पोखराको राष्ट्र बैंक चोकस्थित सहिदपार्कमा रहेको घनश्याम ढकाल स्मृति कक्षमा प्रगतिवादी साहित्यकार घनश्याम ढकालको ११ औं स्मृति दिवसका अवसरमा विचार मन्थन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कथाकार, कवि, उपन्यासकार, निबन्धकार एवं मार्क्सवादी चिन्तक ढकालका कृतिहरुमा उजागार भएको सौन्दर्यता र सांस्कृतिक पक्षका आयामहरुका बारेमा प्रकाश पारिएको थियो ।

घनश्याम ढकाल स्मृति प्रतिष्ठान र गण्डकी साहित्य संगमले आयोजना गरेको उक्त कार्यक्रममा ढकालका विविध आयामका बारेमा सिलसिलेवार रुपमा परिचर्चा गरिएको थियो ।  समाजवादी आन्दोलन अघि बढाउन र सामाजिक न्यायसहितको उद्देश्य प्राप्तिका निम्ति विचार निर्माण प्रकृयामा साहित्यकार ढकालको दृष्टिकोण निकै उपयोगी रहेकोमा वक्ताहरुले जोड दिनुभएको थियो ।

माक्र्सवादी चिन्तक एवं विश्लेषक निनु चापागाइँले ढकालका कृतिहरुमा उल्लेखित सांस्कृतिक चिन्तनका बारेमा परिचर्चा गर्नुभयो । डा. कृष्णराज अधिकारिले ढकालका कथा कृतिहरुका बारेमा चर्चा गर्नुभयो । डा. अमर गिरिले ढकालको कृतिहरुमा उल्लेखित मार्क्सवादी सौन्दर्यशास्त्रका बारेमा परिचर्चा गर्नुभयो ।

कवि साहित्यकार कल्पना चिलुवालले घनश्याम ढकालको कृति र जिवनीका बारेमा जानकारी गराउनुभएको कार्यक्रमको सन्चालन  भिम रानाभाटले गर्नुभएको थियो ।

प्राध्यापनसँगै वर्गीय आन्दोलनका पक्षमा उभिनुभएका प्रगतिवादी लेखक साहित्यकार घनश्याम ढकालका सम्पादित सहित विविध २० वटा कृति प्रकाशित भएकाछन् । उहाँका १६ वटा लिखित र ४ वटा सम्पादित कृतिहरु रहेका छन् ।

स्यङ्जामा जन्मिएर पोखरा कर्मथलो बनाउनु भएका ढकाल लेखक तथा जनसांस्कृतिक महासंघको अध्यक्ष समेत रहनुभएको थियो । जनयुद्धका क्रममा पुत्रशोकमा पर्नुभएका ढकालको ०६९ सालमा जनयुद्ध दिवस मनाउने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।