काठमाडौँ, माघ १९
डा. सुदीप अर्याल स्मृति कोषले स्वर्गीय मनोचिकित्सक डा. सुदीप अर्यालको स्मृतिमा स्थापित गरेको ‘डा.सुदीप अर्याल सामाजिक रूपान्तरण पुरस्कार’ वर्ष २०७९ का लागि वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ ।
माघ १९ का दिन कोष व्यवस्थापन समितिका अध्यक्ष साहित्यकार श्री प्रतीक ढकालको अध्यक्षमा काठमाडौँमा बसेको कोषको बैठकले रु १,११,१११ (१ लाख, ११ हजार १ सय ११ रुपियाँ) राशि र सम्मानपत्र रहेको उक्त पुरस्कार हृदयरोग निवारण तथा हृदय चिकित्सा सेवालाई आम नेपाली जनताको पहुँचमा पुर्याउने विशिष्ट कार्य गरेवापत डा. कोइरालालाई समर्पण गर्न लागिएको कोषका सदस्य–सचिव साहित्यकार भवानी खतिवडा तथा संयोजक साहित्यकार महेश पौड्यालले एक संयुक्त प्रेस–विज्ञप्तिमार्फत जनाएका छन् ।
डा. भगवान कोइराला यो पुरस्कार पाउने पहिलो व्यक्ति हुनुहुन्छ ।
आफ्नो विशेषज्ञताको क्षेत्र विशुद्ध प्राविधिक स्वरूपको भएर पनि साहित्य, सङ्गीत, कला, खेलकूद, कानून, व्यावसायिक नमूना, वैज्ञानिक आविष्कारजस्ता लोकप्रिय माध्यमको प्रयोग गरी नेपाली समाजको रूपान्तरणमा विशिष्ट योगदान पुर्याउने प्राविधिक प्रकृतिका स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कोषकी संरक्षक स्वर्गीय डा. अर्यालकी आमा साहित्यकार सरस्वती अर्यालले स्थापना गर्नुभएको यो पुरस्कार प्रत्येक वर्ष फागनु ७ गते वितरण गर्ने व्यवस्था गरिएको छ । यस वर्षका लागि उक्त पुरस्कार डा. अर्यालको मरणोपरान्त प्रकाशित उपन्यास ‘क्रान्ति’को विमोचन कार्यक्रममा फागुन ७ गते नै काठमाडौँमा समर्पण गरिने परिवारिक श्रोतले जनाएको छ ।
उपन्यासलाई प्रेज टर्नर प्रालिले बजारमा ल्याउने तयारी गरिरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

