कुनै समय गीतहरू मनले सुनिन्थ्यो र मन्त्रमुग्ध भएर शब्द, सङ्गीत र स्वरको आनन्द लिइन्थ्यो तर आजकल गीतहरू सुनिदैनन्, हेरिन्छन्। बजारमा हेर्ने गीतहरूको बिगबिगी छ। मान्छेहरू देखावटीपनमा रमाउन थाले, आत्मिक आनन्द भुलेर। साहित्य र सङ्गीतको सक्कली विशेषता गहिरो स्पर्श हो, सतही होहल्ला होइन। तर, मान्छे क्षणिक सुखको प्यासी बन्यो। अन्तत: पानीको तिर्खा बियरले नमेटिएपछि प्रकृतिको साश्वत सत्यमै फर्किनुको विकल्प रहन्न।

हेर्ने गीतबाट पुन: सुन्ने गीततर्फ नेपाली श्रोता सम्मोहित हुन थालेको संकेत पाइन थालेको छ। यस्तै एउटा सुन्ने गीत लिएर साहित्यकार गणेश खड्का नेपाली सांगीतिक बजारमा आएका छन्- पुतलीका हूलहरू तिमी जस्तै लाग्छन्… ।

“अनावश्यक खर्च गरेर डाँडामा मोडेल उफार्दा गीतको सक्कली स्वरुप नै नष्ट हुने र यसका मूल श्रष्टाहरूलाई मार्का पर्ने नमिठो यथार्थले पिरोलेपछि गीतको न्यायका निम्ति हेराउने होइन गीत सुनाउने जमर्को गरिएको हो,” गीतकार गणेश खड्का भन्छन्।

पुतलीका हूलहरु तिमी जस्तै लाग्छन्
फक्रिएका फूलहरु तिमी जस्तै लाग्छन्।

[embedyt] https://www.youtube.com/watch?v=UfKbslbxjMI[/embedyt]

गणेश खड्काको शब्दलाई नेपाली सङ्गीत आकाशका जिउँदा इतिहास दीपक जङ्गमले जीवन्त सङ्गीत गरेका छन् भने युवा पुस्ताका बेजोड प्रतिभा भविन ढुंगानाले कर्णप्रिय आवाज दिएका छन्।

लेखाइले गजल भए पनि सङ्गीत र गायनको हिसाबले सुगम गीतको ढाँचामा पाउन सकिने यो गजल सुन्दा लाग्छ नेपाली गीत-सङ्गीत पुरानो शैलीमा फर्कियो। किरण कँडेलको संगीत संयोजन, शम्भु तण्डुकारको रेकर्डिङ र गोपाल एरिको भिडियो मेकिङ रहेको पुतलीका हूलहरू यही २०७९ माघ २० गते शुक्रबार गणेश खड्का युट्युब च्यानलमार्फत बाहिर आएको हो।