आर्थिक तथा साहित्यिक प्रकाशन ‘अवकाश’को १०औँ अंक सार्वजनिक भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघद्वारा प्रकाशित हुँदै आएको सो प्रकाशन माघ २५ गते एक समारोहका बीच सार्वजनिक गरिएको हो ।

सो प्रकाशनको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ लगायतले सामूहिक विमोचन गर्नुभएको हो ।

काठमाडौँको दरबारमार्गस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री किरणकुमार श्रेष्ठले आफ्नो संस्थाबाट निवृत्त कर्मचारीहरूको सिर्जनशीलता र सक्रियता देखेर आफूलाई अत्यन्त खुसी लागेको भन्दै संघलाई बैंकको तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अर्का वक्ता इतिहासकार एवम् अर्थविद् देवीचन्द्र श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक विभिन्न किसिमका आरोह अवरोहबाट अघि बढेको भन्दै बैंकको इतिहास समेटेर पुस्तक प्रकाशित गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संघका सल्लाहकार एवम् ‘अवकाश’का प्रधान सम्पादक विनोद नेपालले अवकाशलाई अझ पठनीय बनाउन प्रयत्न गरिने बताउनुभयो भने कार्यक्रमको सभापतित्व गर्नुभएका संघका अध्यक्ष दिनेशविक्रम थापाले मातृसंस्थाबाट संघले प्राप्त गरिरहेको सहयोगका लागि व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने र भूतपूर्व कर्मचारीहरुले बैंकका पक्षमा काम गरिरहने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको पनि उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरूको स्वागत संघका कोषाध्यक्ष लक्ष्मीप्रसाद पराजुलीले गर्नुभएको थियो भने कार्यक्रम महासचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गर्नुभएको थियो ।