हेटौंडा, फागुन १ / झरना साहित्य परिषद (झसाप) ले ३०औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । सो अवसरमा परिषदले ९ पुरस्कार र २ सम्मानपत्र प्रदान गर्न लागेको हो ।

वि.सं. २०५० मा स्थापित संस्थाले सोमबार पत्रकार सम्मेलन गरी आगामी फागुन ८ र ९ गते सो कार्यक्रमहरू आयोजना गर्न लागेको जानकारी दिएको हो । जसमा पहिलो दिन रचना वाचन, चित्रकला प्रतियोगिता र बकैया विशेष रचना वाचन गरिनेछ भने दोस्रो दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, बहसःचेतनाको विकासमा स्थानीय तहको भूमिका, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन, सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन आदि गरिनेछ ।

सोही अवसरमा झसापले ९ वटा पुरस्कार प्रदान गर्न लागेको छ । साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद रू. २१ हजार १ सय २१ राशीसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट २०७९ डा. जीवेन्द्र देव गिरी सम्मानित हुनुहुनेछ । यस सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गर्नुभएको हो ।

मुक्तकमा योगदान गरेबापत प्रदान गरिने नगद रू. १५ हजार ५ सय ५५ राशीसहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान –२०७९ बाट साहित्यकार सरुभक्त सम्मानित हुनुहुनेछ । यस सम्मान साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गर्नुभएको हो ।

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नगद रू. १५ हजार ५ सय ५५ राशि सहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मानबाट २०७९ नवराज शर्मा सम्मानित हुनु हुनेछ । सो सम्मान साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गर्नुभएको हो । यो सम्मान चैत्र महिनाको कार्यक्रममा वितरण गरिनेछ संस्थाका सचिव मसान उपासकले बताउनु भयो ।

साहित्यमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गर्ने नगद रू. ७ हजार ७ सय ७७ राशीसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान २०७९ बाट सर्जक अमला अधिकारी सम्मानित हुनुहुनेछ । यस सम्मान साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गर्नुभएको हो ।

मकवानपुरका महिला साहित्यकारलाई नगद रू. ७ हजार ७ सय ७७ राशीसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान २०७९ सर्जक अनिता न्यौपानेलाई समर्पित गरिनेछ । उहाँ साहित्य संगम मकवानपुरका अध्यक्ष हुनुहुन्छ । उहाँलाई दिइने सम्मान साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गर्नुभएको हो ।

मकवानपुरको साहित्यसेवीलाई प्रदान गर्र्ने नगद रु ७ हजार ७ सय ७७ सहितको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान २०७९ बाट कृष्ण प्रसाद चौँलागाई सम्मानित हुन लाग्नु भएको हो । यो सम्मान साहित्यसेवी तुलसी गिरीले स्थापना गर्नुभएको हो ।

मकवानपुरमा रही झसापको विविध गतिविधिको सञचार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार प्रदान गरिने नगद रु. ११ हजार १ सय ११ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान २०७९ बाट पत्रकार भानुभक्त आचार्य सम्मानित हुनु हुनेछ । यो सम्मान स्व. गोकर्ण गौतमकी माता नन्ददेवि गौतमद्धारा स्थापना गरिएको हो ।

मकवानपुरमा रहेका ललित कलाका क्षेत्रमा योगदान गरेवापत प्रदान गरिने नगद ७ हजार ७ सय ७७ सहित खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मान २०७९ बाट अधिवक्ता, चित्रकार, पत्रकार ऋषि केबी सम्मानित हुनु हुनेछ । यस सम्मान बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गर्नुभएको हो ।

बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार २०७९ युवा कवि स्वस्तिका दाहालले प्राप्त गर्नुहुनेछ । उहाँ छन्द साहित्य सिर्जनामा कलम चलाउनुहुन्छ । यो सम्मान बकैयाका चन्द्रकुमार राईले स्थापना गर्नुभएको हो ।

बकैया गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा झरना–महेन्द्र बाल साहित्य समितिलाई सम्मानपत्रसहित सम्मान गरिनेछ । यस गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा प्रभात माविका शिक्षक कुमार स्याङ्बोलाई समेत सम्मान गरिनेछ ।

झसापका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवि लामिछाने तथा संरक्षक जनार्दन खनाल उपस्थित पत्रकार सम्मेलन आइबोस ग्लोबल लाइफ हेटौंडा कार्यालयमा भएको हो ।