साहित्यकार श्रवण मुकारुङ र प्रेम ओझालाई अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले “अमर नेम्बाङ स्मृति पुरस्कार” प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार मुकारुङ र ओझालाई प्रदान गर्न लागेको हो । प्रतिष्ठानले हरेक वर्ष यो पुरस्कार अग्रज साहित्यकारहरूलाई प्रदान गर्दै आएको छ ।

गत वर्ष लेखकद्वय शारदा सुब्बा र बिना थिङ पुरस्कृत हुनुभएको थियो । २०७७ सालमा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई पुरस्कृत गरिएको थियो ।

अमर नेम्बाङ लिम्बूको चौथो स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको पुरस्कार वितरणसहित आगलागी र पहिरो पीडितलाई राहत वितरण र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणसमेत गरिने भएको छ ।

माघ २६ गते फिदिम १ स्थित होटल मनश्वीमा उक्त कार्यक्रमको आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले जनकारी दिनुभयो ।