डिजी शर्मा ।। हरेक दुई महिनाको अन्तरमा झापामा हुँदै आएको गजल वाचन कार्यक्रम “शेर-अन्दाज”को पाँचौंं शृङ्खला शनिबार सम्पन्न भएको छ । झापाको दमकमा रहेको कदम थ्रिएटरले आयोजना गर्दै आएको “शेर-अन्दाज”को योपटकको शृङ्खलामा गजलकारद्वय लालकाजी श्रेष्ठ र अनन्त अनुरागको विशेष प्रस्तुति रहेको थियो ।
गजलकारद्वय श्रेष्ठ र अनुरागले सात-सातवटा गजल वाचन गर्नुभएको थियो । जसमा तीन-तीनवटा गजल तरन्नुममा वाचन गरिएको थियो ।
कार्यक्रममा आयोजक कदम थ्रिएटरका अध्यक्ष हेमन्त बुढाथोकी र काव्य विभागका अध्यक्ष सुमन लिङ्देनले अतिथि स्रष्टाद्वय श्रेष्ठ र अनुरागलाई माला लगाएर सम्मान-पत्र प्रदान गर्नुभएको थियो ।
करिब डेढ सय गजल पारखी दर्शकहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सपना लिम्बूले गर्नुभएको थियो ।कार्यक्रम कदम थ्रिएटरको हलमा दिउँसो २:३० बजेबाट सुरु भएको थियो ।
धादिङ स्थायी घर भई हाल चितवन बस्दै आउनु भएका गजलकार लालकाजी श्रेष्ठ गायक तथा सङ्गीतकार पनि हुनुहुन्छ । उहाँले लामो समयदेखि सङ्गीत संयोजनको काम पनि गर्दै आउनु भएको छ ।
यता धनकुटा निवासी गजलकार अनन्त अनुराग पेशाले शिक्षक हुनुहुन्छ । उहाँ लामो समयदेखि गजल लेखनमा सक्रिय रहँदै आउनु भएको छ ।
गजल लेखनमा प्रोत्साहन र गजलको विकासमा टेवा पुर्याउने उदेश्यकासाथ आयोजना गरिँदै आएको कार्यक्रमको छैठौँ शृङ्खला आगामी बैशाख महिनाको पहिलो शनिबार आयोजना गरिने कार्यक्रम संयोजक तथा गजलकार लोकेन्द्र बञ्जाराले जानकारी गराउनु भयो ।
पारिश्रमिकसहित गजलकारहरुको विशेष गजल वाचनको शृङ्खला “शेर-अन्दाज” गत असार ३ गते शुक्रबारबाट सुरु भएको थियो । साहित्यपोस्ट मिडिया पार्टनरको रुपमा रहँदै आएको सो कार्यक्रममा अन्य विभिन्न संघसंस्थाले आर्थिक लगायतका सहयोग पुर्याउँदै आएका छन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।