पाल्पाली स्रष्टा पुष्कर ‘अथक’ रेग्मीका दुई कृति एकसाथ सार्वजनिक भएका छन् । शीत काव्य समाज, वागमती प्रदेश तथा षड्ऋतु काव्य समाज नेपालको आयोजनामा काठमाडौंको गोंगबुमा आयोजित एक कार्यक्रमका बीच फागुन ५ गते सार्वजनिक गरिएका दुई कृति मध्ये ‘अर्ती’ शीत काव्यात्मक बालकथा कृति हो भने ‘अक्षमाला’ षड्ऋतु बालकाव्य कृति हो ।
शीत काव्य समाज वागमती प्रदेशका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा सम्पन्न कृति विमोचन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा. नं. ११ का निवर्तमान वडा अध्यक्ष उत्तम अधिकारी हुनुहुन्थ्यो ।
विमोचित कृतिहरू नेपाली साहित्यको भण्डारमा झण्डै दुई दर्जन कृति प्रदान गरेका अथक स्रष्टा रेग्मीका २१औंँ र २२औँ कृति हुन् । दुबै कृतिको समीक्षा पुराणवाचक, साहित्यकार एवम् समीक्षक पण्डित नारायणाचार्य कौशिकले गर्नुभएको थियो । उहाँले दुबै कृतिको पद्यात्मक शैलीमा सटीक समीक्षा गर्नुभएको थियो जसले उपस्थित सबैलाई मुग्ध बनाएको थियो ।
कार्यक्रममा भूगोल साहित्य समाजका अध्यक्ष एवम् ‘छेस्का कविता’का परिकल्पनाकार विनोद नेपाल, षड्ऋतुका परिकल्पनाकार सीता विष्ट कार्की, स्रष्टा चन्द्रा न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कल्पना भट्टराईले कृतिभित्रका केही रचना वाचन गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरूले कृतिकारलाई बधाई दिनुको साथै कृति सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा स्रष्टा देबेन्द्रराज शाक्यको षड्ऋतु लघुतम् खण्डकाव्य कृति ‘गोधूलि’को विमर्श गरिएको थियो । कृतिकार शाक्य र ‘गोधूलि’ बारे डा शान्ता शाक्यले सङ्क्षिप्त चर्चा गर्नुभएको थियो ।
आगन्तुकहरूको स्वागत दामोदर ढकाल ‘दीपक’ले गर्नुभएको कार्यक्रमको सञ्चालन ‘जिज्ञासु’ पौडेल तिलकले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।