कथाकार शोभा ज्ञवालीद्वारा लिखित कथासङ्ग्रह ‘सङ्घर्ष’ मंगलबार एक कार्यक्रम बीच विमोचन गरियो ।

नारीका सङ्घर्षका कथाहरू समेटिएको ‘सङ्घर्ष’ पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसहित समाजसेवी डा. माला खरेल, समाजसेवी अनुराधा कोइराला, समालोचक डा. ज्ञानु पाण्डे, साहित्यकार डा. नवराज लम्साल र कथाकार ज्ञवालीले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

पुस्तक विमोचनपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले पूरै पुस्तक पढेको बताउनुभयो । ‘कथाकारले मलाई दुई दिनअगाडि नै पुस्तक उपलब्ध गराउनु भएको थियो। मैले यो पुस्तकका सबै कथाहरू पढेँ । पुस्तकका कथाहरू महिला केन्द्रित छन्। विषयवस्तु समसामयिक छ’, उहाँले भन्नुभयो, ‘नेपाली समाज अहिले अवस्थाबाट गुज्रिएको छ त्यो कुरा कथामा आएको छ।’

डा. भट्टराईले कथा सरल र जनभाषामा लेखिएको टिप्पणी पनि गरे। ‘कथा आख्यान हो। यहाँ जस्ताको तेस्तै लेखिदैन। यसमा कलात्मक बनाइन्छ’, उहाँले भन्नुभयो । उहाँले पुस्तक पढन पाइने लोभले विमोचनका कार्यक्रमहरू कुनैपनि नछुटाउने बताउनुभयो ।

साहित्यकार डा.नवराज लम्सालले पुस्तक समीक्षा गर्दै समाजमा देखिएका मसिना र सामान्य कथालाई टपक्क टिपेर कथा बुनिएको बताउनुभयो। कथाका पात्रहरूमार्फत महिलालाई ‘सङ्घर्ष’ गर्न सिक भन्ने सन्देश पुस्तकले दिएको उनको धारणा थियो।

डा. लम्सालले ‘जीवनबाट हरेस खाएकी एउटी महिलाले यस पुस्तकका कथाहरू पढ्ने हो भने सङ्घर्ष गरेर पनि बाँच्न सकिन्छ भन्ने कुरा सिक्ने छिन्’ भन्नुभयो । सन्देशमूलक विषयलाई सरल माध्यमबाट प्रस्तुत गरिएकाले नेपाली समाजका महिलाका लागि यो पुस्तक ‘टर्निङ प्वाइन्ट’ हुन सक्नेसमेत उहाँको धारणा थियो ।

‘कतिपय कथाकारहरू कथा लेख्दा पात्रहरूसम्म पुग्दैनन् तर कथाकार ज्ञवालीले कथाका पात्रहरूको ठाउँसम्म पुगेर कथा लेख्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘आफैँले भेटेका कुरालाई कथामा उतारेको हुँदा कथाले मान्छेलाई हल्लाउन सक्छ।’

सरल विषयलाई सरल भाषामा प्रस्तुत गर्नु पुस्तकको बलियो पक्ष रहेको डा. लम्सालको धारणा थियो ।

समालोचक डा. ज्ञानु पाण्डेले पुस्तकको मूल्यांकन कथाकार आफैँले लेखेको हुँदा पाठकलाई पढ्नका लागि सहज हुने बताउनुभयो । उहाँले पुस्तकमा नारीका पीडा र उत्पीडनका पक्ष सशक्त ढंगले उठाइएको बताउनुभयो।

डा. पाण्डेले भन्नुभयो, ‘लैंगिकताको विषयलाई किताबमा दर्शाउनु भएको छ। नारीका पीडा, उत्पीडन र समग्रमा नारी पक्षलाई सशक्त रुपमा उठाइएको छ। त्यस्तै नारीको अवस्था सुधार गर्ने हो भने पहिले आफैँलाई माया गर्नुपर्छ भन्ने कुरा पुस्तकमा देखाइएको छ।’

