प्रेम दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पोर्चुगल शाखाले भर्चुअल “भ्यालेन्टाइन विशेष साहित्य उत्सव-२०२३” सम्पन्न गरेको छ ।

अनेसास पोर्चुगलको फेसबुक पेजमार्फत प्रसारित कार्यक्रममा ५ जना कवि, गजलकारहरूको विशेष रचना वाचन रहेको थियो । साथै आयोजक अनेसास पोर्चुगलका तर्फबाट पनि तीन जना सर्जकले आ-आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा कवि/पत्रकार जनक कार्की, कवि छविना लुङ्गेली मगर, गजलकार/मुक्तककार रोमा लम्साल, कवि मनिषा तिवारी र कवि डि जि शर्मा अतिथि स्रष्टाको रुपमा आमन्त्रित हुनुहुन्थ्यो ।

गजलकार लम्सालले केही प्रेमिल मुक्तकसहित गजल वाचन गर्नुभएको थियो भने अन्य स्रष्टाले दुई चरणमा गरि दुई-दुई ओटा प्रेमिल कविता वाचन गर्नुभएको थियो ।

आयोजक अनेसास पोर्चुगलको तर्फबाट मुक्तककार सबी श्रेष्ठ, कवि एन बि अञ्जान र कवि गोमा रेग्मीले पनि आ-आफ्नो सिर्जना सुनाउनु भएको थियो ।

कार्यक्रमको सञ्चानल मुक्तककार सबी श्रेष्ठले गर्नुभएको थियो भने उहाँलाई कवि गोमा रेग्मीले पनि सञ्चालनमा सहयोग पुर्याउनु भएको थियो । कवि एन बि अञ्जानले कार्यक्रममा प्राविधिक सहजीकरणको भूमिका निर्वाह गर्नु भएको थियो ।

अतिथि पाहुनामध्ये कवि छविना मगर यतिबेला चर्चाको विषय बनिरहेको “द पोइट आइडल” को उत्कृष्ट १४ मा पुग्न सफल कवि हुनुहुन्छ । गत बिहीबार मात्रै उहाँ आइडलको मञ्चबाट बाहिरिनु भएको हो । त्यसैगरी कवि मनिषा तिवारी पनि पोइट आइडलको फिजिकल अडिसनको दोस्रो चरणसम्म पुग्नु भएको थियो ।

विभिन्न सन्दर्भमा विभिन्न स्रष्टाहरूलाई जोडेर विशेष फेसबुक लाइभ कार्यक्रम आयोजना गर्दै आएको अनेसास पोर्चुगलको “अनेसास अन्तरङ्ग” को यो छैटौँ शृङ्खला हो ।