माघ १४ गते शनिबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७५ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा विद्वान प्रा.केशव सुवेदी उपस्थित हुनुहुन्थ्यो भने कवि खरेलकी आमा दिवाकुमारी खरेल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.षडानन्द पौड्याल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, डा.विन्दु शर्मा, डा.गोविन्दप्रसाद आचार्य, राष्ट्रिय जनसङ्गीत सङ्घका अध्यक्ष बैकुण्ठ महत र महासचिव अमृत खाती, प्राज्ञ नन्दु उप्रेती, चतुर्भुज केबरत, गायक सुशन साम्सुहाङ, खेमराज निरौला अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कवि खरेलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई सो समारोहमा निम्त्याएर दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने अवसर जुराइएको थियो।
दीवाकुमारी खरेल र वेदप्रसाद खरेलका कान्छो सन्तानका रूपमा झापा जिल्लाको गौरादह नगरपालिका वडा नं.४ मा जन्मिनुभएका ताराप्रसाद खरेलले साहित्यमा प्रशान्त खरेलका नामबाट कलम चलाउनु हुने उहाँ नेपाल प्रशासनिक प्रतिष्ठानमा सेवारत हुनुहुन्छ । उहाँले एम.एस्सी., एम.पी.ए., एलएलबी उत्तीर्ण गर्नुका साथै २०५० सालदेखि प्रगतिशील साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा सशक्तढङ्गले सम्प्रेषण गर्नुभएको छ ।
साहित्य सन्ध्याको कार्यसमिति सदस्यका रूपमा, प्रगतिशील लेखक सङ्घमा क्रियाशील खरेल सरलताभित्रै बौद्धिकतासहितको गम्भीर भाव सम्प्रेषण गर्ने स्रष्टा हुनुका साथै कार्यालयको कर्तव्यनिष्ठ कर्मचारी पनि हुनु भएकाले २०७८ सालमा उत्कृष्ट कर्मचारीको पुरस्कारसमेत प्राप्त गरिसक्नु भएको छ ।
उहाँका २०७८ सालमा ‘आगोका फिलुङ्गाहरू’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएको छ ।
समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बीचमा केही समय रोकिएको तर पुनः यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने उद्देश्यका साथ कार्यक्रम थालिएको बताउनुभयो ।
साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ ।
आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले सक्रियता देखाइरहेका, प्रविधिको प्रयोगका माध्यमबाट हाम्रा गतिविधिलाई संसारभर पुर्याउने काम गरिरहेका अत्यन्त सक्रिय एवम् लगनशील स्रष्टा प्रशान्त खरेललाई प्रस्तुत गरिएको धारणा राख्नुभयो र कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।
कवि प्रशान्त खरेलले विगत छ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आफू प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।