श्री प्रधान सम्पादक
मितिः माघ २३, २०७९
साहित्यपोस्ट डट कम, अनामनगर, काठमाडौं
विषय– मेरो र मेरो कृति ‘समभोक’का बारेमा अपयश फैलाई अपुरणीय क्षति गरेकोले खण्डन गर्ने सूचना
२०७९ साल माघ १८ गते बुधबार ०७:०१ बजे साहित्यपोस्ट डट कम (sahityapost.com) ले लेखकको ‘पिआर‘ मिडियाको ‘प्यार’ शीर्षक राखी एक लेख प्रकाशित गरेको छ ।
त्यो लेखले मेरा बारेमा नितान्त झूठो तथा मनोविकारयुक्त विचार संप्रेषण गरेको मैले पाएँ । हालै प्रकाशित मेरो औपन्यासिक कृति ‘समभोक’ र मेरो व्यक्तिगत सम्प्रतिसँग जोडेर अपयश फैलाउन कुनै कसर बाँकी नराखेको र पत्रकार आचारसंहिता तथा मर्यादा विपरीत कार्य गरेको हो भन्ने कुरामा दुविधा छैन ।
कृष्ण ढुङ्गेलका नाउँबाट लेखिएको उक्त लेखले मेरो व्यक्तिगत मान, सम्मान, सामाजिक प्रतिष्ठा, लेखनीय जीवन र मेरो औपन्यासिक कृति ‘समभोक’को गुवणत्तालाई समेत ठूलो क्षति गरेको हुँदा क्षमा याचनासहित खण्डन प्रकाशित गरी आफूलाई सच्याउन अनुरोध गर्छु । धन्यवाद ।
शिव प्रकाश
(लेखक– समभोक)
सिनामंगल, काठमाडौं ।
फोन नं ९८४२२६६६५५
आदरणीय लेखक शिव प्रकाशज्यू,
मद्वारा लिखित एउटा केस स्टडीमा तपाइँको पुस्तक छानिनु नितान्त संयोगको कुरा हो । म आफैँ तपाइँको लेखनको प्रशंसक हुँ । मैले आफ्नो केस स्टडीमा कतै पनि तपाइँको पुस्तक पढ्नै नमिल्ने खालको भनेर तपाइँको मिहिनेतको बदनाम गरेको छैन । मेरो त्यो आशय पटक्कै होइन ।
मेरो लेखको आशय केवल यति मात्रै हो कि नेपालमा वर्षौदेखि साधनारत र चर्चित लेखक कविहरूलाई भन्दा युरोप–अमेरिकाजस्ता विकसित देशबाट आउने लेखक कविहरूलाई नेपाली मिडियाले कसरी स्थान दिने गरेको छ ? के यसका पछाडि के कारण होला ? भनेर संकेत मात्र गर्न खोजेको हुँ । उक्त रिपोर्टलाई राम्रोसँग पढ्ने हो भने १५ दिनभित्र १५ वटा चर्चित मिडियाले एउटै पुस्तकमाथि यति धेरै माया गरेर प्रचार प्रसार गरिदिनु लेखकका लागि अवश्य राम्रो हो । तर यही स्तरको नभए पनि अलिकति माया वर्षौं साधना गरेका लेखकहरूलाई नेपाली मिडियाले किन गर्दैन ?
तपाइँको हकमा मात्र होइन, विदेशबाट आउने केही सौखिन लेखकहरूले यस किसिमका विशेष सुविधा पाउने गरेका छन् । मिडियाको यो प्रवृत्तिमाथि प्रश्न उठाउँदा तपाइँलाई चोट गर्न गयो भने त्यसका लागि क्षमा चाहन्छु ।
पत्रकारको नाताले कुनै पनि खराब प्रवृत्तिमाथि प्रश्न उठाउनु मेरो कर्तव्य हो । यो प्रश्न म आफैँलाई पनि हो । यो कुरा रिपोर्टमा पनि लेखेको हुनाले पुनः ठण्डा दिमागले मैले गरेको केस स्टडी अध्ययन गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
कृष्ण ढुङ्गेल
लेखक, संयोजक साहित्यपोस्ट
पढ्नुहोस्, शिव प्रकाशका बारेमा प्रकाशित समाचारः लेखकको ‘पिआर’, मिडियाको ‘प्यार’ | साहित्यपोस्ट (sahityapost.com)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।