ड्यालस (टेक्सास), फेब्रुअरी १२ / युलेस सिटी काउन्सिल सदस्य टीका पौडेलको अग्रसरतामा अमेरिका-नेपाल दौत्य सम्बन्धको ७५ औँ वार्षिकोत्सव कार्यक्रम हिजो (फेब्रुअरी ११ का दिन) भव्य रुपमा सम्पन्न भयो । युलेस सिटीले आयोजन गरेको यस कार्यक्रममा ड्यालस-फोर्टवोर्थका नेपालीहरूका साथ अमेरिकन र देशी समुदायको बाक्लो सहभागिता थियो । अमेरिकामा नेपालीहरूको अस्तित्व, पहिचान र गौरवसँग गाँसिएको यस्तो प्रकारको कार्यक्रम टेक्ससमा पहिलो पटक भएको थियो ।

नेपाली परम्पराअनुरुप पन्चकन्याहरूद्वारा अतिथिको स्वागत तथा दीप प्रज्ज्वलनबाट सुरु भएको सो कार्यक्रममा नेपालको संक्षिप्त परिचय दिने स्लाइड शोका अतिरिक्त नेपाली गीत-नृत्यहरू प्रस्तुत गरिएका थिए ।

सिटीका कार्यबाहक मेयर एडी प्राइस, सिटी प्रहरी प्रमुख माइक ब्राइन, सिटी फायर ब्रिगेड प्रमुख चांक बेन्नेट, सिटी म्यानेजर लोरेट्टा गेट्चेल तथा यूलेस सिटीका काउन्सिल सदस्यहरू लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा विभिन्न वक्ताले अमेरिका-नेपाल सम्बन्धको इतिहास, आवश्यकता तथा मात्त्वको बारेमा चर्चा गरेका थिए ।

विशेषतः प्रोफेसर बब हप्किन्स र टेक्सास तल्लो सदनका सदस्य सलमान भोजानीले नेपाली समुदायसितको संलग्नता, सहकार्य तथा सम्बन्धबारे आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा नेपाली समुदायका तर्फबाट नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, पूर्व अध्यक्ष दिनेश शर्मा, नेपाली मन्दिरकी अध्यक्ष सीता सापकोटा र कार्यक्रम संयोजक विजय भुषालले कार्यक्रमको गरिमाको चर्चा गर्नु हुँदै कार्यक्रम आयोजन गरेकोमा युलेस सिटीलाई हार्दिक धन्यवाद दिनु भयो ।

सो कार्यक्रममा स्रष्टा साँझ अमेरिकाका तर्फबाट कार्यवाहक अध्यक्ष बैकुण्ठराज आचार्यले नेपाली स्रष्टाका उल्लेखनीय पुस्तकहरू पुस्तकालयमा राख्न युलेस सिटीका कार्यवाहक मेयर तथा युलेस लाइब्रेरी प्रमुखलाई उपहारस्वरुप प्रदान गर्नु भयो । दुवै देशका बौद्धिक क्षेत्रलाई जोड्ने स्रष्टा साँझ अमेरिकाको उद्देश्यअनुरुप करिब एक महिनाअघि काउन्सिल सदस्य टीका पौडेल र स्रष्टा साँझ अमेरिकाका कार्यवाहक अध्यक्ष बैकुण्ठराज आचार्य र सिटी लाइब्रेरी प्रमुख शेरी नाइटबीच लाइब्रेरीको अन्तर्राष्ट्रिय सेक्सनअन्तर्गत नेपाली पुस्तकहरू राख्ने विषयमा वार्ता गरेका थिए ।

लाइब्रेरीलाई नेपाली पुस्तकहरू उपलब्ध गराउने जिम्मा स्रष्टा साँझले लिने सम्झौता भएको थियो । त्यसैको पहिलो कदमको रुपमा हिजो पुस्तकहरू उपहारस्वरुप प्रदान गरिएको थियो ।

युलेस सिटी लाइब्रेरीबाट थालनी भएको यो अभियान टेक्सासका अन्य शहरका पुस्तकालयहरूमा क्रमशः विस्तार गर्दै लैजाने र नेपालका स्रष्टा तथा पुस्तकालयसँग आपसी समन्वय गरी अमेरिकामा नेपाली साहित्यको पहुँच वृद्धि गर्ने स्रष्टा साँझ अमेरिकाको नीति रहेको जानकारी पनि आधिकारिक रुपमा प्राप्त भएको छ ।