
नेपाली साहित्य समाज क्यानडाको हालै सम्पन्न अधिवेशनले समाजका अध्यक्ष खेम गुरागाईंलाई अर्को कार्यकालका लागि पुनः अध्यक्षमा निरन्तरता दिने गरी सर्वसम्मत रूपमा नयाँ कार्य समितिको चयन गरिएको छ ।
गत शनिबार आयोजित क्यानडाका साहित्यिक स्रष्टाहरूको भर्चुअल अधिवेशनले नयाँ कार्य समितिको महासचिवमा टोरोन्टोका मोहन खरेललाई नै दोहोर्याएको छ।
नेपाली साहित्य समाज क्यानडाको २०२३-२०२५ को नवनिर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा भ्यान्कुभर, ब्रिटिश कोलम्बियाका राजेन्द्र कार्की, कोषाध्यक्षमा ब्राम्प्टन, अन्टारियोकी पार्वती पाण्डे, सचिवमा ब्राम्प्टन, अन्टारियोका माधव बराल हुनुहुन्छ ।
यसैगरी सदस्यहरूमा एडमन्टन, अल्बर्टाका कुसुमाकर शर्मा, फ्रेडरिक्टन्, न्यु ब्रन्ज्विकका रुद्र अधिकारी, टोरोन्टो, अन्टारियोकी रेणुका राई, र क्याम्ब्रिज, अन्टारियोका गोपाल काफ्ले रहनु भएको छ।
कार्यक्रममा क्यानाडाका लागि नेपालका राजदूत भृगु ढुङ्गाना र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव चिरञ्जीवी घिमिरेको विशेष उपस्थिति रहेको थियो।
समाजका महासचिव मोहन खरेलले निवर्तमान समितिले गरेका उपलब्धिलाई अधिवेशनमा सबिस्तार व्याख्या गर्नु भएको थियो भने कोषाध्यक्ष पुण्यसागर मरहठ्ठाले आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो। निवर्तमान उपाध्यक्ष युवराज भण्डारीले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा साहित्य समाजका पूर्व अध्यक्षहरू गोविन्दसिंह रावत, मुक्ति गौतम र रविन थपलिया तथा सल्लाहकार डा. तुल्सी धरेल र गोपीकृष्ण काफ्ले तथा समाजका पूर्व सदस्य अनुप न्यौपाने, राजेन्द्र कार्की, पुण्यसागर मरहठ्ठा, रवीन्द्र घिमिरे, पूर्व अध्यक्ष रमेश थापा लगायतका वक्ताहरूले नयाँ समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो।
बन्द सत्रको दौरान फ्लोरबाट प्रस्तावित बोर्ड र पदाधिकारीहरूको नामावली निर्वाचन मण्डलको तर्फबाट शिशिर पाण्डे र रविन थपलियाले घोषणा गर्दा हलले ताली बजाएर सर्वसम्मतिले अनुमोदन गरेको थियो।
नवनियुक्त अध्यक्ष खेम गुरागाईँले साहित्य समाजलाई हाँक्ने जिम्मेवारी फेरि पनि दिनु भएकोमा कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्नु भएको थियो।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा क्यानडामा सक्रियतापूर्वक काम गर्दै आएको साहित्य समाज सन् २००४ मा स्थापना भएको थियो भने सन् २०१७ मा क्यानडाको संघीय सरकारमा विधिवत् रुपमा संस्था दर्ता भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

