डि जि शर्मा
युएई

हरेक दुई महिनाको अन्तरमा झापामा हुँदै आएको गजल वाचन कार्यक्रम “शेर-अन्दाज” को पाँचौंं शृङ्खलामा दुई जना गजलकार रहनु हुने भएको छ । झापाको दमकमा रहेको कदम थ्रिएटरले आयोजना गर्दै आएको “शेर-अन्दाज” को फागुन महिनाको शृङ्खलामा गजलकारद्वय लालकाजी श्रेष्ठ र अनन्त अनुराग रहनु हुने भएको छ ।

धादिङ स्थायी घर भई हाल चितवन बस्दै आउनु भएका गजलकार लालकाजी श्रेष्ठ गायक तथा सङ्गीतकार पनि हुनुहुन्छ । उहाँले सङ्गीत संयोजनको काम पनि गर्दै आउनु भएको छ । गजलको सैद्धान्तिक पक्षमा लामो समयदेखि वकालत गर्दै आउनु भएका गजलकार श्रेष्ठको “शेर-अन्दाज” मा तरन्नुम गजल गायन रहने जनाइएको छ ।

यता धनकुटा निवासी गजलकार अनन्त अनुराग पेशाले शिक्षक हुनुहुन्छ । लामो समयदेखि गजल लेखनमा सक्रिय रहँदै आउनु भएका गजलकार अनुरागको पनि “शेर -अन्दाज” को पाँचौंं शृङ्खलामा तरन्नुम प्रस्तुति रहने कार्यक्रम संयोजक तथा गजलकार लोकेन्द्र बञ्जाराले जानकारी गराउनु भयो । गजलकार अनुरागको तरन्नुम गजल गायनलाई धेरैले रुचाउँदै आउनु भएको छ ।

कार्यक्रम आगामी फागुन ०६ गते शनिबार आयोजक कदम थ्रिएटरको हलमा दिउँसो २:३० बजेबाट सुरु हुने संयोजक बञ्जाराले बताउनु भयो । साहित्यपोस्ट मिडिया पार्टनरको रुपमा रहँदै आएको कार्यक्रममा अन्य विभिन्न संघसंस्थाले आर्थिक लगायतका सहयोग पुर्याउँदै आएका छन ।

गजल लेखनमा प्रोत्साहन र गजलको विकासमा टेवा पुर्याउने उदेश्यकासाथ कार्यक्रम आयोजना गरिँदै आएको आयोजकको भनाइ छ । पारिश्रमिकसहित गजलकारहरुको विशेष गजल वाचनको शृङ्खला गत असार ३ गते शुक्रबारबाट सुरु भएको थियो ।