नेपालमा महिला सशक्तिकरणका लागि गैरसरकारी संस्थाहरूले खेलेको भूमिका सराहनीय रहेको र उक्त कुरालाई पनि सुन्दर तरिकाले पुस्तकमा समेटिएको उहाँले बताउनुभयो ।

पुस्तकमा पीडित महिलाहरूका कथा मात्र लेखिएको र पीडकमा पुरुषलाई देखाइएको हुँदा किन पुरुषले सधैं पीडा दिइरहेका छन्? भन्ने कुरा पनि बाहिर आउन आवश्यक रहेको डा.पाण्डेले बताइन्।

महिलाहरूमा आउने समस्या समाधान गर्न महिलाको मात्र जिम्मेवारी हुँदैन, त्यसमा पुरुषको पनि जिम्मेवारी उत्तिकै रहन्छ भन्दै उहाँले महिलाका पीडा र ‘सङ्घर्ष’का कुराहरु बाहिर आइरहँदा पुरुषका पीडालाई पनि नजरअन्दाज गर्न नमिल्ने उहाँको भनाइ थियो ।

पुस्तकमा महिलाका विषयलाई सशक्त रुपमा उठाइएको र आगामी दिनमा पुरुषका कथालाई कथाकारले पुस्तकमा समेट्नेमा आफू आशाबादी रहेको डा. पाण्डेले उल्लेख गर्नुभयो । नेपाली विषयवस्तु, नेपाली धरातलीय अवस्था, सरल भाषामा पुस्तक रहेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै समाजसेवी अनुराधा कोइरालाले कथाकार ज्ञवालीले लेखिरहेका कथाहरू आफूले पढिरहेको उल्लेख गर्दैै उहाँले कथामा समेटेका विषयहरूमा अझै मुखर रूपमा लेखिनुपर्ने बताउनुभयो । उहाँले महिलाका पीडाहरू उजागर गरेर मात्र नहुने तीनको समाधान कसरी गर्ने भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

‘पछिल्लो समय नेपाली समाजमा बलात्कारको घटनाहरू बढ्दै गएको छ। परिवारभित्रै बुबाले छोरीलाई, दाइले बहिनीलाई, हजुरबुबाले नातिनीलाई बलात्कार गरेका घटनाहरू छन्। यो सुन्दा हामी पत्याउनै सक्दैनौं,’ उहाँले भन्नुभयो ।

त्यस्तै महिला बेचबिखनका घटनाहरू पनि नेपालमा बढ्दै गइरहेको उहाँको बुझाइ छ । यस्ता समस्याहरूबाट बचाउन महिलालाई शिक्षा सँगसँगै आर्थिक रुपमा बलियो बनाउनुपर्ने कोइरालाले बताउनुभयो ।

समाजसेवी डा. माला खरेलले पुस्तकमा महिलाको हाँसो, रोदन, कुण्ठा सबैलाई समेटिएको बताइन्। ‘कथा आफूले भोगेको मात्र हुँदैन, अरुका मुद्दा र विषयलाई सुनेर र बुझेर पनि जस्ताको त्यस्तै कथा लेख्न सकिन्छ भनेर कथाकार ज्ञवालीले प्रमाणित गर्नुभयो’, उहाँले भन्नुभयो ।

समाजमा विभिन्न खालका समस्याहरू भइरहँदा नारीलाई केन्द्रमा राखेर पुस्तक लेखिएको र नारी प्रेम, विश्वास, आस्था र सबैको उत्प्रेरणा रहेको भनी पुस्तकमा दर्शाइएको उहाँले बताउनुभयो ।

विमोचन कार्यक्रममा साहित्यकार डा. लम्सालले कथाकार शोभा ज्ञवालीलाई महिलाका सङ्घर्षका बारेमा प्रश्नहरू राख्नुभएको थियो ।

पुस्तकलाई नागरिक दैनिक पत्रिकाको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले प्रकाशन गरेको हो । ज्ञवाली सो संस्थाको निर्देशक समेत हुनुहुन्छ ।