देशकै चर्चित रियालिटी शो द पोएट आइडल अझ रोचक मोडमा पुगेको छ । गत हप्ता ग्रुप एको भोटिङ सुरु भएर एक जना कविलाइ बिदा दिइएको थियो भने हिजो राति ८:३० बजेबाट ग्रुप बीको भोटिङ यात्रा सुरु भएको छ । भोटिङमा सबैभन्दा कम मत प्राप्त गर्ने कविलाइ बिदा दिइनेछ ।

द पोएट आइडलको यस भागमा कवि शिरोमणि लेखनाथ पौडेलको कविता ‘फुटबल’ वाचन गर्दै उद्घोषक दिव्य देवले कार्यक्रमलाई अगाडि बढाएका थिए भने चर्चित लेखक तथा कवि नगरकोटी प्रमुख अतिथि रहेका थिए ।

मुनु अधिकारी, अव्यग्र अस्मित, मल्लिका खतिवडा, लक्ष्मीप्रसाद मादेन, महेन्द्र राई र पल्लवी गरी सात जना प्रतिस्पर्धी रहेका थिए । सातै जना प्रतिस्पर्धीले आ आफ्नै शैलीले दमदार प्रस्तुति दिए।

मल्लिका खतिवडाले ‘आर्यघाटको विश्वरूप’ बाट प्रस्तुति सुरु हुँदै पल्लवीको दमदार नाट्य प्रस्तुतिमा गएर सकिएको थियो ।

प्रस्तुतिसँगै मञ्चमा उपस्थित निर्णायकहरूले पनि आफूहरू प्रतिस्पर्धीको प्रस्तुति हेरेर आनन्दित भएको र कवितामा नयाँ नयाँ शैली र विषयवस्तुहरू थपिँदै आएको प्रतिक्रिया दिएका थिए । यसरी नै काव्य र साहित्यलाई अघि बढाउनु पर्ने जोड निर्णायकहरूले दिएका थिए ।

यस रियालिटी शोमा उपेन्द्र सुब्बा, सुरक्षा पन्त, अनुप बराल र विप्लप प्रतीक निर्णायकहरू रहेका छन् ।

प्रस्तुति दिने क्रममा ताप्लेजुङका कवि लक्ष्मीप्रसाद मादेनले भने माहोललाई अचानक भावुक बनाइदिए । उनको प्रस्तुतिले निर्णायकहरूका आँखा रसाएका थिए । यसैगरी अर्का प्रतिस्पर्धी पल्लविले भने उत्कृष्ट प्रतियोगीको रूपमा फिनिक्स, सांग्रिला, कथालय र बुलबुल प्रकाशनका तर्फबाट केही पुस्तक उपहार पनि पाएका छन् । यस उपहारको साथसाथै प्रमुख अतिथि कुमार नगरकोटीको तर्फबाट ‘कल्पग्रन्थ’ उपहारस्वरूप पाएका छन् ।

प्रमुख अतिथिका रूपमा उपस्थिति जनाएका प्रख्यात उपन्यासकार कुमार नगरकोटीले पोएट आइडल आफ्नो लागि सेलिब्रेटेड कार्यक्रम भएको बताएका छन् । नगरकोटीले प्रतियोगीहरूका बारेमा सशक्त पक्ष तथा कमजोर पक्षका बारेमा टिप्पणी गरेका थिए । सो अवसरमा उनले गएको महिना सामाजिक सञ्जालमा भाइरल भएको ‘खाडीको बालुवा खानी’ वाचन गरेका थिए ।

आफ्नो प्रस्तुतिसँगै प्रत्येक प्रतियोगीहरूले आफूलाई अघिल्लो राउन्डमा लैजानको लागि आम दर्शक श्रोता समक्ष आफूलाई भोट गरिदिनुहुन अपिल गरेका छन् । दर्शकहरूले आफूलाई मन परेका प्रतियोगीलाई धेरैभन्दा धेरै भोट गरी अघिल्लो राउन्डमा लैजान मोबाइल एप स्टोरबाट OSR connect app डाउनलोड गरेर धेरै भन्दा धेरै भोट गर्न सक्नुहुनेछ । भोटिङ लाइन आउँदो सोमबार बिहानसम्म खुल्ला रहनेछ ।

ग्रुप बी को प्रस्तुति सकिएसँगै ग्रुप एका आगामी प्रस्तुतिको लागि एउटा सानो नाटक मञ्चन गरिएको थियो । जसमा चर्चित कमेडियन सीता न्यौपाने र लेखमणि भुसालले टिकटक लाइभमा आधारित टिकटक ब्याटल नाटकको प्रस्तुति दिएका थिए । यसै नाट्य प्रस्तुतिलाई आधार बनाएर ग्रुप ए का प्रतियोगीहरुले आगामी हप्ताको लागि कविता तयार पार्नुपर्ने छ ।

पूरा कार्यक्रम तपाइँले यहाँ हेर्नुहोस्ः

[embedyt] https://www.youtube.com/watch?v=p0Jonf_j8zo[/embedyt]