धनगढी / राना थारू भाषाको लोक कथा ‘सोरठ’की लेखिका लक्ष्मी रानालाई ‘थारू साहित्य पुरस्कार २०७९’ बाट सम्मान गरिने भएको छ ।
थारू लेखक संघ नेपाल धनगढी कैलालीले रानालाई सम्मान गर्ने भएको हो । उनलाई यही माघ २० गते देखि २२ गतेसम्म राप्तीसोनारीको सिढन्वामा हुने ७औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका सचिव अनिल कुश्मीले जानकारी दिए ।
राना कैलारी गाउँपालिका वडा नम्बर ९ गदरिया कैलालीका रानाले विशेष गरी राना थारू लोक कला तथा साहित्यमा कलम चलाउँदै आएकी छन् ।
संघद्वारा स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट नगद २५ हजार पाँच रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिने, सचिव कुश्मीले जानकारी दिए ।
थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पु-याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धान कर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले २ लाख २५ हजारको अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षय कोषको वार्षिक ब्याजको कम्तीमा २५ प्रतिशत रकमबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई सम्मान गर्ने संघका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।
संघले २०७८ फागुन ११ र १२ गते कञ्चनपुरमा भएको छैटौँ राष्ट्रिय थारू साहित्य सम्मेलनमा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने स्रष्टालाई रु १५ हजार ५५५ नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको थियो ।
२०७७ चैत्र २१ र २२ गते भएको पाँचौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा साहित्य विधामा नगद ११ हजार १११ सहित एक जना थारु स्रष्टालाई सम्मान गरेको थियो ।
सोही कार्यक्रममा प्रतिभा महिला सशक्तिकरण पुरस्कारबाट दाङकी सामाजिक अभियन्ता मन्जिता चौधरी सम्मानित हुने भएकी छन् । महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय काम गरेबाफत उनलाई सम्मान गर्ने भएको हो । पुरस्कार राशी १० हजार रहेको छ ।
रोडन मेडिकल कैलालीका सञ्चालक चन्द्रसिंह चौधरीले आफ्नी पत्नी प्रतिभा चौधरीको पहिलो वार्षिक पुण्य तिथिको अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए । सञ्चालक चौधरीले ५० हजारको अक्षयकोष स्थापना गरेका छन् ।
कोरोनाका कारण २०७८ मा उनकी श्रीमती प्रतिभाको निधन भएको थियो ।
मोतिराम चौधरी, धनगढीबाट प्रेषित सामग्री
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

