नेपाल मूर्तिकलाको क्षेत्रमा निरन्तर क्रियाशील भएर मूर्तिकलाको क्षेत्रलाई समृद्धितर्फ उन्मुख पार्ने नेपालको एकमात्र कला संस्थाको नाम हो आरम्भ । यो संस्थाको पाँचौँ साधारण सभा नेपाल ललितकलाको सभाहलमा माघ २१ गतेका दिन सम्पन्न भयो ।
संस्थाका अध्यक्ष भुवन थापाको सभापतित्वमा सम्पन्न भएको साधारणसभाको बन्द सत्रले नौ सदस्यीय नवकार्यसमितिको चयन ग-यो ।
नव गठित कार्यसमितिको अध्यक्षमा मूर्तिकार सुदर्शनविक्रम राणा, उपाध्यक्षमा नरेन्द्रप्रसाद भण्डारी, सचिवमा इन्द्रबहादुर खत्री, कोषाध्यक्षमा विष्णु श्रेष्ठ, सदस्यहरूमा पुष्पा शेरचन, चन्द्रश्याम डंगोल, अगम श्रेष्ठ, विशाल शारु मगर र चन्द्रमणि मगर सर्वसम्मत निवार्चित भए । प्रमुख अतिथि किरण मानन्धरलगायत विशिष्ट कलाकारहरू उपस्थित रहेको उक्त कार्यक्रममा आरम्भलाई विशिष्ट योगदान पुर्याउने मूर्तिकार तथा चित्रकारहरू प्राध्यापक गोविन्दनारायण ज्यापु, वरिष्ठ आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनाली, वरिष्ठ चित्रकार गेहेन्द्रमान अमात्यलाई संस्थाको मानार्थ सदस्यता पनि प्रदान गरियो ।
विगतका दिनमा आरम्भ भन्ने संस्था कहाँबाट शुरु भयो र यसले नेपाली मूर्तिकलाको भूगोलमा के के उल्लेख्य कार्य गर्नसक्यो भन्ने कुराको फेहरिस्तलाई पाठकवर्गमा पु-याउन मैले यहाँ आरम्भले गरेका कार्यका विवरणलाई आरम्भकै शब्दमा जस्ताको त्यस्तै पस्केको छु ।
“आरम्भ” संस्था समसामयिक नेपाली मूर्तिकार समूह, संघसंस्था दर्ता ऐन २०३४ को अधिनमा रही विधिवत् रुपमा वि.सं. २०६२ कार्तिक १४ गते काठमाडौँ जिल्ला प्रशासनमा गैरनाफामूलक संस्थाका रुपमा स्थापित संस्था हो । यस संस्थाका संस्थापक अध्यक्ष ओम खत्री, उपाध्यक्ष सुदर्शन राणा, सचिव नरेन्द्रप्रसाद भण्डारी, कोषाध्यक्ष पूर्णकाजी शाक्य, सदस्यहरू रामकृष्ण भण्डारी, गोपालदास श्रेष्ठ र राजेन्द्रविक्रम (राजु) पिठाकोटेको सात सदस्यीय कार्य समितिबाट संस्था गठन भएको हो ।
यस संस्थाको उद्देश्य र लक्ष्य नेपाली आधुनिक कलाशैलीको विकास, प्रवर्द्धन तथा विश्वमा प्रचलित मूर्तिकलामा रुपान्तरित परिवेशलाई आत्मसात गर्दै विश्वकलासँग समन्वयात्मक सम्बन्ध कायम गर्नु हो ।
नेपालको आफ्नै विविध परिवेश र वातावरणले एक पृथक् चिन्तन तथा विचार एवं पृथक् पहिचान दिन सक्दछ भन्ने ढृढतामा साथ आरम्भ संस्थाको जन्म भएको हो । समयको गतिसँगै बद्लिएको परिवेश सूचना प्रविधिको विकास सिर्जनामा द्योतक हुन् । र, यी समयानुकूलित चक्रमा बहिरहेका छन् । आज शैली, चिन्तन, प्रभावहरू कला सिर्जनाका माध्यममा खुलापन नवीन चिन्तन आदि आधुनिक र समसामयिक पर्यायवाचीका रुपमा उपस्थित भएको पाइन्छ । ऐतिहासिक आँखीझ्यालका रुपमा नियाल्दा आधुनिक र समसामयिक चिन्तनको क्षितिज फराकिलो र विकशित भएको पाइन्छ । सर्वप्रथम कला समीक्षक रोजर फ्राई तथा उहाँका सहयोगीहरूको चिन्तनबाट सन् १९१०मा Contemporary Art Society लण्डनमा स्थापना भए पश्चात नयाँ चिन्तनको विजारोपण भएको पाइन्छ ।
यसरी क्रमशः सन् १९६० देखि १९७० को दशक हुँदै सन् २००० देखि वर्तमान अवस्थासम्म आइपुग्दा समसामयिक धारको अवधारणा विश्वब्यापीकरण भएको पाइन्छ । तसर्थ यही अवधारणालाई यस आरम्भ संस्थाले अंगीकार गरेको छ र नयाँ चिन्तन तथा शैलीको प्रयोगबाट सिर्जना गर्ने उद्देश्यले नेपालमा प्रथम पटक आधुनिक शैलीका मूतिहरूको सिर्जना गर्दै आएको छ । सन् २० ०५मा मूर्तिकला कार्यशालामा प्रथम राष्ट्रिय प्रस्तर मूर्तिकला कार्याशाला, काष्ठ मूर्तिकला कार्याशाला, सन् २००६ मा हार्मोनी अन्तर्राष्ट्रिय सिंगमरमर कार्याशाला, यसै गरी सन् २००८मा सगरमाथाको फोहरलाई मूर्तिकलामा रुपान्तरण कार्याशाला जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मूर्तिकला कार्याशालाहरू आरम्भले गरेको छ ।
वि.सं. २०६६ सालदेखि संस्थाका अध्यक्ष ओम खत्री नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ परिषदमा नियुक्त भएपछिका समयहरूमा आरम्भ संस्थालाई प्रतिष्ठानको सहआयोजकको रुपमा लिएर सन् २०१२मा राष्ट्रिय प्रस्तर मूर्तिकला कार्याशाला, बुटवल हिल पार्क, त्यसपछि सन् २०१३मा अन्तर्राष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला, कोमागाने पार्क पोखरा, र सन् २०१४मा अर्को अन्तर्राष्ट्रिय प्रस्तर मूर्तिकला कार्याशाला हर्नागाडी हेटौँडामा सम्पन्न गरिएका छन् ।
अन्त्यमा विगतदेखि आजसम्म आरम्भले सम्पन्न गरेका यी माथिका कार्यहरू पढ्दा नेपाली मूर्तिकलाको क्षेत्रमा यो संस्थाले नेपाली मूर्तिकलाको दुनियाँमा एक अब्बल संस्था हो भन्न सकिन्छ । प्रतिनिधिमूलक यो संस्थाले नेपाली मूर्तिकलाको इतिहासलाई उचाइ दिलाएको कुरा नेपाली कलाक्षेत्रले सधैँ सम्झने छ । मेरो विचारमा नेपालमा समसामयिक मूर्तिको पर्यायवाची नै आरम्भ हो भन्दा उपयुक्त ठहरिन्छ ।