अन्तर्राष्ट्रिय कण्डम दिवसको उपलक्ष्यमा वीर अस्पतालले प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गरेको छ । सो अवसरमा कण्डम तथा स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा सहभागीहरूले कविता वाचन गर्नुभएको थियो ।

प्रतियोगितामा काठमाडौँ मोडल अस्पताल स्कुल अफ नर्सिङ कलेजका रजनी तामाङ प्रथम, वीर अस्पताल नर्सिङ क्याम्पसका उर्मिला मानन्धर द्वितीय र कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालका भगवती थपलिया तृतीय हुनुभयो भने काठमाडौँ मोडेल अस्पताल स्कुल अफ नर्सिङ कलेजकै रञ्जना गिरीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

साहित्यकार ध्रुव मधिकर्मीले कविता प्रतियोगिताको मूल्याङ्कनको बारेमा बोल्दै विचार र अनुभूति महत्त्वपूर्ण हुँदाहुँदै पनि कवितामा शिल्प प्रस्तुति र संरचनाको पनि भूमिका हुने बताउनुभयो ।

विद्या बज्राचार्य, ध्रुव मधिकर्मी, सिन्धु गौतम र डा. दीपक मल्लको मूल्याङ्कन समितिले कविताको चयन गरेको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उप–कुलपति, प्रा.डा. देवनारायण शाहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ए.एच.एफ.नेपाल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रह्यो ।