हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा ‘सहिद’ विषयक खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । पूर्व सांसद् तथा बामपन्थी विचारक केदार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम गत फागुन ५ गते हेटौंडास्थित सङ्गम पार्टी प्यालेसमा भएको हो ।

सोही कार्यक्रममा कवि निमेष निखिल संयोजक रहेको, कविद्वय छवि अनित्य र भावना सापकोटा सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको मूल्याङ्कनको आधारमा उत्कृष्ट कविता र कविहरूको घोषणा गरिएको छ । खुला कविता प्रतियोगितामा समर्पण न्यौपाने प्रथम, स्वस्तिका दाहाल द्वितीय, रुपक घलान तृतीय भए भने इलिसा पराजुली, कृतिका लौडारी र सरोजकुमार साहले सान्त्वाना पुरस्कार प्राप्त गरे । पुरस्कारको राशि क्रमशः ७ हजार ५ सय, ५ हजार ५ सय, ३ हजार ५ सय र १ हजार (तीन जना) का साथमा प्रमाणपत्र रहेको थियो ।

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्षा इन्द्र नेपालको अध्यक्षातामा सञ्चालित प्रतियोगितामा प्रतियोगी कविहरूका ७३ वटा कविता समावेश भएका थिए भने दर्जन बढी अप्रतियोगी कविहरूले आफ्नो कविता वाचन गरेका थिए । त्यस्तै, कार्यक्रमको सहजीकरणा प्रतिष्ठानका सचिव सुवास खनालले गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्व, कवि तथा साहित्यकार एवं स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।