कीर्तिपुर, माघ २४ / नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा अध्ययनरत तेस्रो सत्रका विद्यार्थीहरूले साहित्यकार बालकृष्ण समको १२० औँ जन्मजयन्ती मनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको घडी भवनमा आयोजित सो कार्यक्रमको अध्यक्षता नेपाली केन्द्रीय विभागका निमित्त विभागीय प्रमुख प्रा.डा. लक्षमणप्रसाद गौतमले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा समालोचक डा. नारायण गड्तौलाले समले आफ्ना सिर्जनामा पूर्वीय र पाश्चात्य दुवै दर्शनको समीचीन प्रयोग गरेको कुरा बताउनु भयो ।

अर्का समीक्षक डा. नेत्र एटमले समलाई विरोधाभाषी व्यक्तित्वको रूपमा व्याख्या गर्दै उनका कविता बौद्धिकताले किचिएका हुन्छन् भनी टिप्पणी गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै समालोचक डा. लक्ष्मणप्रसाद गौतमले नेपाली कवितासाहित्यमा सम बौद्धिक कोमलतासहितका सर्जक रहेको जानकारी दिनुभयो ।

डा. अशोक थापाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा युवाकवि उमेश न्यौपाने ‘आभास’, केशव सुवेदी ‘अतीत’लगायत सङ्गीता सुवेदी, अर्मिता रेग्मी, सुमुद्रा साउद लगायतका दर्जनौँ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सम १९५९ साल माघ २४ गते ज्ञानेश्वर काठमाडौँमा जन्मिनु भएको थियो ।