सिक्किमका नेपालीभाषी रैथानेलाई जनवरी १३ को भारतीय सर्वोच्च अदालतको फैसलाले ‘आप्रवासी’ र ‘विदेशी’ भनेपछि सिक्किममा तनाव बढ्दै बन्द-हड्तालसम्म पुगेको छ ।

गत प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्टले शनिबार र आइतबार बन्द गर्‍यो । शनिबार बन्दको कार्यक्रम दक्षिण सिक्किमको नाम्चीमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चासँग बन्दकर्ताको भिडन्त भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यसैबीच सोमबार प्रमुख प्रतिपक्षी दलको बन्द सकिनासाथ बुधबार (फेब्रुअरी ८) मा अर्को बन्द आह्वान गरिएको छ । बन्द जोइन्ट एक्सन कमिटीले आयोजना गरेको सिक्किमको अखबार सिक्किम एक्प्रेसले उल्लेख गरेको छ । बुधबारको बन्दलाई सिक्किमका भारतीय लोकसभा प्रतिनिधित्व गर्ने सांसद इन्द्रहाङ सुब्बाले समर्थन गरेका छन् ।

सामाजिक सञ्जालमा सुब्बाले लेखेका छन्, ‘हाम्रा राजनीति विचारलाई अलग राख्दै जोइम्ट एक्सन कमिटीले आह्वान गरेको सिक्किम बन्दलाई सहयोग गर्नुपर्छ ।’

उता सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले फेब्रुअरी ४ र ५ गते हुने आमहडतालको विरोध गर्ने नेपालीभाषीविरोधी हुने र त्यो सिक्किमविरोधी हुने बताएका छन् । ४८ घण्टा बन्द गरेर सिक्किमका नेपालीभाषी विदेशी होइनौँ भन्ने सन्देश दिनुपर्ने चाम्लिङले बताएका छन् ।