२०७९ साल फाल्गुन ०५ गते शुक्रबार बुक क्लब भक्तपुरको आयोजनामा ‘मेरा सोभियत सम्झनाहरु’ पुस्तकका लेखक ई. रामविन्दु श्रेष्ठसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो । पठन संस्कृतिलाई प्रर्वद्धन गर्ने अभियानअन्तर्गत बुक क्लब भक्तपुरले प्रायः यस्ता कार्यक्रमहरू नियमित मासिक संवादको रूपमा गर्दै आएको छ ।
ख्वप छें खौमा, भक्तपुरमा सम्पन्न उक्त कार्यक्रममा प्रस्तोता ई. नीरज लावजु र उच्चशिक्षा हासिल गर्ने क्रममा ६ वर्ष सोभियत संघको अनुभव बटुलेका लेखक रामविन्दु श्रेष्ठबीच तत्कालीन सोभियत संघको समाजवादी व्यवस्था, सोभियत समाज र संस्कृति, त्यहाँको गौरवशाली इतिहास, उपलब्धिहरू र सोभियत संघको विघटनसम्बन्धी घनीभूत अन्तरक्रिया भयो ।
अन्तरसंवादको क्रममा लेखकले सन् १९५७ देखि नेपाली छात्रहरू डाक्टर, इन्जिनियरिङ अध्ययन गर्न सो.स. जान सुरु गरेको र यो पुस्तक त्यो देशको सम्झना लेखिएको हो, जसको दार्शनिक पृष्ठभूमिमा एसिया, अफ्रिका ल्याटिन अमेरिकाका गरिब देशका लाखौं प्रतिभावान् विद्यार्थीहरूले उच्च शिक्षा प्राप्त गर्ने अवसर पाएका थिए भन्नु भयो ।
लेखकको शब्दमा दोस्रो विश्व युद्धले क्षतविक्षत भएर शून्यमा पुगेको मुलुकलाई पुर्ननिर्माण गरी अन्तरीक्षको उचाइमा पुर्याउनु, विज्ञान र प्रविधिको क्षेत्रमा श्रेष्ठता हासिल गर्नु; निःशुल्क र अनिवार्य शिक्षा तथा स्वास्थ, सबैलाई रोजगारी र सामाजिक सुरक्षा त्यहाँका गौरव गर्न लायकका विषयहरू थिए ।
सोभियत कालको पछिल्लो चरणमा विभिन्न राजनैतिक, विचारधारात्मक, अर्थतन्त्र र साँस्कृतिक क्षेत्रमा क्षयीकरण सुरु भएको तथापि परिवर्तनको हुरीले समाजका हरेक अंगहरुलाई छोएको बेला पनि यदाकदा भेटिएका “सोभियत साँचोमा ढालिएका” मान्छेहरुमा साक्षात्कार हुने सरलता, समाजवादी सौन्दर्यताको सुवास र विश्वमा चलिरहेको इतिहास तोडमरोड गर्ने कृतघ्नताको हुरीले आफूलाई पुस्तक लेख्न प्रेरित गरेको बताउनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।