
यही फागुन २ गते फेब्रुअरी १४ का दिन प्रणय दिवसको अवसर पारी प्रख्यात कवि बसन्त चौधरीको कविता वाचन तथा दुई पुस्तक विमोचन गरिने भएको छ ।
‘कवितासँग वसन्त’ नाम दिइएको सो एकल कविता वाचनको मूल विषय ‘लभ इज इन दि एयर’ राखिएको छ।
फागुन २ गते दिउँसो पौने ४ बजेदेखि काठमाडौंको मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कवितासहित कवि तथा साहित्यकार चौधरी उपस्थित हुनुहुनेछ ।
एकल कविता वाचन कार्यक्रममा चौधरीले एक दर्जन बढी कविताहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैगरी सो अवसरमा उहाँका दुई वटा पुस्तक ‘मेरा गीत’ (गीतहरूको संग्रह) तथा ‘जीवनमन्त्र– २’ (सुक्ति संग्रह) समेत लोकार्पित गरिने भएको हो ।
उहाँले केही वर्षअघि नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गरी विभिन्न देशमा पुगेर कविताहरू प्रस्तुत गर्नुभएको थियो ।
नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सिर्जनाहरू सार्वजनिक गरिसक्नु भएको छ ।
केही समयअघि उहाँका ८५ वटा कविताहरूको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो। यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन्।
त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो। ‘मेघा’ देखि ‘तिमीबिनाको म’सम्म उहाँका एकदर्जन कृतिहरू प्रकाशित छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
