नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक विमोचन गरेको छ।

शुक्रबार आयोजित विशेष हाइकु गोष्ठी तथा पुस्तक विमोचन कार्यक्रममा अमेरिका बसोबास गर्दै आउनुभएका पुरु सुवेदीको हाइकु संग्रह “कमल”, कोरियामा बसोबास गर्नुहुने प्रमोद सारङको “असर्फी”, विमल गिरीको “सुनाखिरी”, पशुपति कर्मचार्यको “जाई”, डा. यादव ढुङ्गानाको “सूर्यमुखी”, दिव्य गिरीको “भुइँकुहिरो”, मन्जु ज्ञवालीको “ट्युलिप” र निता श्रेष्ठको “नित्य नूर” विमोचन गरिएको हो।

विमोचनपश्चात् मन्तव्य राख्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति तथा जापानका लागि नेपाली राजदूत केदारभक्त माथेमाले हाइकु जापानीहरूको जीवनशैलीमा नै जोडिएको साहित्यक विधा भएको स्मरण गराउनुभयो।
जीवनको अनुभूतिलाई प्रकृतिसँग जोडेर प्रस्तुत गर्न सक्नु नै हाइकुको खास सीप हुने उहाँको भनाइ थियो ।

नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाँडेले हाइकु, हाइगा, सेन्यु र सिँजोका महत्त्वबारे चर्चा गर्दै साहित्यले विश्व समुदायलाई जोड्न सकिने बताउनुभयो ।

विमोचित कृतिबारे समीक्षा गर्दै डा. मित्रबन्धु पौडेलले प्रकृति, अध्यात्म, मानवीय अनुभूति, धर्म, संस्कार लगायतका समाजका विविध पक्षको खँदिलो प्रस्तुतिका कारण कृतिहरूले न्याय गरेको चर्चा गर्नुभयो।

हाइजिन शान्ति सापकोटाले हाइकु सजिलो मात्र नभई खँदिलो लेखन विधा रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा विमोचित पुस्तकका सर्जकहरूले आआफ्ना कृतिबाट ५-५ वटा हाइकु वाचन गर्नुभएको थियो भने हाइजिन शिरोमणि दवाडीले हाइकु वाचन कुशलताबारे प्रस्तुति दिनुभएको थियो।
यसै अवसर पारेर नेपाल हाइकु केन्द्र कोरिया च्याप्टरका तर्फबाट प्रा.रामकुमार पाँडेलाई सम्मानसमेत गरिएको थियो।