तनहुँका विभिन्न साहित्यिक गतिविधिको नेतृत्व गर्दै आएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले दमौलीमा बाल कथा लेखनसम्बन्धी माघ २२, २३ र २४ गरी ३ दिने कार्यशाला सम्पन्न गरेको छ ।
आदिकवि भानुभक्त क्याम्पसको सहआयोजना र व्यास नगरपालिका वडा नं. २ को प्रवर्धनमा प्रतिष्ठानले बाल कथा लेखनसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
समाजका विविध पक्षबारे बालबालिकाको अनुभव, भोगाइ र सिकाइलाई लेखन सीपका माध्यमबाट अभिव्यक्त गराउने उद्देश्यले बाल कथा लेखन कार्यशाला आयोजना गरिएको गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।
कार्यशालामा व्यास नगरपालिकाका विभिन्न विद्यालयका ५० जनाभन्दा बढी बालबालिका सहभागी हुनुभएको थियो । बालबालिकालाई लेखक तथा साहित्यकार विजयराज आचार्य र शर्मिला सेढाइँले प्रशिक्षण दिनुभएको थियो । सो अवधिमा कथा लेखनका लागि आवश्यक ज्ञान तथा सीप, कथा बन्न आवश्यक तत्त्व लगायतका बारे प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यशालाकै अवधिमा बालबालिकालाई विभिन्न शीर्षकमा बाल कथा लेखनका लागि उत्प्रेरित गरी उहाँहरूद्वारा लिखित उत्कृष्ट ६ कथालाई कार्यक्रमको समापन सत्रमा प्रस्तुतिसमेत गरिएको थियो भने बाँकी कथाहरूलाई पनि संकलन गरी प्रकाशित गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ ।
बालबालिकाले समाजमा विद्यमान विकृति, विसंगति, रुढीवादी परम्परागत र बदलिँदो समय र परिस्थितिबाट सिर्जना भएका समस्यालाई कथाका विषयवस्तुको रुपमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले बालबालिकाको अन्तरनिहीत क्षमता प्रष्फुटन गर्दै उहाँहरूको व्यक्तित्व विकासका लागि वडाले सधैं रचानात्मक क्रियाकलापलाई प्रवर्द्धन गर्ने बताउनुभयो । बालबालिकाको सिर्जनशीलता विकासका लागि संस्थागत र व्यक्तिगत दुवै तवरले सहयोग गर्ने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
साथै तनहुँको कला,साहित्य, भाषा संस्कृतिको विकास र प्रवर्द्धनमा गीतल प्रतिष्ठानले राम्रो काम गरेको बताउँदै उहाँले प्रशंसा गर्नुभयो । बालबालिकाले प्रस्तुत गरेको कथामा समेटिएका विषयवस्तुले भावुक बनाएको बताउँदै उहाँले विद्यालय र कलेजहरूले यस्ता कार्यक्रम निरन्तर गर्न सुझावसमेत दिनुभयो ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका निमित्त क्याम्पस प्रमुख रामकुमार अधिकारीले समाजका विविध क्षेत्रका घटना, परिवेश, भोगाइलाई आधार बनाएर कथा लेख्न सकिने बताउनुभयो । कथा लोकप्रिय र सरल विधा भएकाले लेखनलाई निरन्तरता दिन सहभागी बालबालिकालाई अनुरोध गर्नुभयो ।
बालबालिकाहरूले पनि समाजलाई सुक्ष्म रुपमा अध्ययन गरी कथाका विषयवस्तुमा समाजको यथार्थ चित्रण गरेको निवर्तमान क्याम्पस प्रमुख महाप्रसाद हडखलेले बताउनुभयो । समय फेरिए पनि समाज नफेरिएको चर्चा गर्दै उहाँले अझै पनि समाजमा लैंगिक, जातीय, वर्गाीय विभेद कायम रही आएको बताउनुभयो ।
कार्यशालाका मुख्य प्रशिक्षक आचार्यले निकै उत्साहित भई सक्रियतापूर्वक कार्यक्रममा सहभागी भएको बताउनुभयो । भौतिक विकाससँगै स्थानीय तहले भाषा, कला, साहित्यको विकासका लागि यस्ता रचनात्मक क्रियाकलापलाई थप प्रोत्साह गर्नुपर्नेमा उनले जोड दिए । बालबालिकाको सक्रियता र उत्साहलाई हेर्दा कथा लेखनको राम्रो सम्भावना देखेको बताउँदै उहाँले भन्नुभयो, बालबालिकाको रचनालाई निरन्तर प्रोत्साहन गर्न प्रकाशन पनि गर्न आवश्यक हुन्छ, त्यसमा विद्यालय र क्याम्पसले सहयोग गर्नुपर्छ ।
कार्यशालामा सहभागी हुनुभएकी आदिकविकी छात्रा पुनम सुनारले पहिला बालकथा लेखनबारे आफूलाई ज्ञान नभएको बताउँदै कार्यशालाबाट कथा लेख्न प्रेरणा मिलेको बताउनुभयो । कथा लेखनबारे राम्रो ज्ञान पाएकाले आगामी दिनमा लेखनलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
साथै अर्की सहभागी सत्यवती माविकी रचना रानाभाटले आफ्ना वरिपरि देखेका, सुनेका विषयवस्तुलाई कलात्मक ढंगले लेख्ने सीप भएकोमा खुशी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, प्रशासन सहायक सुर्दशन पोख्रेल, सहप्रशिक्षक शर्मिला सेढाई लगायतले बोल्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।