्ष प्रकाश दिप्साली राईको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष शरण लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका सन्चालन सचिव लक्ष्मण कटुवालले गरेका थिए ।
अर्को अडिसन आगामी फागुन ०६ गते साविकको प्रकाशपुर र मधुवन गा.वि.स.को संयुक्त अडिसन फागुन १३ गते प्रकाशपुर मा.वि.मा हुनेछ । कार्यक्रमका विजेताले रु. १० हजारका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः पाँच हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।