काठमाडौँ, माघ १३ / प्रज्ञा कुञ्ज माध्यमिक विद्यालयकी निर्देशक सपना खरेलले आफ्नो कीर्तिशेष पिताको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर आफ्नो पुष्प सजावटको शिल्पकला प्रस्तुत गर्नुभएको छ ।
शिल्पाञ्जली नाम दिइएको उक्त पुष्प सजावट प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा जारी छ । सपनाले आफू जापानमा रहँदा सिकेको सिकाइ र अनुभवलाई समेटेर जापानी शैलीगत पुष्प सजावट गर्ने कलालाई प्रस्तुत गर्नुभएको हो ।
माघ १३ देखि १७ सम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति किरण मानन्धरबाट सम्पन्न भएको थियो ।
सो अवसरमा मानन्धरले आधुनिक समाजमा चित्रकलाको भूमिकामा नारीको हुँदै गरेको पहलबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै मन्तव्यमा काठमाडौँ विश्वविद्यालयका प्रा. भीमप्रसाद श्रेष्ठले सपना खरेलका चित्रमा नेपाल र जापानका विशेषता झल्कनुले युगीन चेतनाको झल्को दिने कुरा व्यक्त गर्नुभयो ।
त्यस्तै जापानी दूतावासकी सांस्कृतिक अधिकृत सातो मायोकुले खरेलको कलाकारिताको प्रशंसा गर्दै जापानी कलाकारितालाई नेपालमा पनि स्थान दिएकोमा कलाकार खरेललाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै इन्जिनियर्स विदआउट बोर्डर्सका अध्यक्ष कपिलदेव रेग्मीले कला, साहित्य र संगीतको महत्त्वबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबै अतिथिजनहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अस्मि कार्की र अनुष्का रेग्मीको सहसंचालनमा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य चित्रकार सपना खरेरलले स्वयं गर्नुभएको थियो ।
उक्त प्रदर्शनीमा चित्र बिक्री भई प्राप्त हुने रकम आगामी दिनमा कुनै परोपकारी कार्यमा प्रयोग हुने कुराको जानकारी पनि कार्यक्रममा सपना खरेलले गर्नुभएको थियो ।
प्रीति आत्रेय ज्ञवालीद्वारा प्रेषित समाचार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।