
बुटवलको तिलोत्तम – १ नयाँमिलमा अवस्थित परमानन्द संन्यास आश्रम तथा श्री दुर्गा वैदिक संस्कृत विद्यालयले वार्षिक रुपमा गर्ने भण्डारा तथा साहित्यिक कार्यक्रम परमान्द काव्य वाटिकाको तयारी भव्यरुपमा भएको छ । राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीज्यूको स्मृतिमा माघ शुक्ल अष्टमिमा हुने गुरुभण्डारा कार्यक्रमको पूर्व सन्ध्यामा अघिल्लो रात साहित्यिक कार्यक्रम गरिन्छ ।
काव्य वाटिकाको तीव्र तयारी भइरहेको, माघ १४ गते साँझ ७ बजे कार्यक्रम सुरु हुने र मध्यरातसम्म साहित्यको रसाश्वादन हुने कुरा पूर्वविद्यार्थी मञ्चका उपाध्यक्ष कृष्णप्रसाद अर्याले साहित्यपोस्टलाई जानकारी गराए ।
कार्यक्रममा देशका विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थिति सँगसँगै रुपन्देहीका विभिन्न विद्यालयका छात्रछात्राले रचना वाचन गर्ने छन् । पूर्वविद्यार्थी मञ्चले नाटक मञ्चन पनि गर्ने गरेको छ । छन्द कविताको विशेष आश्वादन प्राप्त गर्न सकिन्छ । ससाना वटुकले ब्रह्म, जीव र जगत् बारे कविता सुनाउँदा माहोल नै परमानन्दमय हुने कुरा विद्यार्थी मञ्चका अध्यक्ष दीपक गैह्रेले बताए ।
उक्त कार्यक्रममा आठ सयदेखि हजारसम्म श्रोताहरुको उपस्थिति रहने तथा अर्को दिनको गुरु भण्डारा कार्यक्रममा पाँचदेखि आठ हजारसम्म भक्तजनको उपस्थिति रहने कुरा पूर्वविद्यार्थी मञ्चका सचिव पिआर भट्टराईले जानकारी गराए । रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत लुम्बिनी प्रदेशका विभिन्न ठाउँबाट भक्तजनको आगमन हुने गरेको छ ।
स्वामी परमानन्दज्यूले स्थापना गरेका ५० भन्दा धेरै आश्रम तथा गुरुकुलहरू पश्चिमाञ्चल लगायत देशका विभिन्न ठाउँमा रहेका छन् । गुरुकुलहरुमा संस्कृत तथा आधुनिक शिक्षाको पनि पढाइ हुने गरेको छ । दुर्गा वैदिकमा उच्चमाविसम्मको निशुल्क अध्ययनको व्यवस्था रहेको छ भने नेपालको काशी भनेर चिनिने देवघाट क्षेत्रमा अवस्थित हरिहर संन्यास आश्रमले आचार्य तहसम्मको अध्ययन निशुल्क तथा दैनिक छ सय जनालाई निशुल्क भोजनको व्यवस्था गर्ने गरेको छ ।
श्री दुर्गा वैदिक संन्यास आश्रमका पीठाधीश स्वामी विवेकान्द सरस्वतीज्यू हुनुहुन्छ भने हरिहर संन्यास आश्रमका पीठाधीश स्वामी ज्ञानान्द सरस्वतीज्यू हुनुहुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

