काठमाडौँ / पत्रकार एवं लेखक दामोदर न्यौपानेको पुस्तक ‘घरको शिक्षाः संस्कारयुक्त सिकाइ र हुकाईका मनोवैज्ञानिक अभ्यास’ सार्वजनिक भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार लेखक न्यौपानेसहित उनका छोरा हार्दिक, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी, प्राध्यापक शिक्षाविद् विद्यानाथ कोइराला, मनोविद विजय ज्ञवाली, शिक्षक अञ्जु भट्टराई लगायतले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभयो ।
‘घरको शिक्षा : घर–घरको आवश्यकता’ भन्ने मूलमन्त्रलाई केन्द्रित गर्दै पुस्तकमा लेखक न्यौपानेले बालबालिका, तिनको मनोविज्ञानमा विद्यालयसँगै घरमा अभिभावकले कस्तो शिक्षा, संस्कार तथा परिवेशमा उनीहरुको सिकाईलाई अगाडि बढाउन सकिन्छ भन्ने पक्षलाई उल्लेख गर्नुभएको छ ।
घर नै बालबालिकाका लागि सबैभन्दा ठूलो सिकाईको संस्था रहेको खुलाउँदै न्यौपानेले अहिलेको परिवेशमा शिक्षा नीति नै बालबालिकाहरुको सिकाईमा बाधक रहेकाले यसलाई बहसका रुपमा अगाडि बढाउन अभियानस्वरुप पुस्तक लेखिएको बताउनुभयो । ‘म कुनै विज्ञ होइन । शिक्षा र यो क्षेत्रमा भइरहेका नीतिहरुप्रति मेरो असहमति छ’, उहाँले भन्नुभयो, ‘बालबालिकाको सिकाई हिंसामुक्त वातावरणमा हुनुपर्छ । विवेकशील समाज बनाउने चिन्तनमा नै यो पुस्तक लेखिएको हो ।’
शिक्षामा परिवर्तन र यसलाई समृद्ध बनाउने आफ्नो लेखन विद्रोहको अर्को रुप भएको बताउँदै उहाँले आफ्नो मिसन जारी रहने बताउनुभयो ।
पुस्तकबारे बोल्दै मनोविद् ज्ञवालीले पुस्तकलाई बालहृदय र पुरुषमनोविज्ञान हाबी भएको टिप्पणी गर्नुभयो । घर नै बालबालिकाका लागि पहिलो हुकाई स्थल भए पनि अहिले घरभित्रै कसरी बालबालिकाहरू असुरक्षित बनिरहेको जनाउँदै सो पाटोलाई लेखक न्यौपानेले घुमाउरो रुपमा प्रस्तुत गरेको ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुस्तकभित्र हार्दिक एउटा पात्र देखिए पनि यो घर–घरको पात्र हो । हामीले हाम्रा बालबालिका असल होइन खुसी नागरिक बनाउने मिसन बनाउनुपर्छ । जुन यो पुस्तकले सिकाउँछ ।’
आजको व्यस्त र आधुनिक समयमा बालबालिकालाई सिकाईमा जोड्न अत्यन्तै कठिन रहेको सुनाउँदै शिक्षक भट्टराईले बालबालिकासँगको सिकाई, उनीहरुको खुसीलाई कसरी सिर्जनात्मक बनाउने भन्ने पक्षमा विद्यालय तथा अभिभावकलाई समेत पुस्तक निकै उपयोगी रहेको टिप्पणी गर्नुभयो ।
शिक्षक महासंघका महासचिव सुवेदी र प्राध्यापक शिक्षाविद् कोइरालाले पुस्तकलाई शिक्षक, विद्यार्थी तथा अभिभावकलाई दर्पण रहेको सुनाउँदै किताबभन्दा बाहिरको ज्ञानतिर उन्मुख पुस्तालाई बुझ्न सघाउने उहाँको टिप्पणी थियो ।